Logo

जुलुसमा नआउनेहरुको जुलुस निस्के के हुन्छ ?


लक्ष्मण देवकोटा


सत्ता उन्माद र अहंकारको नग्न दृश्य बुटौलीमा पनि देखियो । भ्रष्टाचार हुन पनि दिन्न भन्ने कसम विष्णु पौडेलको नाकैमुनि फेरि पनि खाए खड्गप्रसाद ओलीले । कुनै बेला झोलामा सातु बोकेर मदन भण्डारीको भाषण सुन्न गएका पाल्पालीहरुले खड्गप्रसादका बुख्याँचाहरुलाई मञ्चमा सजाइएको दृश्य पनि देखेँ ।

सत्ताको ढलीमलीमा शंकर पोखरेलका झुठा भाषणहरु सुने । सब जितेर पनि उनीहरु फेरि तिलोत्तमा नगरका मेयरको घरमा रोइकराइ गर्न गएको दृश्य पनि देखे । सबै जितिएको छ त, जाबो एउटा मेयरको घरमा किन रोइकराइ गर्न जानू ए ओली ‘बा’ ?

पाल्पामा मेरा जिक्री छन् गुनाखर दर्जी । दर्जी जुलुसमा नगए लालपूर्जा पाइन्न भन्ने सरकारी हुकुमका कारण बुटवलको जुलुसमा गएका रहेछन् । भीड प्रदर्शन गर्ने प्रतिष्पर्धा र माधव–प्रचण्डको हुर्मत काढ्ने ध्याउन्नमा लागेको ओली गुटले एउटा कुरा भने बिर्सिएको छ, जुलुसमा आउनेहरुलाई त ओलीहरुले बुटवलको मञ्चबाट देखे । तर, जुलुसमा नआएकाहरुलाई देख्ने दूरदृष्टि उनीहरुसँग छ ? कहाँ छन् जुलुसमा नआएकाहरु ? बुझ्ने सामथ्र्य छ ?

छयालीसको आन्दोलनपूर्व नै बुटवल क्रान्तिकारीहरुको निम्ति क्रान्तिको पवित्र धाम हो । त्यहाँ मोहनविक्रम सिंहदेखि मदन भण्डारीसम्मको क्रान्तिको भावी गोरेटो हेर्न यो लेखक गएको थियो । किसान भएकै हुनाले बुटवलको हाटबजारमा तरकारी बेचेर क्रान्तिका कुरा सुन्न गएको थिएँ ।

सिद्धबाबाको ज्यानमारा बाटोमा मृत्युसँग छलिंदै मोदनाथ प्रश्रित, जीवराज आश्रित, माधवकुमार नेपालका कुरा सुन्न पटक–पटक बटौली गएको छ । मोहन वैद्य, प्रचण्डको सपनाको हाट थाप्न गएको छ । छयालीसको आन्दोलनपछि भूमिगतकालीन जीवन पाल्पामा बिताएका विष्णु पौडेललाई पाल्पाले जितायो । संसदमा पठायो ।

ज्यानमारा सिद्धबाबामा सुरुङका सपना सपनै भए । तर, पौडेलको जीवन फेरियो । उनी जस्ता धेरैको जीवन ०४६ सालपछि फेरियो । तर, जनता आज पनि सिद्धबाबाको ढुंगासँग छलिएर उनका कुरा सुन्न आइरहेका छन् ।

आउनैपर्यो, नआए सुकुम्वासी जग्गा नपाइने भय जो छ । सत्ताको लाल आतंकमा ओली गुट बटौलीको आमसभामा मान्छेका टाउका गनेर फेरि काठमाण्डू फर्किएका ओलीलाई लाग्छ, यो भीड नै सबथोक हो ।

के जननेता मदन भण्डारीले यसै सोचेका थिए ? के उनले यसैगरी भीडको शासन खोजेका थिए ? मदन भण्डारीको जनताको बहुदलीय जनवादको मर्म के यस्तै भीडन्त्र थियो ? कदाचित थिएन ।

मदनले जनताको जागरणको सपना देखेका थिए । जनताको वैचारिक नेतृत्व खोजका थिए । सहकर्मीहरुमाथि अपमानको विषको प्याला खन्याएर उनले देशमा क्रान्ति आउँछ भनेका थिएनन् । शंकर पोखरेल जस्ता जनताको बहुदलीय जनवादका वैचारिक व्याख्याता भनिएकाहरुले बुझुन्, सत्ताको अहम् र तुजुकमा जम्मा गरिएको भीडको कुनै अर्थ रहन्न ।

मार्क्सवादी चिन्तनबाट स्खलित भएर सत्ताको रापतापमा जम्मा गरिएको भीडले ओली त खुशी होलान् । तर, जो नेपालमा कम्युनिष्टहरुको समाजवादी शासन आएको देख्न चाहने जनताको सपनामा भने पहिरो गएको छ । उनीहरुको सपना सपनै भएको छ । विभाजनमा विजय देख्ने ओली अहंकारको सामु नैतिकताको पराजय भएको छ ।

जुलुस कसको कति थियो भन्ने होइन, विचार कसको सही र गलत भन्ने हो ? भन्ने इतिहासले हेक्का राख्नेछ । भीडको शासन गर्नेहरुले ख्याल राखुन्, जुलुसमा नजानेहरु पनि एकजुट भए भने फेरि अर्को महाजुलुस बन्नेछ । सत्ता त क्षणिक हो । मुख्य कुरा विचार हो ।

बटौली यही बजार हो, जहाँबाट धेरै युवा गोरखपुर हुँदै हातमुख जोड्न बम्बै पुग्थे पहिला । अहिले जुग फेरियो । उनीहरु भैरहवाबाट जहाज चढेर काठमाण्डू जाने भए । काठमाण्डू हुँदै अरबसम्म पुग्ने भए । युवक मात्रै होइन, युवती पनि विरहका गीत गाउँदै विदेश उड्ने भए ।

