काठमाडाैं, २६ माघ । ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।
गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा लोकनाथ भुषालले बताए । उनकाअनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । ‘सेवाग्राहीले अनुकूल समयमा फारम भर्न सक्नुहुन्छ,’ उनले भने ।
गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भिड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन्। अहिले फारम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा भुषालले बताए । ‘अहिले पनि बिहान र साँझभन्दा दिउँसोको समयमा फारम भर्ने सेवाग्राही धेरै छन्। फारम नै भर्न सकिएन भन्ने गुनासो बिस्तारै कम भएको छ,’ उनले भने ।











