Logo
Logo

एक भई विकास र समृद्धिको अभियानमा बढौँ : प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


भक्तपुर, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताए ।
भक्तपुरमा शनिबार आयोजित हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता वाकाथुन तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालेले सफाइ अभियानले नयाँ सभ्यताको विकास गरेको बताए । विकास र समृद्धिको अभियानमा सबै राजनीतिक दल, वर्ग, धर्म, लिंग र समुदाय एकजुट भएको सन्देश हनुमन्ते सफाइ अभियानले दिएको बताउँदै उनले नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमार्फत नयाँ सभ्यताको इतिहास रच्ने सुनौलो अवसर प्राप्त भएको छ भन्नुभयो । देश बनाउने जिम्मेवारी सबै नागरिकको भएकाले यसमा विभाजित हुन नहुने उनको जोड थियो ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नदीको सफाइ अभियानले नागरिकलाई स्वच्छ र सुरक्षित जीवनयापन गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले वातावरणमा आएको ह्रास न्यूनीकरण गर्न सरसफाइ अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपाका नेता महेश बस्नेतले सरकारले लिएको विकास र समृद्धिको लक्ष्यलाई भक्तपुरका जनताले अभियानका रुपमा सञ्चालन गरिरहेको उल्लेख गरे । उनले ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर’ बनाउने उद्देश्यले आयोजना गरिएको हनुमन्ते सफाइ अभियान अहिले देशकै नमूना अभियानका रुपमा अगाडि बढेको बताए ।
हनुमन्ते सफाइ अभियान १०० हप्तासम्म लैजाने बताउँदै नेता बस्नेतले अहिले हनुमन्ते करिडोर निर्माण तीव्र गतिमा भएको बताउँदै दुई वर्ष्भित्र हनुमन्तेलाई ढलमुक्त र सफा बनाउने प्रतिवद्धता व्यक्त गरे ।
अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँ टोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाको उपप्रमुख एवं अभियानका उपसंयोजक अञ्जनादेवी मधिकर्मी, अभियन्ता रुद्र पौडेलले अभियानले ल्याएको परिवर्तनबारेमा चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्