जनकपुरधाम, २२ माघ । प्रचण्ड–माधव समूहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
प्रहरीसँगको झडपमा प्रचण्ड–माधव समूहका समूहका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन् । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ ।
![]()
बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिएका छन् । नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक दर्जन राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले प्रचण्ड–माधव समूहका दर्जनौँ कार्यकर्तालाइ पक्राउसमेत गरेको छ ।











