Logo
Logo
दृष्टिकोण

इतिहासलाई धक्का दिनुपर्ने समय


–लक्ष्मण देवकोटा


गैरकम्युनिष्ट कित्तामा दर्ज भइसकेका खड्गप्रसाद ओली अन्तिम बर्बराहटमा छन् । माक्र्सवादी जीवन दर्शन र लेनिनवादी संगठनात्मक पद्धतिलाई विसर्जन गरेर चितवन अयोध्यापुरीमा गेरुवस्त्र धारण गर्ने अन्तिम तयारीको गज्जब दृष्य हेर्न अभिशप्त छ परिवर्तनकामी नेपाली समाज । माक्र्सको ठाउँ वीर सावरकरको हिन्दूत्वले लिएको छ भने, लेनिनको ठाउँ लिएको छ– डा. केशव बलिराम हेडगेवारको राष्ट्रिय स्वयंसेवक संघको अवधारणाले ।

माले–एमाले विभाजनको पीडामा फिनिक्स पन्छीको कहावत् सुनाउने प्रदीप ज्ञवालीहरुको बुद्धिविलासको ठाउँ महेश बस्नेतको साइवर सेनाले लिएको छ । एक–एक सम्पादकको हिसाब–किताब राखिएको छ भनेर प्रधानमन्त्रीको छेवैमा बस्नेले धम्क्याउँदा सबै चुपचाप रहने स्थिति पैदा भएको छ सत्ताको गोलभित्र । खरानी भइसकेर फेरि ब्युँझिएको चिनियाँ कहावतको फिनिक्स चरो ब्यूँझेला, नब्यूँझेला । तर, सत्तान्धताले हिजोका कमरेडहरु पूर्णरुपमा मस्त निद्रामा छन्, सुनेको नसुनेझैं, देखेको नदेखेझैं ।

झट्ट हेर्दा अस्वाभाविक र अप्रिय लागे पनि समयक्रममा यो हुनु नै थियो । खड्गप्रसाद ओलीलाई निरंकुशताको यो उच्चतम तहमा पुर्याउन प्रत्यक्ष–परोक्ष धेरै कुराले प्रेरित गरिरहेको थियो । कतिपय देखिने थिए त कतिपय नदेखिने । चिनियाँ क्रान्तिका नायक माओ भन्छन्, ‘कम्युनिष्टहरु कसैप्रति पूर्णरूपमा आँखा चिम्लेर समर्थन वा विरोध गर्दैनन् ।’ उनीहरु माक्र्सवादी दर्शनबाट प्रेरित भएर सत्य कुराको समर्थन र गलत कुराको विरोध गर्छन् । समूह हेरेर होइन, सत्य हेरेर उनीहरु निर्णय लिन्छन् ।’

कम्युनिष्ट आन्दोलनको यो ७० वर्षमा पार्टीहरुभित्र गुट–उपगुट चलाएर नेतृत्वमा बसिरहने प्रवृत्ति हाबी भयो । गुट सञ्चालनमा सबैलाई माथ गर्ने कौशल खड्गप्रसाद ओलीमा अहिले होइन, पहिलेदेखि नै थियो । खड्गप्रसादले जतिसुकै विधि, पद्धति र नियम मिचे पनि सहीछाप लगाउन तयार समूह मेचीदेखि महाकालीसम्म पञ्चेबाजा बजाएर कुदिरहेको छ । त्यसले माक्र्सवाद पढिरहन पर्दैन, लेनिनवादी भइरहन पर्दैन । ऊ आफ्ना मुली ओली र उनको समूहबाट सदैव संरक्षित भइरहन्छ ।

क्षमता होस् नहोस्, उसले सधैँ अवसर पनि प्राप्त गरिरहन्छ । आफ्ना गुटका मानिसको अन्ध समर्थन र आफ्ना कुराको प्रतिवाद गर्नेको दोहोलो काढ्नु उसको कर्म नै हो । यही गरेवापत फलिफाप हुने भएपछि मान्छेले कुनै सिर्जनशीलताको लेठो किन गरोस् ? ओलीको सत्तारोहणपछिका राजनीतिक नियुक्ति, अवसरप्राप्त मानिसहरुको बहुसंख्यक झुण्ड र सरकारको प्रतिवाद गर्ने साइवर लडाकुहरुको जत्था हेरेपछि धेरै बोलिरहनु पर्दैन ।

