बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई कुनैपनि हालतमा नछाड्ने बताएका छन् । बुटबलमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले नर्मला र भागरथीका हत्यारालाई अदालतको कठघरामा उभ्याएरै छाड्ने बताए ।
‘निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन । दुई–चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं’, उनले भने ।
प्रधानमन्त्री ओलीले अहिले शान्ति सुरक्षाको स्थिति आमरुपमा राम्रो भएको उल्लेख गरे । ‘हिजो ईंट्टाभट्टामा जलाउनेहरुलाई मन्त्री बनाइयो, आज हामीले हत्कडी लगाएर झ्यालखानमा हालेका छौं,’ उनले भने, ‘१२ वर्षअघिका अपराधिलाई जेलमा हालेका छौं भने अहिलेका अपराधि पनि उम्किन पाउने छैनौं ।’











