Logo
Logo

सशस्त्र प्रहरीको भर्नामा मागभन्दा थोरै उत्तिर्ण


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ फागुन ।
सशस्त्र प्रहरी बलको पछिल्लो इन्स्पेक्टर भर्नामा महिलाको उपस्थिति शून्य देखिएको छ । सशस्त्रले ४३ इन्स्पेक्टर भर्ना खुलाएकोमा सोमबार प्रकाशित लिखित परीक्षाको नतिजामा ३४ जना उत्तीर्ण हुँदा महिला उपस्थिति शून्य भएको हो । भर्नामा महिलाका लागि चारजनाको आरक्षण कोटा थियो, तर लिखितमा कोही पनि सफल भएनन् ।


यस्तै, मधेसी कोटामा पाँचमध्ये एकजनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका छन् भने दलित कोटामा तीनमध्ये एकजनाको नाम निस्किएको छ । पिछडिएको क्षेत्रबाट भएको एउटा मात्रै कोटाको नतिजा पनि शून्य आएको छ । खुलातर्फ २४ मा ३० उत्तीर्ण भएका छन् ।

सशस्त्र प्रहरीमा केही वर्षदेखि नै मागभन्दा थोरै उत्तीर्ण हुने गरेका छन् । हालै सशस्त्रले एक हजार नौ सय जवान माग गरेकोमा लिखितमा एक हजार तीन सय मात्र सफल भएका थिए ।

लोकसेवा आयोगले परीक्षा लिन थालेपछि मागभन्दा थोरै उत्तीर्ण हुन थालेको र यसबाट संगठनलाई समस्या भएको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । परीक्षाको सिलेबस संशोधनका लागि छलफल भइरहेको उनले बताए ।

तुलनात्मक रूपमा सशस्त्र प्रहरीको भर्नामा कम आवेदन पर्ने गरेको छ । करिअर सुरक्षित नभएकाले नै थोरै मात्र आवेदन पर्ने गरेको हो । सशस्त्र प्रहरीले करिअर प्लानिङ बनाउन सकेको छैन । जसकारण इन्सपेक्टबाट डिएसपी हुन २० वर्ष लाग्ने अवस्था छ । इन्सपेक्टरबाट भर्ना भएकाहरु एसपीमै अवकाश हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्