Logo
Logo

सरकारले दिनैपिच्छे नयाँ–नयाँ कुरा ल्याएको छ : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ फागुन ।

आज हामीले एउटा अर्को कामको शुरूवात गरेका छौँ । नयाँ अभियान प्रारम्भ गरेका छौँ, रोजगार अभियान । नेपालका समस्यामध्ये बेरोजगारी ठूलो समस्या हो । अर्को समस्या गरिबी हो । गरिबीसँग बेरोजगारी जोडिएको छ । सबैले समुचित काम पाउने हो भने गरिबी स्वतः हट्छ । हामी नेपाललाई परिवर्तन गर्न चाहन्छौँ, रूपान्तरण गर्न चाहन्छौँ । मैले विभिन्न समयमा भन्ने गरेको छु – हामी नेपालको परिचय र पहिचान बदल्न चाहन्छौँ । गरिब देश भन्ने पहिचानलाई बदलेर समृद्ध देश भनेर चिनाउन चाहन्छौँ । विद्वानहरूको पछाडि परेको यो देशलाई अगाडि बढेको हेर्न चाहन्छौँ, अल्पविकासित देशको परिचय बदलेर विकसित देशका रूपमा पहिचान दिन चाहन्छौँ ।
मैले हिजो दुईवटा कार्यक्रममा एउटै कुरा बोलेँ, त्यो हो– अपराध नियन्त्रण र शान्ति सुव्यवस्था । आज भ्रष्टाचारको विश्वव्यापी स्तर हेर्दा नेपालको शिर झुक्ने अवस्था छ । अपराधको अवस्था के छ भन्दा शिर झुक्ने अवस्था छ । नेपाल विद्वान र ऋषिमुनिहरूको देश । विद्वानका सन्तान के भएर गए ? यस अवस्थालाई हामीले फेर्नुपर्छ । बालबालिकाले गल्ती गर्लान्, वयस्क नेपालीले अपराध गर्दैन, कानुन तोड्दैन भन्ने विश्वव्यापी मान्यता र परिचय स्थापित गर्नुपर्छ । त्यो चेतना जागरण नैतिक मूल्य बनाउनुपर्छ । नेपालीप्रतिको परिचय बदल्न अशिक्षा र गरिबीको परिस्थितिलाई हामीले तोड्नुुपर्छ । लोकतन्त्रको हाम्रो आन्दोलन कष्टपूर्ण, बलिदानपूर्ण, साहसपूर्ण र न्यायपूर्ण थियो ।
आज हामी नयाँ परिस्थिति, संघीय लोकतान्त्रिक गणतान्त्रिक अवस्थामा छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले सर्वोत्तम प्रणाली भनेर ल्याएका हौँ । यो प्रणाली भनेर मात्रै सर्वोत्तम हुँदैन । यस प्रणालीले हरेक नेपालीलाई शिक्षित मात्रै होइन, सुु–शिक्षित बनाउन सक्नुपर्छ, स्वस्थ बनाउन सक्नुपर्छ । रोजगार बनाउन सक्नुपर्छ, गरिबीबाट माथि उठेको सम्पन्न बनाउन सक्नुपर्छ । नेपाललाई पछौटेपनबाट अगाडि बढाउन सक्नुपर्छ । भ्रष्ट समाज होइन, स्वच्छ समाज निर्माण गर्न सक्नुपर्छ । अपराधको बिगबिगी होइन, अपराध नभएको सुरक्षित देश बनाउनुपर्छ । हामीले नेपाललाई विश्वका सामु सुसभ्य, नैतिकवान, शान्त र समृद्ध देश बनाउनुपर्छ ।
यसका निम्ति हामीले अनेक प्रयास अगाडि बढाउनुपर्ने छ । थुप्रै प्रयास अगाडि बढाएका पनि छौँ– जीवन बीमासम्बन्धी, सामाजिक सुरक्षाका प्रबन्धहरू अगाडि बढायौँ । कृषि आधुनिकीकरणसम्बन्धी प्रबन्ध अगाडि बढाएका छौँ । त्यसै अनुरूपको नयाँ काम हो प्रधानमन्त्री रोजगार कार्यक्रम । हामी रोजगारीका अवसरहरू विभिन्न ठाउँमा संस्थागत हिसाबले सिर्जना गर्दैछौँ– स्थानीय तहका सरकार, उद्योग, कृषि, पर्यटन, पूर्वाधार विकास निर्माण, आईटी क्षेत्र, सञ्चार जगत ।
विभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरी सिर्जित रोजगारीका अवसरहरू, तथ्य–तथ्याङ्कहरू उपयुक्त तरिकाले राख्ने, ती तथ्य–तथ्याङ्क अध्यावधिक गर्दै लैजाने र बेरोजगारीको स्थिति के छ ? रोजगारी कतिले प्राप्त गर्न सक्छन् त्यसलाई व्यवस्थित गर्ने । बेरोजगारको स्थिति र रोजगारको अवस्था वा आवश्यकता, कुन व्यक्ति कुन ठाउँमा, कुन श्रमिक, कुन श्रममा, कुन प्रकारको व्यक्तिको आवश्यकता कहाँ प¥यो, त्यस प्रकारले आपूर्ति गर्ने गरी व्यवस्थित गर्ने । रोजगारीको अभावलाई व्यवस्थित ढंगले समाधान गर्ने । त्यस बाटोमा एउटा ऐतिहासिक र दूरगामी महìवको कदमको रूपमा यस कदमलाई शुरू गरेका छौँ । हामीले प्रधानमन्त्री रोजगार कार्यक्रम भनेका छौँ र आजबाट यो कार्यक्रम प्रारम्भ भएको छ ।
यो नेपालका लागि एउटा नयाँ अभ्यासको शुरूवात हो । मैले भन्ने गरेको छु– नेपाल हरेक दिन एक कदम अगाडि बढ्छ । हिजो भन्दा आज हामी फेरि एक कदम अगाडि बढेका छौँ । आज भन्दा भोलि अर्को एक कदम अगाडि बढ्छौँ । भोलिभन्दा पर्सि अर्को एक कदम अगाडि बढ्छौँ ।
हामी केही गर्न सक्छौँ । हामीसँग अत्यन्तै उर्बर, अत्यन्तै उपयोगी, प्राकृतिक स्रोतसाधन र खनिज तत्वहरूले भरिपूर्ण विविधतायुक्त हिमाली, पहाडी र तराई भेग छ । हरेक ठाउँमा उत्पन्न हुने जीव वा वनस्पति उपलब्ध भएको प्रकृति छ । हामीसँग भूमि र भूगोल पनि छ । अर्को, हामीसँग ४० प्रतिशतभन्दा बढी जवान जनशक्ति छ, ६० प्रतिशत भन्दा बढी क्रियाशील उमेरको जनसङ्ख्या छ । विगतमा हामी आन्तरिक समस्यामा अल्झियौँ, राजनीतिक समस्यामा रूमल्लियौँ, ती आन्तरिक र राजनीतिक समस्या टुङ्ग्याएर अब सुशासनको बाटोमा जान बाटो खुलेको छ । हामी आन्तरिक समस्याबाट निस्किएर बाह्य सहयोग समर्थन समेतको प्रयोग गर्ने अवस्थामा पुगेका छौँ, त्यो पनि गौरवपूर्ण ढंगले । हामी अब त्यस अवस्थामा पुगेका छौँ । हामीसँग कता जाने हो भन्ने स्पष्ट नीति, राष्ट्रिय लक्ष्य, उद्देश्य, संकल्प सबै स्पष्ट छन् ।
हामी अब स्पष्ट र स्थीर नीतिका साथ अगाडि बढेका छौँ । त्यसकारण हामी छिट्टै विकास गर्न सक्छौँ । हामीसँग बहुमत छ । पर्सि (फागुन ३ गते) निर्वाचित सरकारको एक वर्ष पुग्दैछ । धेरै वर्षपछि नेपालमा सरकारको वर्षदिन पूरा हुँदैछ तर अब वर्षदिन पूरा हुने मात्रै होइन, बहुमतको यो सरकार पाँच वर्ष पुग्छ । स्थीर बहुमतसहितको सरकार बनेकाले हामीले यस वर्षलाई आधार वर्ष भनेका छौँ । संविधान कार्यान्वयनका लागि कानुन निर्माण, संरचना निर्माण यी सबै कुरा मोटामोटी टुङ्गिएको छ । सुस्पष्ट नीति, दृष्टिकोणसहितको बहुमतको वर्तमान सरकारले दिनैपिच्छे नयाँ नयाँ कुरा ल्याएको छ ।
