Logo
Logo
टिप्पणी

लाज छोप्ने टालो खोज्दै सुवास नेम्वाङ


मिलन लिम्बू


 

सुवास अर्थात् मिठो सुगन्ध । शालीन व्यक्तित्वका धनी सुवास नेम्वाङको नम्र बोलीले साँच्चै नै जनताकाे मनमा सुगन्ध । उनको शालीन व्यक्तित्व र प्रस्तुतिले सबैको मन जित्थ्यो । पटक-पटक सभामुख भएका सुवास नेम्वाङकाे यही बानी व्यहाेराले सार्वभाैम संसद्को समेत गरिमा बढाएको थियो ।

उनले सभामुख हुँदा पदीय मर्यादा खस्कन दिएनन् । संविधानसभाबाट संविधान जारी गर्न सफल उनै  नेम्वाङ संविधान संकटमा पर्दा भने उल्टो बोल्दै हिँड्न थाले । उनको उल्टो बोलीले न्याय क्षेत्रमा काम गर्नेहरु छक्क परे ।

उनकाे उल्टो बोलीले उनी आफैँ लज्जित हुनुपरेको कुरा उनकै मुखबाट सुनिन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् भंग गरेपछि उनी धर्मसंकटमा परे । नेकपा संसदीय दलका उपनेतासमेत बनेका उनले अहिले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्न थालेका छन् ।

प्रायः बालुवाटारमै दिनरात बिताउने सुवासले अहिले भनेका कुरामा प्रधानमन्त्रीलाई त्यतिबेलै सम्झाउन सकेको भए प्रधानमन्त्री र उनी स्वयं आजको लाजमर्दो अवस्थामा पुग्ने थिएनन् । ओलीले सुवासका हरेक कुरा ध्यान दिएर सुन्छन् । त्यसैले उनले भनेझैँ उनको कुरा पत्याइहाल्न सकिन्न ।

किनभने, वैशाखमा अध्यादेश ल्याएर पार्टी फोड्नेसम्मको षड्यन्त्रमा सामेल सुवासले प्रधानमन्त्रीलाई संसद् विघटन असंवैधानिक हो भनेर सुझाव दिएको कुरा कसरी पत्याउने ? कि त उनले प्रधानमन्त्रीको कदमको पुस ५ गते नै विरोध गरेको भए, जनताले पत्याउँथे । तर, सर्वाेच्चकाे बाेलीमा लाेली मिलाउँदै मैले त्यति बेलै प्रधानमन्त्रीलाई याे असंवैधानिक कदम हुन्छ भनेर भनेकाे थिएँ भन्नु… पछि दैलाे देखे भने जस्तै हाे ।

सुवास नेम्वाङबारे केही लेख्नुभन्दा पहिला उनको निर्वाचन क्षेत्रमा पर्ने इभाङमा प्रचलित एक उक्ति चर्चा गरौँ, ।

‘सुचने मुसुक्क, विकास भुसुक्क ’

सुचनेको अर्थ ‘सुवास चन्द्र नेम्वाङ’ । उनी मुसुक्क हाँस्छन् । र, भोट माग्छन् । उनको मुस्कानमा इभाङ्गे मख्ख पर्छन् र भोट हाल्छन् । बुढापाका अझै भन्छन्– ‘सुवास नेम्बाङ सारै हँसिलो छ, भोट उसैलाई दिने हो ।’ तर, अहिलेसम्म इभाङमा विकास भने भुसुक्क ! त्यसैले त उक्ति नै बन्यो, ‘सुचने मुसुक्क, विकास भुसुक्क’ । सुवासले जति पटक चुनाव जिते, इलाम क्षेत्र नम्बर २ बाटै जिते, इभाङ हाल माङसेवुङ गाउँपालिकामा पर्छ ।

कम्युनिष्ट आर्दश रत्नकुमार वान्तावाले सहादत प्राप्त गरेको इभाङमा पछिल्लो निर्वाचन परिवेशमा ‘सुचने धपाउ’ अभियान नै चलेको थियो । सधैँ, अग्रगमन चाहने इभाङगेसामु अबका दिनमा सुचनेले मुख छोप्नुपर्ने दिन आएको छ ।

नेम्वाङको पछिल्लो रुप, जसले लाज छोप्न टालो खोज्नुपर्ने दिन आयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि असंवैधानिक कदम भन्दै चर्को आलोचना भयो ।

आलोचनाकै क्रममा ओलीको विश्वासपात्र नेम्वाङको प्रतिकृया अधिक खोजियो । प्रधानमन्त्रीको असंवैधानिक कदमबारे विधि, विधान र कानूनको मन्त्र जपेर नथाक्ने नेम्वाङको प्रतिक्रिया आम नागरिकले चाहनु गलत थिएन । ‘सम्मानित सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट प्रतिकृया दिन्छु’ उनले बोलेको यति नै हो ।

यसैबीच संविधान लेखनक्रममा नेम्वाङले धुलिखेलको एक कार्यक्रममा बोलेको भिडियो रेकर्ड सार्वजनिक भयो । उक्त भिडियोमा नेम्वाङले दिएको अभिव्यक्तिको सार यस्तो छ, ‘हामीले बनाउन खोजेको संविधानले प्रधानमन्त्रीलाई मन लागेको बेला संसद विघटन गर्न दिँदैन । राजनीतिक स्थायित्वका लागि संविधानमै यो व्यवस्था राख्न खोजिएको हो ।’

