Logo
Logo
कविता

दृष्टि दोष


अमित याक्थुङ्बा


  • अमित याक्थुङ्बा

ओ माननीयज्यू !
सायद
हाम्रै आँखा काम नलाग्ने रहेछ ।
हाम्रो आँखामा फुलो पर्यो
र,
तपाईको कोटजस्तै संसारै कालो देख्यौँ
उभोलाई उँधो, ओरालोलाई उकालो
मुसालाई हात्ती
पानीलाई भात्ती
लहरालाई साँप
मान्छेलाई आँप
हिउँलाई लाभा
गाडीलाई राँगा
फूललाई ढुङ्गा
झण्डालाई चङ्गा मात्रै देख्यौँ ।

हाम्रो आँखा
गुच्चा खेल्न पनि नमिल्ने भएछ ।

विश्वको नक्सा पल्टायौँ
सिम्बल तरूल जस्तो देश भेट्यौँ !
देशको नक्सा पल्टायौँ
अनुहार हराएको नागरिक भेट्यौँ !
नागरिकका मन पल्टायौँ
खाल्डाखुल्डीको वस्ती भेट्यौँ !
अनि,
गमेर संविधानका पाना पल्टायौँ
विषका अजस्र धाराहरू भेट्यौँ !

साँच्चै हाम्रो आँखा खेर गएछ
ओ माननीयज्यू !
अब मट्टीतेल र माचिस देख्नुअघि
हाम्रो आँखा ठीक गरियोस् ।
०००

प्रतिक्रिया दिनुहोस्