Logo
Logo

प्रतिनिधिसभा विघटनसम्मका घटनाबारे नेकपा प्रचण्ड–माधव समूहले स्वेतपत्र ल्याउने

देशमा संघीयता नै लागु भएनः प्रचण्ड


- दृष्टि संवाददाता

567
Shares

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनसम्म आइपुग्दा आफूहरुको भूमिका सहित घटनाक्रमका बारेमा स्वेतपत्र जारी गर्ने भएको छ ।

आज विहान ललितपुरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनसम्मको दुर्घटना किन भयो भनेर आम जनतालाई स्पष्ट पार्न स्वेतपत्र जारी गर्ने बताए । स्वेतपत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका कमजोरीदेखि आफूहरुको अवस्थासम्म उल्लेख हुने उनले बताए । उनले स्वेतपत्र तयारी भइरहेको पनि जानकारी दिए ।

 

यस आत्मसमिक्षा पनि हुने प्रचण्डले उल्लेख गरेका छन् । उनले भने, ‘हामी लोकतन्त्र रक्षा र सत्यको लडाईंमा छौं । शान्तिप्रक्रियालाई संविधान निर्माणमा रुपान्तरण गर्दै अघि बढेको अवस्थामा, हामीले कहिले पदको लडाईं गरेका होइनौं । यो पदका लागि आन्दोलन होइन, शान्ति प्रक्रिया र राजनीतिक उपलब्धि जोगाउनका लागि हो ।’

उनले ओलीले राज्यसत्ता कब्जा गरेर गुण्डाराज चलाएको आरोप पनि लगाए । ओलीको गुण्डाराज शैलीले बाध्य भएर हड्तालमा उत्रिनुपरेको उनको भनाइ थियो । उनले भने, ‘आम हड्ताल संयुक्त हुँदै गए जनता आफैं उत्रिन्छन् ।’ अध्यक्ष प्रचण्डले भने, ‘देशमा संघीयता नै लागु भएन । यसको प्रमुख कारण ओली नै हुन् ।’ राज्यका नीति नियमहरु संघीयता विरोधी बनेको बताउँदै, उनले केन्द्रीकरणलाई ध्यानमा राखेर काम भएको बताए ।

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थालाई नेकपाको आन्तरिक मामिला नसोच्न आग्रह गरे । उनले केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न खोजेको बताए । ओली शैलीले लोकतन्त्र संकटमा परेको उनको भनाइ थियो । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्न ओली सक्रिय छन् ।

यो देश संकटको अवस्था हो, यसलाई नेकपाको विवाद मात्र भनेर नसोचौं ।’ उनले ओलीले आर्मीका गाडी गुडाउँदैमा कोही नतर्सिने पनि बताए । लोकतन्त्र र संविधानको रक्षाको लागि आफूहरु जिल्ला–जिल्लामा पुगेको भन्दै देशैभरबाट ओलीको कदम विरुद्ध उत्रिन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्