Logo
Logo
कविता

आधुनिक दासहरू तानाशाह हुर्काइरहन्छन्


सुमिना


  • सुमिना

तानाशाह विचारसँग डराउँछ
र, बन्ध्याकरण चाहन्छ उदयमान सोचहरूमा
तानाशाह चेतनासँग पनि डराउँछ
र प्रतिबन्ध लगाउँछ प्रश्नहरूमा !

तानाशाहलाई लगाव छ झुकेका आँखाहरूसँग
ऊ फगत त्रास दिन्छ, तर स्वयंम् भयभीत छ
युद्धको निम्ति तम्तयार आँखाहरूलाई
नेलको आकार बताउँछ, जेलको बाटो देखाउँछ ।

तानाशाह भन्छ–
ए भिडहरू हो ! ए दासहरू हो !
म चुट्किला सुनाउँछु, तिमीहरू मात्र हाँसि राख
सधैँ यसैगरी मेरो लयमा नाचिराख
दासहरू हाँसिरहन्छन्
दासहरू नाचिरहन्छन्

ऊ भन्छ–
तिमीहरू ताली बजाउ, तर मुठ्ठी नउठाऊ
मलाई उठेका मुठ्ठीहरू होइन, लत्रिएका हातहरू मन पर्छ
मलाई विद्रोही भाका होइन, भक्तिगान मन पर्छ
तिमीहरू मात्र अनुमोदन गर, नामन्जुर नगर
तिमीहरू मात्र स्वीकार गर, बहिष्कार नगर
दासहरू ताली बजाइरहन्छन्
दासहरू भक्तिगान गाइरहन्छन्
दासहरू अनुमोदन गरिरहन्छन्

दासहरूकै भिडमाथी दम्भले उभिएर
आफ्नो शक्तिको अहंकार गर्दै,
दासहरूकै फेहरिस्तमा झन् बलियो बनेर उभिन्छ तानाशाह ।

तानाशाह नियन्त्रण चाहन्छ, दासहरूको चेतनामाथि
शून्यता चाहन्छ दासहरूको मथिङ्गलमाथि ।
दासहरू भने सत्ता र शक्तिको लालचमा नतमस्तक बनिरहन्छन्
र उनीहरूमै निरन्तर बाँचिरहन्छ तानाशाह ।

किनकि आजका दासहरू स्पार्टाकस होइनन्
ग्लौडिएटर होइनन्
मात्र दास हुन् दास
आधुनिक दासहरू तानाशाह हुर्काइरहन्छन् ।
उनीहरू बिद्रोह गर्दैनन् ।
०००

प्रतिक्रिया दिनुहोस्