Logo
Logo

खुवालुङ भत्काउने ओलीको भनाइविरुद्ध विद्यार्थी र युवा आन्दोलित


दृष्टि संवाददाता


दमक । किरात सभ्यताको धरोहर खुवालुङ भत्काउने प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध झापाका युवा र विद्यार्थी आन्दोलित बनेका छन् ।

ओलीको गृहनगर दमकमा बुधबार खुवालुङ अतिक्रमणविरुद्ध किरात राई विध्यार्थी संघ झापा र किरात राई लेखक संघ झापाले संयुक्त विरोध गरेका हुन् ।

विरोध कार्यक्रममा एक्यवद्धता जनाउँदै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सङ्घीय सचिव कमन देवानले किरात पहिचान, सभ्यता र संस्कृति मास्ने केपी ओली नेतृत्वको सरकारको उल्टो दिनगन्ती सुरु  भइसकेकाे बताए ।

उनले भने, ‘किरात सभ्यता नामेट पार्ने ओली वा अरु जुनसुकै सरकारको प्रतिगामी निर्णयको विरुद्धमा निरन्तर संघर्ष गर्ने छौं ।’
नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका केन्द्रीय प्रतिनिधि साङ्सेन पन्दाकले मुन्धुमी आस्थामाथि राज्यको गिद्दे दृष्टि हिन्दू अतिवादको धंधंगी भएको टिप्पणी गरे । उनले युवा पुस्ताले सबै खाले प्रतिगमन विरुद्ध लडिरहनु पर्ने जिकिर गरे ।

किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष सुनिल हाताचोले किरात सभ्यतामाथि जानाजान प्रहार गर्न खोजेर ओलीले जातीय युद्ध निम्त्याउन खोजेको आरोप लगाए ।

किरात राई लेखक संघ झापा अध्यक्ष जितेन राईले विरोध कार्यक्रममा ऐक्यवद्धता जनाइदिने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।

गत फागुन ८ गते शनिबार बिराटनगरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले सप्तकोशीमा स्टिमर बोट सन्चालनमा खुवालुङ ढुङ्गाले बाधा उत्पन्न गरेको भन्दै क्रेन लगाएर भत्काइदिने भनेका थिए ।

किराती मुन्धुम अनुसार खुवालुङ पवित्र ढुङ्गा र प्रवेशद्वार मानिन्छ । ओलीको सो भाषण लगत्तै अभियान्ताहरुले खुवालुङ बचाऊ अभियान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्