Logo
Logo
पश्चिम सेती परियोजना

पश्चिम सेती परियोजनाको आशमा बितेको चार दशक


प्रदीपराज दाहाल


काठमाडौं । ४० वर्षदेखि सारा नेपालीले सुन्दै आएको परियोजना हो, पश्चिमी सेती परियोजना । परियोजना सम्पन्न भएपछि धनी बन्ने सपना देख्दै आएका धेरै दिवंगत भइसके, कति जीवनको उत्तरार्धमा छन् । तर, परियोजना भने ‘आकाशको फल आँखातरी मर ! कहिले सम्पन्न हुने हो अझै थाहा छैन ।

सन् १९८९ देखि चर्चा पाएको पश्चिम सेती परियोजना आजका मितिसम्म पनि अनिश्चित छ । नेपालीको उज्जवल भविष्यको कल्पना गरिएको यो परियोजना अघि बढ्न सकेकै छैन ।

वीरबहादुर चन्द, बैतडीको सिगास गाउँपालिकाका पूर्वप्रधानपञ्च हुन् । उमेरले ६५ पुगिसकेका छन् । उनले युवावस्थादेखि नै पश्चिम सेती जलविद्युत परियोजनाको चर्चा सुनेका थिए ।

त्यो समय पश्चिम सेती परियोजना निर्माण गर्ने भनेर ३ ठूला विदेशी कम्पनी फ्रान्सको सोग्रेह, अस्ट्रेलियाको स्मेक र य चिनियाँ कम्पनी थ्री गर्जेजसँग नेपाल सरकारले विभिन्न समय सम्झौता गर्यो ।

यी कम्पनीले झन्डै ४ दशक बढी बिताए । तर, निर्माण भने कसैले सुरु गर्न नसकेको चन्द सम्झन्छन् ।

पश्चिम सेतीको इतिहास

सन् १९८१ देखि पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण चर्चा सुरू भएको थियो । त्यति बेला फ्रान्सेली संस्था सोग्रेहले हालको आयोजना स्थलभन्दा ८ किलो मिटरमाथि जलाशय निर्माण नगरी बिजुली निकाल्ने योजना बनाएको थियो ।

१९८७ मा सोग्रेहले पुनः अध्ययन गरी ३ सय ६० मेगावाटको जलाशययुक्त आयोजनाको पहिचान गरेको थियो । ७ जुलाई १९९४ मा सरकारको विद्युत विकास केन्द्र र अष्ट्रेलियन बहुराष्ट्रिय कम्पनी स्मेकबीच समझदारीपत्रमा हस्ताक्षर भयो ।

११ मे १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाइड्रोबीच सम्झौतामा हस्ताक्षर भएपछि निर्माण हुने आस जाग्यो । २७ जुन १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाइड्रोबीच ७५० मेगावाट आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेताको भोट बैंक

पश्चिम सेती सुदूरपश्चिमका नेताका लागि भोट बैंक हो । निर्वाचनमा हरेक राजनीतिक दलका उम्मेदवारको मुखमा पश्चिम सेती जलविद्युतको नारा झुन्डिएकै हुन्छ । दलका नेताहरूले पश्चिम सेतीलाई भोट बैंक बनाए पनि निर्वाचन जितिसकेपछि चटक्कै बिर्सिन्छन् ।

करिब १ खर्ब ६० अर्ब रुपैयाँ लागतको बहुउद्देश्यीय आयोजनाबाट सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोलिने भएकाले पनि यसलाई राजनीतिक दलले वर्षौंदेखि प्रतिष्ठाको विषय बनाएका छन् । स्थानीयले समेत आश मारिसक्दा सुदूरपश्चिम पुग्ने बितिक्कै प्रधानमन्त्री केपी शर्मा ओली पटक–पटक परियोजना सम्पन्न हुने आश्वासन दिएर फर्कन्छन् । जसको निरन्तरता सोमबार कञ्चनपुर पुगेर पनि दिए ।

सोमबार कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले पश्चिम सेतीको कुरा कोट्याउन भ्याए । बिर्से नै हुन्थ्यो गरिरहेका उनीहरूका लागि प्रधानमन्त्रीले फेरि एकपटक यही विषयलाई कोट्याइदिएर जिस्काएका छन् ।

कञ्चनपुरको वेदकोट नगरपालिकामा ‘दैजी छेला औद्योगिक क्षेत्र’को शिलान्यास गर्न पुगेका प्रधानमन्त्री ओलीले भाषणका क्रममा पश्चिम सेती जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गरिने दाबी गर्दै छिट्टै काम अघि बढाउने आश्वासन दिए ।

परियोजनासँगै अन्य विकास पनि रोकियो

पश्चिम सेती बन्ने भनिएको ठाउँमा विकास निर्माण गर्न खोज्नेको संख्या धेरै छ । तर, काम सुरु भयो भने सबै लगानी डुब्ने डरले कोही तयार छैनन् ।

पश्चिम सेती बन्ने आसपासका क्षेत्र डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं ४ र ५, बैतडीको सिगास गाउँपालिका ढुङगाड, डोटीको आदर्श गाउँपालिका र बझाङका केही गाउँमा अहिलेसम्म विकास हुन नसकेको छैन ।

गाउँमा विकास नहुँदा स्थानीयलाई निकै सकस हुन थालेको छ । पश्चिम सेती बने निर्माण भएका विकास निर्माणका काममा अवरोध हुने तथा नवदुर्गा गाउँपालिकाको लगानीसमेत खेर जाने भन्दै गाउँमा विकास निर्माण रोकिएको छ ।

नेपालमा बन्ने धेरैवटा जलाशययुक्त आयोजनामध्ये पश्चिम सेती निकै राम्रो जलाशययुक्त आयोजना ठहरिएको छ । तर, विदेशीहरुले पनि बनाउने अवस्था नरहेको र नेपालले पनि बनाउन कोशिश गरेर अगाडि बढ्न सकिरहेको छैन ।

परियोजनाबाट चिनियाँ कम्पनी बाहिरिएसँगै प्रभावित क्षेत्रका बासिन्दा पश्चिम सेतीले तीन पुस्ताको जीवन बर्बाद पारेको हिसाब किताब गर्दै दिन बिताइरहेका छन् ।

स्थानीयले आश्वासन पाएको लामो समय भइसक्यो । उनीहरू जबसम्म काम अघि बढ्दैन तबसम्म यो परियोजा बन्छ भनेर विश्वस्त भएसम्म भोट बैंक मात्र बन्न नसक्ने बताउँन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्