Logo
Logo

मापदण्ड विपरित निर्माण हुँदै घर टहरा, नगरपालिका मौन


- दृष्टि न्युज/संवाददाता



खलंगा, ६ फागुन । जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बजार क्षेत्रमा स्थानीय बासिन्दाले अतिक्रमण गरेर मापदण्ड विपरित घर टहरा निर्माण गरिरहेका छन् ।
बजार क्षेत्र आसपासमा स्थानीयले अतिक्रमण गरी निर्माण कार्य शुरु गरेका हुन् । मापदण्डविपरित बनाएका घर टहरा निर्माण हुँदा पनि नगरपालिका मौन छ ।
चन्दननाथ नगरपालिका घोषणा भएको लामो समय बितिसके पनि नगरपालिकाले बनाएको मापदण्ड कार्यान्वयनमा आएको छैन । स्थानीयबाट बजार क्षेत्रभित्र घर टहरा निर्माण गर्दा सडकबाट छोडिनु पर्ने न्यूनतम दुरी नराखी घर टहरा निर्माण भइरहेका छन् । घर निर्माण गर्दा अनिवार्य नक्सा पास र स्वीकृत लिनुपर्ने प्रावधान पनि नगरवासीले मिचेका छन् । बजार क्षेत्रका स्थानीयले नगरपालिकाको मापदण्ड मिचेर घर बनाउनुका साथै सडकमा निर्माण साम्रगी राखेर आवतजावतमा समेत अवरोध पु¥याएका छन् ।
अतिक्रमण गरेर बनाइएका टहराले बजार क्षेत्रका सडकमा चल्ने सवारी साधानलाई गाह्रो भएको सनराइज यातायात जीप चालक रवि जीसीले बताउनुभयो । जिल्लाभित्र मात्र होइन जिल्लाको तातोपानी, रारालिही, कुडारी, सिजासमेत क्षेत्रमा दिनदिनै सडकमै घर टहरा थपिएका छन् । सडक मिचेर बनाइने घर टहरा र पक्की घरनै नक्सा पास गरेका छैनन् । यसरी नै बस्ती विस्तार हुने हो भने केही समयपछि नियन्त्रण गर्न सकिँदैन चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जनसिंह कठायतले बताउनुभयो । स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भए पनि जनप्रतिनिधिले काम गर्न सकेको छैन भन्छन् स्थानीय कालीबहादुर रोकाया । नगरपालिकाले फोहोर व्यवस्थापन, सडक, ढल, खानेपानीलगायतका पूर्वाधारसमेत पुरानै शैलीबाट सञ्चालन गरिरहेका छन् । तर नगरपालिकाले व्यवस्थित गररै यसलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्ने तयारी रहेको जनाएको छ ।
पाँच वर्षको आवधिक योजना निर्माण थालिसकेकाले केही महिनाभित्र आवधिक योजना बनेपछि त्यसलाई टेकेर नगर क्षेत्रको विकासका काम हुने नगरपालिका प्रमुख कात्तिका सेजुवालले बताउनुभयो । प्रमुख सेजुवालले घर टहरा निर्माणमा मापदण्ड कार्यान्वयन गर्न चुनौती रहेकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारलाई ऐन कानून बनाउन प्रदेश कानून बनि नसकेकाले गाह्रो भएको उनको भनाइ छ । हामीले हाम्रो नगरपालिकाको कानून बनाई सकेपछि कसैले पनि कानून र कार्य विधि मिचेर कुनै संरचना निर्माण गर्न पाउने छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्