नेपाली जनताले देख्न खोजेको दिन पनि यही हो । नेपाली जनताले आफैले बनाएको संविधान देख्न खोजेका हुन् । नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्र देख्न चाहेका हुन् । लोकतन्त्र र समावेशीसहितको लोकतन्त्र, समानुपातिकसहितको लोकतन्त्र, महिला अगाडि बढेको लोकतन्त्र, पछाडि परेका समुदाय अगाडि बढेको लोकतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, जनताले छानेको बहुमतको सरकार, सुस्पष्ट नीति, स्वच्छताको प्रतिबद्धता र त्यस अनुसारको गतिशील सरकार नेपाली जनताले देख्न चाहेका हुन् । जुन आज छ, अब हाम्रो यात्रा सुशासन, समृद्धि र विकासतर्फ अगाडि बढ्छ ।
आजको ऐतिहासिक दिनलाई हामी हरेक वर्ष श्रमिक दिवस वा रोजगारी दिवसका रूपमा मनाउने छौँ । म सबै दाजुभाई दिदीबहिनीलाई भन्न चाहन्छु– ढुक्क हुनुहोस् नेपाल आफ्नो सार्वभौमसत्तालाई, स्वाधीनतालाई अत्यन्त माया गर्दछ । शाव्दिक होइन, व्यवहारमा माया गर्दछ । स्वाधीनतापूर्वक स्वतन्त्र ढंगले आफ्ना बारेमा, आफ्नो आन्तरिक मामिलामा वा अन्तर्राष्ट्रिय सवालमा आफ्ना स्वतन्त्र दृष्टिकोण आफ्नो हित, आफ्नो न्याय र आफ्नो अन्तर्राष्ट्रिय उत्तरदायित्वअनुसार अगाडि बढ्छ । नेपाल सार्वभौमसत्ता सम्पन्न भएका जनताको देश हो । जनताको प्रणाली भएको देश हो र जनताको प्रणालीप्रति उत्तरदायी छ । त्यसकारण हामीले त्यत्तिकै घोषणा गरेको होइन – कोही नेपाली भोकै बस्नु पर्दैन, कोही नेपालीले भोकै मर्नु पर्दैन । कोही नेपाली जाडोले कठ्याङ्ग्रिएर मर्नु पर्दैन । हामीले अभियान सञ्चालन गरेका छौँ– औपचारिक, अनौपचारिक शिक्षाको क्षेत्रमा । तालिम सीप विकास व्यावसायिक तालिम आदि समेतका सन्दर्भमा । कतिपयले यस राष्ट्र निर्माणको महाअभियानलाई अल्मल्याउने, यसप्रति अविश्वास जगाउने कोशिश गर्न सक्छन्, गरिरहेका छन्, म त्यसलाई सचेतनताका रूपमा लिन चाहन्छु ।

अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोशिश थामिसक्नु छैन । बाउका कानमा गएर भन्ने– आमा बोक्सी छन् । आमाका कानमा गएर भन्ने– आमा, बाउ जड्याहा भइसके । दुवैले पत्याउँदैनन्, फेरि भन्ने– बुबाले पत्याउनुहुन्न के भन्नु, आमा भरे मुख
सुँघ्न आउँछिन् । आमाको कानमा गएर भन्ने– तपाइँ पत्याउनुहुन्न, गएर बुबाको मुख सुँघ्नुस् न, कस्तो गन्हाउँछ । नभन्दै आमाले गएर मुख सुँघ्छिन् । रक्सी त गन्हाएको हुँदैन तर बुबालाई पक्का हुन्छ कि मुख त सुँघ्न आई नि । बोक्सी त रहिछ । त्यस्ता प्रयास धेरै भएका छन् तर प्रयास नगरे पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जानेछिन् । न बाउले बोक्सीको आरोप लगाउने छन् । यहाँ त्यो कुनै चल्नेवाला छैन ।


