Logo
Logo

राजश्वका पूर्व अधिकृतसँग तीन करोड अकुत सम्पति


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ६ फागुन ।
राजश्व अनुसन्धान विभागका पूर्व अधिकृतसँग करिब तीन करोड अकुत सम्पति भेटिएको छ । पूर्व अधिकृत रामजी रिजालसँग अकुत सम्पति रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
गत वर्ष अनिवार्य अवकाश पाएका रिजालविरुद्ध आयोगले सोमबार मुद्दा दायर गरेको छ । उनीसँग रहेकोमध्ये २ करोड ९४ लाख रुपैयाँ अकुत सम्पति रहेको आयोगले जनाएको छ ।
यस्तो छ आयोगको बिज्ञप्ती-

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालिन शाखा अधिकृत रामजी रिजालले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा पदिय दुरुपयोग गरी गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवन यापन गरिरहेकोले कारवाही गरी पाउँ भनि आयोगमा दर्ता हुन आएको उजुरी उपरको अनुसन्धानमा निज रामजी रिजालले आफ्नो तथा आफ्नो परिवारका सदस्यहरुको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्वन्धमा संकलित तथ्य प्रमाणहरु रामजी रिजालले मिति २०४०।७।६ देखि २०४१।१।५ सम्म खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा प्रवेश गरी मिति २०४१।१।११ मा भूमी सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ती प्राप्त गरेका निजले मिति २०७४।१।१५ मा राजश्व अनुसन्धान विभाग ललितपुरबाट शाखा अधिकृतको पदबाट अनिवार्य अवकाश प्राप्त गरेको देखिन आएकोले मिति २०४०।७।६ देखी मिति २०७५।०९।३० सम्मको अवधिलाई जाँच अवधि लिएर छानविन एवं बिश्लेषण गरी हेर्दा निजले तलवभत्ता¸ प्रोत्साहन भत्ता¸ श्रीमती स्वस्थानी रिजालको पारिश्रमिक आय¸ जग्गा विक्री¸ श्रीमती स्वस्थानी रिजालको नाममा संचालित संजिवनी आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्सको आय¸ अवकास पश्चात सुविधा प्राप्त आय¸ कर्जा लगायतबाट निजले जम्मा रु. १¸९६¸८६¸५०९।- (एक करोड छयानव्बे लाख छयासी हजार पाँचसय नौ) आय आर्जन गरेको देखिन्छ । सोही अवधिमा जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन¸ मोटेल डि वटुवा प्रा.लि. एवँ संजिवनि आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्स प्रा.लि. हरुमा लगानी¸ विभिन्न बैंक तथा वितिय संस्था एवँ प्रा.लि. कम्पनिहरुमा शेयर लगानी¸ शैक्षिक खर्च¸ सुन चाँदी खरिद एवँ विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात लगायतमा रु. ४¸९४¸२४¸८१९।- (चार करोड चौरानब्बे लाख चौवीस हजार आठसय उन्नाइस) खर्च तथा लगानी गरेको देखिँदा निजको वैध आय रु. १¸९६¸८६¸५०९।- को तुलनामा रु. २¸९७¸३८¸३१०।- (दुई करोड सन्तानव्बे लाख अठतिस हजार तीनसय दश) बराबरको सम्पत्तीको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको रु. २¸९७¸३८¸३१०।- (दुई करोड सन्तानव्बे लाख अड्तीस हजार तीनसय दश) निजले राष्ट्र सेवक भएपश्चात के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको श्रोत पुष्टी गर्न नसकेबाट गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज रामजी रिजाललाई बिगो रू.२,९७,३८,३१०।– ( दुइ करोड सन्तानब्बे लाख अठतिस हजार तिन सय दश) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६( ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरिवाना र कैद सजाय हुन तथा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत समेत गरी पाउन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
साथै निज रामजी रिजालले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिहरु निजकी श्रीमती स्वस्थानी रिजाल समेतको नाममा राखेको देखिन आएको हुँदा चल अचल सम्पत्तीहरूमा श्रोत नखुलेको सम्पत्ति बिगो रू. रू.२,९७,३८,३१०।– ( दुइ करोड सन्तानब्बे लाख अठतिस हजार तिन सय दश) साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन माग दावी लिई सो चल अचल सम्पत्तिहरु जफत गर्ने प्रयोजनका लागि मात्र निजकी श्रीमती स्वस्थानी रिजाललाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्