रेमिट्यान्सले धानिएको अर्थतन्त्रको जगमा उभिएर रेलका सपना देख्दै आज उनीहरु खाडीबाट ओलीका सपना सुन्न अभिषप्त छन् । हिजो उनै ओलीका भाषण सुन्न बुटवल जाने बहुसंख्यक मानिसहरु कहाँ छन् अहिले ? के कसैले हिसाब गरेको छ ? घर परिवार, साथीभाइ सब छोडेर विदेश उडेका कतिपय युवायुवती बाकसमा फर्किएर त्यही बटौलीको बाटो हुँदै अनन्त संसारमा विलिन भए ।

कतिपय पठित युरोप, अमेरिका, सिड्नीतिर हानिए । उनीहरुको पलायन रोक्न कुन चाहिं खड्गप्रसादले योजना ल्याएको छ ? यिनै खड्गप्रसादहरुको कुशासनको कारण ५०औं लाख युवा आज पनि विदेशिन बाध्य छन् । कागजमा धेरै योजना आउँछन् र कागजमै बजेट सकिएर फर्कन्छन् ती । पञ्चायत, बहुदल, गणतन्त्र सबैमा जो दमित र अपहेलित छन्, उनीहरुको अवस्थामा तात्विक फरक परेको छैन ।

इतिहासले तत्कालीन माओवादी र एमालेको एकता चाहेको थियो । तर, त्यो एकतामा खड्गप्रसादले बञ्चरो हाने । आफू जित्नकै निम्ति उनले एकताको नाट्य प्रदर्शन गरे । राजनीतिमा इमान पनि हुन्छ भन्ने कुरा उनले सत्तामा पुगेपछि बिर्सिए । देशभक्तिको आवरणमा आज उनी अहंकारी बनेर राज्यदोहन जुन गरिरहेकाछन्, यो इतिहासमा एउटा अपराधको रुपमा दर्ज हुनेछ ।

लामो राजनीतिक यात्रामा सँगै रहेका सहकर्मीमाथि विषवमन गरेर तेजोबध गर्ने, लोकप्रियतावादको नाममा पूर्वपञ्चहरु बरु स्वीकार्य हुने तर, क्रान्तिका निम्ति लडेका पूर्वमाओवादीहरु अस्वीकृत हुने, आफू र आफ्नो गुटले जे गरे पनि सातखत माफ हुने पूर्वाग्रही मानसिकताले ओली चलिरहेका छन् । जसले उनको पतन निम्त्याइरहेको छ ।

हो, अहिले ऊ सत्तामा छ । कतै सुकुम्वासी आयोगका नाममा भर्ती गरिएको छ, मिल्ने र हुनेसम्मलाई राज्यकोष दोहन गरेर विभिन्न आयोगको नाममा खुलेका भर्तिकेन्द्रमा पालित पोषित गरिएको छ । मानिसहरु सत्ताको प्रलोभनमा परेका छन् । तर, के यस्तै किसिमको राजनीतिको कल्पना गरेर पुष्पलालले पार्टी स्थापना गरेका हुन् ? किमार्थ होइन ।

अझ मदन भण्डारीले त पार्टीलाई बलियो बनाउन पाँचौं महाधिवेशनपछि राजीनामा दिएका प्रदीप नेपालहरुलाई समेत समेटेका थिए । असहमत कमरेडहरुको सम्मान गरेका थिए । सिपी मैनालीलाई संसद्को उपनेता चयन गरेका थिए ।

आफ्नै सहकर्मीमाथि भद्दा मजाक गरेर नाटक देखाइरहेका ओलीहरु कसरी मदन भण्डारी र पुष्पलालका अनुयायी हुनसक्छन् ? अनि उनको यो लहड र अहंकारको मूल्य चाहिं हामी जनताले तिरिरहनुपर्ने ? शंकर पोखरेल, ईश्वर पोखरेल, विष्णु पौडेलहरु जसले सत्ताको तर मारिरहेका छन्, उनीहरु जस्तैका कारण ओलीको दम्भ बढिरहेको छ ।

असहमतहरुमाथि दमन गर्न खोज्नु आफैमा घातक हुन्छ भन्ने कुरा त माओवादी जनयुद्धको दृष्टान्त नै हाम्रा अगाडि साक्षी छ । मदन भण्डारीको मूल मर्मपनि त्यही नै थियो, जसलाई उनले जबजको नाम दिए ।

असन्तुष्ट, असहमत मानिसहरुको पनि सम्मान गर्नुपर्छ भन्ने उनको मूल आशय थियो । तर अहँ, आफू र आफ्ना गुटका मानिसबाहेक अरु कसैको पनि सम्मान नगर्ने खड्गप्रसादहरुले नेपाली वामपन्थी आन्दोलनको विसर्जन गर्ने, एकीकृत मतलाई विभाजित गरेर आफ्नो स्वार्थसिद्धि गर्ने जुन बाटो लिएका छन्, यो कुनै पनि हालतमा ठीक होइन ।

जुलुस कसको कति थियो भन्ने होइन, विचार कसको सही र गलत भन्ने हो ? भन्ने इतिहासले हेक्का राख्नेछ । भीडको शासन गर्नेहरुले ख्याल राखुन्, जुलुसमा नजानेहरु पनि एकजुट भए भने फेरि अर्को महाजुलुस बन्नेछ । सत्ता त क्षणिक हो । मुख्य कुरा विचार हो ।

 

मदनपोखरा, पाल्पा

[email protected]

प्रतिक्रिया दिनुहोस्