Logo
Logo
कविता

घोडा दौड


घनेन्द्र ओझा


  • घनेन्द्र ओझा

लगामविहीन कालारराता घोडाहरू
फनफन्ती घुमिरहेछन्
शहर, गाउँ र वस्तीमा
विस्मयबोधले हेर्न अभिसप्त छन् मान्छेहरू
–घोडाको ताण्डव ।

कचक्क कुल्चिदिन्छ
बेलाबेला छातीमा
ऐठन गराउँछ– उकुसमुकुस पार्छ
ऐया, हुन्छ पीडा असह्य
कोकोहोलो– चिच्याहट
बुझ्दैन घोडा
अथवा
रुवाइको भयानकता थाहा छैन घोडालाई ।

लगामविहीन घोडाहरू
स्वतन्त्र छन्– बुर्कुसी मार्न
दगुर्न
जथाभावी चर्न ।

लगामविहीन घोडा
मान्दैन नियम
जान्दैन कानून
कुनै संविधानको धाराले बाँध्न सक्दैन घोडालाई ।
बजार्छ टाप
हुत्याउँछ लात्ती
हिन्हिनाउँदै उन्मुक्तिले
गर्वबोधले ढक्क फुल्छ
अर्काको छाती कुल्चेकोमा
अर्काको आँसुले
अर्काका चित्कारले
उन्नत सन्तुष्टि प्राप्त हुन्छ– घोडालाई ।
यस्तै देखिन्छ
घोडादौडमा ।
मेरो देशमा जारी छ घोडादौड
वर्षौदेखि ।
०००

प्रतिक्रिया दिनुहोस्