Logo
Logo

प्रतिनिधि सभा बैठकमा ‘लुट्न सके लुट’मा सत्तारुढ र प्रतिपक्षबीच घोचपेच


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ फागुन । गायक पशुपति शर्माको व्यंग्यात्मक गीत ‘लुट्न सके लुट’ संसदमा प्रवेश गरेको छ । गायक शर्माले देशमा व्याप्त भ्रष्टाचारलाई कटाक्ष गर्दै गाएको उक्त गीत युट्युबबाट हटाइएसँगै झनै चर्चामा आएको छ । यसैक्रममा सोमबार यस गीतबारे सत्तापक्ष र प्रतिपक्षी सांसदबीच प्रतिनिधि सभा बैठकमा घोचपेच भएको छ ।
बैठकमा सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहबीच यो गीतलाई लिएर घोचपेचसहितको विवाद भएको छ । सत्तारुढ दल नेकपाको युवा संगठनसहितको दबाबमा शर्माले गीत युट्युबबाट हटाएको भन्दै कांग्रेस सांसद सिंहले संसदमा कुरा उठाएपछि बहस भएको हो । सिंहले बैठकको शून्य समयमा आफ्ना कुरा राख्दै गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने पनि बताए ।
त्यस्तै, सत्तारुढ दल नेकपाका सांसद रावलले सिंहलाई उल्टै पुरस्कार दिने बताए । रावलले पुरस्कार घोषणा गर्ने सांसदले पशुपति शर्माको उक्त गीत संसदमै गाएमा एक महिनाको तलब दिने घोषणा गरेका थिए ।
सांसद रावलले शर्माले अन्जानमा यस्तो गीत गाएको आफुहरुले बुझेको अवस्थामा प्रतिपक्षी सांसदले पुरस्कार नै घोषणा गरेपछि यो गीत गाउनुको रहस्य खुलेको उनले बताए । सांसद रावलले कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको पालामा गायक शर्माले नेपाललाई स्वर्गको संज्ञा दिँदै ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’बोलको गीत गाएको पनि स्मरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्