चितवनको सभामा किन प्रचण्डले अयोध्यापुरीमा राममन्दिर बनाउँदैनन् ? भनेर धार्मिक भड्काउको आगो बाल्ने ओलीको भाषणमा ताली पिट्ने यही जमात हो । यो जमातको बहुसंख्यकसँग कम्युनिष्ट पार्टीका सदस्यमा हुनुपर्ने न्यूनतम चरित्र हुनुपर्ने जरुरी छैन । एउटा नेताको पछाडि, एउटा गुटको पछाडि अन्धभक्त भएर लाग्नेहरुलाई यो देशको अग्रगमन र उत्पीडितहरुको मुक्तिसँग कुनै लेनादेना छैन । भोलि ओलीले सैनिक शासन लगाए भने पनि तिनले ताली पिट्नेछन् ।

संविधानमाथि ओलीको बुट बज्रँदा दिपावली गर्ने तिनै हुनेछन् जो समाजलाई फेरि पञ्चायती समयतिरै लैजान उद्यत छन् । जब दुश्मनले प्रशंसा गर्छ, ख्याल गर्नु तिमीले बाटो बिराउँदैछाैं। माओत्सेतुङले लालसेनाका सभाहरुमा धेरै पटक भनेको यो उक्ति ओलीका हकमा पूरापूर लागू भइरहेको छ । राजावादीहरु अहिले ओलीको प्रशंसामा एकगठ भएका छन् । उनीहरुलाई जसरी पनि यो संविधान च्यातेर फेरि संवैधानिक राजतन्त्रवाला संविधान ल्याउनुछ ।

भारतीय र अमेरिकी गुप्त सहयोगमा हौसिएका ओली राजावादीहरुलाई एकीकृत गरेर कम्युनिष्ट पार्टी नभए पनि केही फरक पर्दैन भन्ने लाइनमा गइसकेका छन् । लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न घटक र समूहमा सहभागी भएर क्रियाशील भएका सचेत नेपाली जनहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आइसकेको छ । आफूलाई अग्रगमनको बाटोमा लैजाने कि पश्चगमनको बाटोमा धकेल्ने ?

नदीनालाहरुमा आँखा गाडेको भारत र एमसिसीको निहुँमा चीनमाथि धावा बोल्न नेपाल पस्न खोजिरहेको अमेरिकी युरापेली मोर्चाबन्दीको संगठित अभियानलाई निस्तेज गर्न बोल्सेभिकहरुले मिन्सेभिकहरुलाई पराजित गरेझैं फेरि एकजुट हुन समयले आह्वान गरेको छ ।
समयको कालखण्डमा नायक वा खलनायकी कर्मका कारण पात्रहरुको महत्ता बढी भएको देखिन पुग्दछ । तर, पात्र जन्माउने कारक भने समाजको वास्तविक अवस्था नै हो । तत्कालीन राजनीतिक, आर्थिक र सामाजिक परिवेशका कारण नेतृत्व जन्मिन्छ । कोही पनि जन्मजात नेता भएर जन्मँदैन । जसले समयको भाषा बुझ्यो, जसले जनताको मन छाम्यो, जसले जनताको बीचमा गएर संगठन गर्यो, हो उसैलाई समयले नायकमा परिणत गरिदिन्छ ।

तर नेपाली समाजको दूर्भाग्य, धेरैपटक नायकजस्ता लाग्ने मानिसहरु खलनायक बनिरहेका छन् । महेन्द्रको ‘कू’ अगाडि पार्टीभित्र बहुमतमा रहेका केशरजंग रायमाझी हुन् या छँदाखाँदाको बहुमतलाई आगो लगाएर चुनाव खोज्ने ओली हुन्, यी अग्रगमनकारी हुँदै होइनन् । लोभ, लालच, अहंकारको कारण पतनको बाटोमा अभिशप्त भएका फगत एक निमित्त नायक हुन् । नेपाली वामपन्थी आन्दोलनको दूर्भाग्य नै हो यो । ओलीको यो गलत कर्म चुक्ता गर्न नेपालका कम्युनिष्टहरुलाई अब धेरै नै पापड बेल्नुपर्ने देखिन्छ ।

