Logo
Logo
कविता

सिंहदरबारको सिंङ


जयराम आचार्य


  • जयराम आचार्य

सिंहदरबारको सिंङ भाँचिन्छ, त्यसरी-
जसरी जुद्दा भाँचिएको छ, साँढेको

श्रीहीन सिंहदरबार
यी फ्रोजन दिनहरुमा
कान्तिविहीन छ
त्यसैले सडकमा छ–
क्रान्तिको सौन्दर्य ।

यो सिंहजस्तो दरबार हो
जहाँ विवेक वर्जित छ
कानुन कहानी भएको छ
नियम बन्दुकको निगरानीमा छ ।

नागरिकलाई थाहा छ–
यी सिटामोल मौलिक होइनन्
सियो, सुन, नुन पनि होइनन्
चामल, चिनी, चना
यी अमौलिकहरुको सूचीमा
सरकार कसरी मौलिक हुन सक्छ ?

संरचना भत्काउन निस्केको सिंङ
सदृष भेडाको जस्तो छ
भेडा सामन्तको पदचाप
पछ्याइरहेछ
र, सिंहदरबार खोजिरहेछ
जनताको जिब्रो छेदन गर्ने छिद्र ।

सिंहदरबारको सिङ भाँचिन्छ, त्यसरी
जसरी जुद्दा भाँचिएको छ, साँढेको ।
०००

प्रतिक्रिया दिनुहोस्