Logo
Logo
कविता

कुराको कुरा


नारायण नेपाल


  • नारायण नेपाल

अधिक मासको वर्ष
कति विस्मात् कति हर्ष
शिशिरमा वसन्तको स्पर्श
सबै धकेलिएका छन्
केही पक्ष पछि !
मानौँ भूकम्पले दिएको धक्का छ
सर्वसाधारणमा पर्ने असर पक्का छ
होली गर्मी पाकेपछि तैबरु ठिकै होला
छयहत्तरमा हुने पछिल्ला बिहे सतहत्तरमा सर्नु
घरजमका लागि जोडीहरू आनेकाने गर्नु
सोचकुमार अनि विचार कुमारीहरूले काम पाउनुशिवाय
आरामले योजना गर्नेहरू कपास हुँदा हुन् प्रायः
हुन चैँ हो तर केही होइन भन्थे माथ्लाघरे
कुरा बुझे मर्नु !

सत्ययुगको कुरो तथ्यपरक
अशल खराब लोकै फरक
त्रेता अरे एकै चरक
द्वापरसँगै एकै परिवारमा आएका छन्
गुण र अवगुण
मानौँ व्यक्ति स्वय् विभिन्न गुणको पोको छ
दुनियाँ बिर्सेंर आफू सम्झने व्यक्तिगत धोको छ
अनि देखापर्छ दलीय दलदल
तर एउटा दलको कुराले सारा जनताले दुःख पाउनु
कलियुगका क्रित्यहरू एकपछि आर्को सतहमा आउनु
गाला पड्काउनु पर्ने नेता
औँला पड्काएर गन्नुपर्ने बाध्यता
माननीय र विशिष्टताका च्याउले ढुकुटी हान्ने सभ्यता
कोखको घाउ भन्नुहुन्थ्यो खोल्साघरे बजै
अलि–अलि बुझ्दैछु म !

महामारीले खाएको बेला
शक्तिशालीका परियो फेला
जवानीको लीलाम नौटङ्कीको रेला
कुरो बाहिरिएको छ
अपराधजडित राजनीतिसँगै
नरमुण्ड घुम्न पाउने प्रजातन्त्रको युटोपिया
स्वतन्त्रता कुल्चने उपनिवेशको डिमेन्शिया
पाउरोटी बोकेर हामेर्का तिर पस्ताछन्
अनाहकमा गोरुजिब्राहरूमा तेल घस्ताछन्
गाईहरूको बिचल्ली पारिनु
बाच्छाबाच्छी ज्युँदै मारिनु
चन्द्रमाको खाल्टो पृथ्वीले पुर्ने रहस्य
बुझेको त छु नि !

खोइ के खोइ के !?

प्रतिक्रिया दिनुहोस्