काठमाडौं, २८ माघ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा एपिएफले लगातार आठौंँ जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ८–० ले पराति गर्दै एपीएफले लगातार आठौँ जित निकाले हो ।
एपीएफलाई शान्दार जित दिलाउनको लागि सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक हानिन् । सावित्राले खेलको छैठौँ, ३२औँ, ४७औँ, ६०औँ, ६२औँ र ७९औँ मिनेटमा गोल गरेकी हुन् । अनिता बस्नेतले दुई गोल गरिन् । खेलको पहिलो मिनेटमै गोल गरेकी उनले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।
चन्द्रपुरले एपिएफविरुद्ध एउटै प्रहार पनि राम्ररी गर्न सकेन । खेलको प्राय समय चन्द्रपुरका खेलाडी आफ्नै क्षेत्रमा मात्र रक्षात्मक बन्नुपरेको थियो । जहाँ एपिएफ एक मात्र टिम हो जसले प्रतियोगितामा एक गोल पनि खाएको छैन । आठ खेलमा ६ अंक बनाएको चन्द्रपुर अंक तालिकामा छैठौँ स्थानमा नै रहेको छ।
चन्द्रपुरविरुद्धको जितसँगै लिगमा एपिएफले दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग पाँच अंकको अग्रता बनाएको छ । एपिएफकी प्रशिक्षक भगवती थापाले पहिलो हाफ आफूहरुले सोचेजस्तो नभएको भए पनि दोस्रो हाफ राम्रो खेलेको प्रतिक्रिया दिइन् ।