म देखिरहेको छु– अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने खुब कोशिश भइरहेको छ तर नेपाल सुस्पष्ट विदेश नीतिका साथ परराष्ट्र सम्बन्धका उपयुक्त आधारका साथ खुलस्त र पारदर्शी ढङ्गले अन्तर्रा्ष्ट्रिय मञ्च र छिमेकीसँगको सुसम्बन्ध कायम गरिरहेको छ । यसमा कुनै द्विविधा छैन । एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा हुँदैन । मैले भन्ने गरेको छु– कसैको विरूद्धमा कुनै कार्ड, कुनै छिमेकीका विरूद्ध कुनै कार्ड, कुनै मित्रका विरूद्ध कुनै कार्ड प्रयोग गर्ने काम हामी गर्दैनौँ । दुनियाँमा हाम्रा कोही शत्रु छैनन्, सबै मित्र छन् । हामी विश्व शान्तिको पक्षमा छौँ । हामी सबै राष्ट्र स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न छन्, तिनको कदर हुनुपर्छ भन्ने मान्यता राख्छौँ । कुनै समस्या छ भने त्यहाँका जनताले आफै ती समस्याको दृढतापूर्वक समाधान गर्छन् भन्ने मान्यतामा छौँ । संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशील सिद्धान्तमा रहेको यस मान्यतालाई हामीले सम्मान गरेका छौँ । त्यस कारण हाम्रा छिमेकीसँग होस् वा अन्तर्रा्ष्ट्रिय मित्रसँग, कसैसँग पनि कुनै प्रकारको असमझदारी बढाउँछु भन्ने प्रयास ग¥यो भने त्यो असहयोग प्रयास हुनेछ ।
हामी एउटा नयाँ संकल्पका साथ अगाडि बढेका छौँ । यस्तो बेला समाजलाई भड्काउने, बिथोल्ने, जनतालाई त्रसित बनाउने वा तोडफोड र हिंसात्मक ढङ्गले जाने वा भ्रम फिँजाउने खालका प्रयास लोकतन्त्रको पक्षमा छैनन् । जनताको पक्षमा छैनन् । त्यस बाटोमा जानुहुँदैन । नेपालले सदाचार, सुशासन र विकासको स्पष्ट बाटो लिएको छ । त्यसै बाटो अन्तर्गत आज हामीले यो कार्यक्रम शुरू गरेका हौँ । यो कार्यक्रम सफल हुने नै छ । अब यसलाई सफल बनाउन धेरै मिहिनेत गर्नुपर्छ । धेरै लामो यात्रा पार गर्नुपर्छ । म आग्रह गर्छु– हामी एकताबद्ध भएर यस अभियानलाई सफल पारौँ । नेपालमा बेरोजगारी र गरिबी रहनुहुँदैन । नेपाल समृद्ध र विकसित हुनुपर्छ । हामी सम्पूर्ण नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा समृद्ध नेपाल सुखी नेपाली हो । त्यस दिशाको पाइला हो यो । यस पाइलालाई हामी तीव्र गतिमा योजनाबद्ध ढङ्गले अगाडि बढौँ र सफल बनौँ सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु
(प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा दिनु भएको मन्तव्य)

प्रतिक्रिया दिनुहोस्