स्वीजरल्याण्डको निर्वासनपछि क्रान्तिको खाका बोकेर मस्को फर्किएका लेनिनले भनेका थिए– कहिलेकाहीँ इतिहासलाई धक्का दिनुपर्ने हुन्छ । यथास्थितिमा परिवर्तन सम्भव छैन । वैज्ञानिक समाजवादमा विश्वास गर्नेहरु पछाडि फर्कने भन्ने हुँदैन । अग्रगमनमा विश्वास गर्नेहरुका अगाडि इतिहासले दुईवटा महत्वपूर्ण जिम्मेवारी दिएको छ । एउटा ओलीले ध्वंश पारेको नेपालको कम्युनिष्ट आन्दोलनलाई ठीक ठाउँमा ल्याउने, दोस्रो हजारौं शहीदहरुको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताहरुको रक्षा गर्ने ।

यो महत्वपूर्ण कामको नेतृत्व लिन तम्सिनेहरुले एकपल्ट आफ्ना विगतको राम्रो समीक्षा गर्न पनि जरुरी हुन्छ । अहिलेका कम्युनिष्ट नेताहरु समाजसँग टाढिएर आकाशमा धेरै पर उडेका चंगाजस्ता भएका छन् । लट्टाइमा धागो सकिन लागिसक्यो, चंगा कता हो कता उडिरहेको छ । वायुको बेग, सिसा पिनेर धागो तिखारिएको लट्टाइको धागो र मिहीनपूर्वक बनाइएको चंगा उडाउनेको काबुमा भएन भने चैट हुनसक्छ । बेलैमा ख्याल नगर्दा धेरै देशमा चंगाचैट भएका छन् ।

शान्तिपूर्ण तर अचुक अनुशासनमार्फत यो अभियानको नेतृत्वमा फेरि एकपटक प्रचण्ड र माधवकुमार नेपालको हातमा आइपुगेको छ । सत्ता, सेना, पुलिस, साइबर हमलाकारीहरु, राज्यका सबै साधन स्रोत लिएर राजावादीको आड भरोसा, देशी–विदेशी प्रतिक्रियावादीहरुको समर्थनमा ओली एकातिर उभिएका छन् । ओलीलाई दलभित्रकै भ्रष्ट, बदनामहरुको गतिलो साथ छ । अर्कातिर यी सबै कुराहरुबाट बञ्चित तर कुशल संगठन, शान्तिपूर्ण क्रान्तिको माक्र्सवादी खाका बोकेर जनताको घरदैलोमा आटोपिठो खाएर आन्दोलनको ज्वार उठाउन सक्ने असल कार्यकर्ताहरुको साथ छ माधव नेपाल र प्रचण्डहरुलाई । समयले बोल्सेभिकहरुको स्थानमा उनीहरुलाई उभ्याएको छ ।

संसदीय भासको यो लामो अभ्यासमा भएका गल्तीहरु कार्यकर्तासँग क्षमाशील भएर स्वीकार्नु, जनताका कुरा सुन्नु र जनताबाट नटाढिनु । क्षणिक सत्ताको रापताप कुर्ची हट्नासाथ शून्यमा विलीन हुन्छ । उग्र राष्ट्रवादको अतिवाद पनि सामना गर्नुपर्ने हुन सक्दछ । क्रान्तिका उपलब्धिहरुमाथि धावा बोलेर अल्पसंख्यक, उत्पीडित, दलित, महिला, सीमान्तकृतहरुको पक्षमा लेखिएको संविधानलाई जलाउने धृष्टता गर्ने ओलीको बहिगर्मनको अन्तिम धक्का दिनु अहिलेको प्रमुख कार्यभार हो ।

संगठन विस्तार र भावी समाजवादी यात्राको खाका कोर्नु, अनि सोही बमोजिम जमिनबाटै फेरि सत्ता कब्जाको रणनीति अख्तियार गर्नु रणनीतिक कार्यभार हुनुपर्दछ । समयको यो बेगलाई बुझ्ने तागत यी नेताहरुसँग छ नै । समुन्नत नेपालको निम्ति फेरि जमिनबाटै शंखघोष गर्ने बेला आएको छ ।
मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्