काठमाडौं, २७ माघ । नेपाली सेनाले संगठनमा परिवर्तन सुदृढीकरण र दीगोपना सम्बन्धी ४ दिने गोष्ठी संचालन गर्ने भएको छ । जङ्गी अड्डाका अनुसार सेनाले फागुन २ गतेदेखि ५ गतेसम्म गोष्ठी संचालन गर्न लागेको हो ।
प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्षलाई सुदृढीकरण र दीगोपनको वर्ष घोषणा गरेका थिए । सोही विषयमा आधारित रहेर सेमिनार संचालन गर्न लागेकाे सेनाले जनाएको छ ।
सेमिनारमा संगठन सञ्चालन र परिवर्तन व्यवस्थापन सम्बन्धी विषयहरूमा गैरसैनिक विषयविज्ञहरू तथा नेपाली सेनाका रथीबृन्द र उच्च सैनिक अधिकृतहरूकाे प्रस्तुति रहने छ ।
उक्त सेमिनारमा नेपाली सेनाका विशिष्ट श्रेणीका रथीबृन्दहरु लगायत रक्षा मन्त्रालय र अन्य सुरक्षा निकायका उच्च अधिकारीहरुको सहभागी हुने सेनाले जनाएको छ ।











