
काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र कसैले पनि मास्न नसक्ने बताएका छन् ।
नेकपा ओली समूहले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनता सचेत रहेकाले कसैले पनि लोकतन्त्र मास्न नसक्ने बताएका हुन । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैले पनि लोकतन्त्र मास्न सक्दैन । नेपाली जनता सचेत छन् । त्यसैले लोकतन्त्र मास्न कसैले सक्दैन । लोकतन्त्रप्रति कसैले पनि आँखा नलाए हुन्छ । कसैले पनि प्रतिगमन नसोचे हुन्छ । देश अघि बढ्यो बढ्यो ।’
यतिखेर जबरजस्ता एउटा विषय बहसमा ल्याइएको भन्दै भने, ‘प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्छ कि मिल्दैन बनेर जबरजस्त बहसको विषय बनाइएको छ । म भन्छु कहाँ लेखिएको छ, प्रधानमन्त्रीले संसद विघटन गर्नु हुँदैन भनेर ?’ उनलृे संसारमा संसद विघटन गरेर नयाँ जनादेशमा गएको भन्दै भने, ‘हाम्रै बलले संसद गठन गरेर हामीलाई नै काम गर्न नदिने ? यो चलन कहाँको हो ?
उनले आफ्ना कार्यकर्ताहरु कतै नलागेर पार्टीको काममा सक्रियताका साथ लागेको दावी गर्दै भने, ‘यहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।’ आफ्नो जनसभाले गर्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको स्वीकार्दै उनले भने, ‘हामीलाई सडकमा निस्किन बाध्य पारियो ।’ यो जनसभाले मोटरसाइलवालासम्मलाई दुःख दिएको भन्दै भने, ‘हामी यसरी सडकमा ननिस्किएको भए केही मानिसले एक÷दुई हजार मानिस निकालेर धमास देखाए ।’ उनले अगाडिदेखि नै काठमाडौंको जनसभालाई हेरेर सभा भनेको कस्तो हुन्छ भन्दै आएको स्मरण गराए । उनले फागुन १ गते बुटवल र ८ गते विराटनगरमा हुने आमसभालाई समेत हेर्न नेकपा प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।