उक्त भिडियो सार्वजनिक भएपछि नेम्वाङ झनै अप्ठ्यारोमा परे । किनकि, जुन संविधानसभाले संविधान बनायो, त्यो संविधानसभाको अध्यक्ष नेम्वाङ नैै हुन् । अहिलेसम्म पनि संविधानसभाको अध्यक्ष, कहिले निवर्तमान वा पूर्व हुँदैन भन्दै नेम्वाङ सिंहदरबारभित्र सरकारी खर्चमा कार्यालय चलाइरहेका छन् ।

ओलीको कदम ‘प्रतिगमनको छेउछाउ पनि होइन’ भन्दै कराउने नेम्वाङ आज ‘मैले जे भनेको थिएँ, सर्वोच्चको फैसला सोही बमोजिम आयो’ भन्दै कुर्लेको सुन्दा रमाइलो लाग्छ । यो भन्दा काइते दावी अरु के हुन सक्छ ?

सुवास नेम्वाङ नेता, संविधानसभाका अध्यक्ष वा सांसदमात्र होइनन् । उनलाई संविधानविद्को रुपमा समेत हेरिन्छ । उनी विश्वका संविधान र कानूनबारे राम्रो जानकारी राख्छन् । तर, प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको मतियार हुन किन तयार भएका होलान् ?

वर्तमान संविधानको केस्राकेस्रा थाहा भएका व्यक्ति कसरी संविधानविपरित काम हुँदा संविधान समाप्त पार्न तयार भए ? शालीन प्रस्तुतिबाट दुनियाँलाई मख्ख बनाउने नेम्वाङप्रति यस्तै प्रश्न थिए ।

त्यतिबेला ओलीको कदम ठिक भन्ने नेम्वाङले कबोल अनुसार प्रतिनिधिसभा विघटन बदर भएको भोलिपल्ट प्रतिक्रिया दिएका छन् । तर त्यो पनि ‘काइते’ प्रतिक्रिया । उनले भनेका छन्– ‘मैले जे कुरा भनेको थिएँ, त्यो कुरा स्थापित भएको छ ।’

नेम्वाङको प्रतिकृयाको सार यस्तो हुन्छ, ‘मैले प्रधानमन्त्रीलाई यो कदम असंवैधानिक हो, सर्वोच्चले बदर गर्छ र गर्नुपर्छ भनेर सुझाव दिएको थिए, आज त्यही भयो !’ उनले यसै भन्न खोजेका हुन् । हिजो प्रतिगमनको मतियार बन्ने, आज बेठिक थियो भनेको थिएँ भनेर तर्क गर्नेलाई लोकले ‘काइते’बाहेक अरु उपमा दिदैन ।

फागुन ८ गते विराटनगरमा सरकारवादी सभालाई सम्बोधन गर्दैै नेम्वाङले बोलेको विषयले प्रधानमन्त्रीको कदमबारे उनको मनमा के थियो भन्नेबारे प्रस्ट हुन्छ । नेम्वाङले भनेका थिए–

‘चर्चा हुने गर्छ, देशमा प्रतिगमन भयो । म तपाईँहरुलाई छोटकरीमा, एकदम प्रस्ट शब्दमा आग्रह गर्न चाहन्छु । प्रतिगमनको छेउछाउ पनि होइन । यो सब हल्ला हो । यो सब चर्चा हो । भ्रम हो । यसको कुनै आधार छैन । प्रधानमन्त्री र प्रधानमन्त्रीको कदमप्रति २०० प्रतिशत विश्वस्त छु ।’

ओलीको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्चले त्यसविरुद्ध फैसला गरेको तीन दिन अगाडि विराटनगरमा मच्चिमच्चि ‘प्रतिगमनको छेउछाउ पनि होइन’ भन्दै कराउने नेम्वाङ आज ‘मैले जे भनेको थिएँ, सर्वोच्चको फैसला सोही बमोजिम आयो’ भन्दै कुर्लेको सुन्दा रमाइलो लाग्छ । यो भन्दा काइते दावी अरु के हुन सक्छ ?

लाज छोप्ने टालो खोज्दै नेम्वाङ
ओलीको कदम प्रतिगमनको छेउछाउ पनि होइन भन्ने नेम्वाङ लाज छोप्ने टालो खोज्दैछन् । उनी भन्छन्– ‘सर्वोच्च अदालतको व्याख्या संविधानको हकमा भयो । रेकर्ड बिग्रेको होइन, रेकर्ड राम्रो बनेको छ ।’

असंवैधानिक कदमको मतियार बन्दासम्म संविधान संकटमा परेको थाहा नपाउने, जनताको आन्दोलनले घाटबाट संविधान फर्काएपछि संविधानको हकमा निर्णय भयो भन्नु काइते कुरा हो ।

नेम्वाङ भन्छन्– ‘रेकर्ड बिग्रेको होइन, रेकर्ड राम्रो बनेको छ ।’ नेम्वाङलाई बिग्रन लागेको त थाहा रहेछ । तर, थाहा हुँदाहुँदै मतियार बनेपछि लाज छोप्न ‘सर्वोच्चको फैसला राम्रो रेकर्ड हो’ भन्न परेको छ ।

प्रतिक्रिया दिनुहोस्