Logo
Logo

निर्मला पन्तका हत्यारा : घुमीफिरी रुम्जाटार ?


- दृष्टि न्युज/संवाददाता


२१ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनासम्बन्धी अनुसन्धानमा लापरवाही भइरहेको समाचार अनलाइनखबरले भदौ ८ गते प्रकाशित गरेको थियो । कहाँ लुके निर्मलाका हत्यारा ? भीआइपीमाथि स्थानीयको शंका शीर्षकमा प्रकाशित उक्त समाचारपछि बल्ल राज्यले अनुसन्धानमा तदरुकता देखायो ।

घटना भएको एक महिनापछि भदौ ९ गते बिहान बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्यो । कञ्चनपुरका एसपीलाई निलम्बन गर्ने निर्णय भयो । सिडियो, डीएसपीहरु नयाँ पठाइयो । निर्मला होमवर्क गर्न गएको घरबाट बम दिदीबहिनीलाई पक्राउ गर्न गृहमन्त्रालयले जिल्लालाई निर्देशन दियो । तत्कालीन एसपीका छोरा र भीमदत्तका मेयरका भतिजलाई पनि अनुसन्धानको दायरामा ल्याउने निर्णय गृह प्रशासनले गर्‍याे ।

घटनामा एसपीका छोरा, मेयरका भतिज वा बम दिदीबहिनीहरुको कुनै संलग्नता छ कि छैन भन्ने कुरा प्रहरी अनुसन्धानपछिमात्रै खुल्ने विषय हो । उनीहरुलाई अहिले नै दोषी भनेर आरोप लगाउन मिल्दैन । तर, जुन घरबाट निर्मला पन्त हराइन्, सोही घरबाट अनुसन्धान सुरु हुनुपर्छ र शंका लागेका जति सबैमाथि अनुसन्धान हुनुपर्छ भन्ने स्थानीयबासीको भावना थियो । उनीहरुको आन्दोलनको आवाज पनि त्यही नै थियो ।

पीडित परिवार र स्थानीयवासीको आवाजलाई कञ्चनपुर प्रहरी प्रशासनले तीन हप्तासम्म गोलीले दबाउने प्रयास गर्‍याे । २४ दिनसम्म पनि पीडितको भावनालाई राज्यले कदर नगरेपछि अनलाइनखबरले स्थानीयबासीहरुको दबिएको सोही आवाजलाई भदौ ८ गते खोजमूलक ढंगबाट बाहिर ल्याउने प्रयास गरेको थियो ।

परिणामस्वरुप अहिलेसम्म आइपुग्दा घटनाक्रम धेरै अगाडि बढिसकेको छ । बम दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कञ्चनपुर प्रहरीले स्थानीयबाट आशंका गरिएका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्तका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग पनि सोमबार र मंगलबार वयान लिएको छ ।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानको विषयमा भएकाे प्रदर्शन ।

पीडित परिवार र स्थानीयवासीले बम र विष्टहरुमाथि आशंका गरेपछि प्रहरीबाट उनीहरुमाथि सोधपुछ गरिएको हो । तर, उनीहरुको वयानपछि घटनामा संलग्नता पुष्टि गर्ने आधार नभेटिएको प्रहरीको भनाइ छ । एसपीका छोरा र मेयरका भतिजको जस्तै प्रहरी नियन्त्रणमा रहेका बम दिदीबहिनीबाट पनि घटनामा संलग्नता अहिलेसम्म नभेटिएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।

घुमीफिरी रुम्जाटार ?

अन्ततः अहिलेसम्म आइपुग्दा प्रहरीको ध्यान फेरि मानसिक सन्तुलन गुमाएका भनिएका दिलिपसिंह विष्टतिर नै मोडिन थालेको छ । बम दिदीबहिनी, एसपीका छोरा र मेयरका भतिजमाथि शंका गर्ने आधार नभेटिएको भन्दै प्रहरीको नजर दिलिपसिंहतिर सोझिएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले घटनाको अनुसन्धान थालेको २६ औं दिनमा भीमदत्त नगरपालिका–१९, बागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर, स्थानीयले विष्ट मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको र घटनामा उनको संलग्नता नभएको आरोप लगाउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एकजना बालकको मृत्युसमेत भयो ।

सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति गठन गर्‍याे । अहिले सो उच्चस्तरीय समितिले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । (थप समाचार)

सुरुमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी नेतृत्वको टोलीले समेत प्राविधिक सहयोग गरेको थियो । स्थानीयको विरोधपछि अहिले वरिष्ठ उपरीक्षक (एसएसपी) नेतृत्वमा सीआइबीको टोली कञ्चनपुर खटिएको छ ।

एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा डीएसपी कमल थापा र दुई जुनियर प्रहरी अधिकृतसहित गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा घटनाको सुक्ष्म अध्ययन, विश्लेषण र अनुसन्धान गरिरहेको छ ।

सूत्रहरुका अनुसार प्रहरीको नयाँ अनुसन्धान टोलीले गरेको अनुसन्धानको प्रमाणले पनि मानसिक सन्तुलन गुमेका भनिएका दिलिपसिंह विष्टतर्फ नै संकेत गरेको छ । त्यसैले यो घटनामा निर्मलाका हत्यारा अरु नयाँ व्यक्ति फेला नपर्ने र घुमीफिरी रुम्जाटार भनेजस्तो पुरानै व्यक्ति दोषी ठहरिन सक्ने प्रहरी अनुमान छ ।

प्रहरीबाट यसअघि सार्वजनिक गरिएका र उपचारका लागि काठमाडौं ल्याइएका दिलिपसिंह विष्टको डीएनए परीक्षण गर्ने र त्यसको रिपोर्ट आएपछि सत्य कुरा छर्लङ्ग हुने प्रहरी अधिकारीहरुले विश्वास गरेका छन् ।

मानसिक सन्तुलन गुमाएको व्यक्तिसमेत बलात्कार र हत्याको घटनामा संलग्न हुन सक्छ भन्ने प्रहरी अधिकारीहरुको दाबी छ ।

मानसिक अवस्था ठीक नभएको मानिस पनि बलात्कारका घटनामा संलग्न हुने गरेको उदाहरण पेश गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनलाइनखबरसँग भनेका छन्– ‘रौतहटमा त्यस्तैखालको (मानसिक सन्तुलन गुमाएको) मान्छेले तीनपटकसम्म सिरियल रेप गरेको घटनाले देखाउँछ । बारामा त्यस्तै भयो । मगज अलि डिस्अर्डर टाइपको मान्छेले बलात्कार गरेको घटना आयो । त्यसर्थ ‘यसले गर्छ र यस्तो ?’ भन्ने कुराको अनुमान गर्नुभन्दा पनि कसले गर्‍याे, त्यो कुरामा जान जरुरी छ ।’

हुन त स्थानीयवासीरुले दिलिपसिंह विष्ट निर्मलाको हत्यारा हुन नसक्ने र दोषी अरु नै हुन सक्ने आशंका जनाइरहेका छन् । तर, को अपराधी हो र को होइन भन्ने कुरा बाहिरका मान्छेले भन्न नमिल्ने बताउँदै आइजी खनाल भन्छन्– ‘अनुसन्धान गर्न कानूनले हामीलाई समय दिएको छ, त्यो टाइम त हामीलाई दिनुपर्‍याे नि । बाहिरकाले यो हैन, यो हो भन्न मिल्ला त ?’ (हेर्नुहोस् खनालसँगको अन्तरवार्ता)

निर्मलाको सुरुवालदेखि प्रहरीको कुकुरसम्म !

दिलिपसिंह विष्टको ‘डीएनए’ परीक्षण गर्ने भन्नुको अर्थ वारदात स्थल वरपर वा निर्मलाको शवसँगै फेला परेका चिजवस्तुसँग विष्टको डीएनए भिडाएर हेर्ने हो । जस्तो– घटनास्थलमा अपराधीले खसाएको रौं वा वीर्य आदिलाई नमूनाका रुपमा लिएर शंकास्पद व्यक्तिको डीएनएसँग ‘म्याच’ गराउँदा मेल खायो भने सोही आधारमा दोषी हो वा होइन भनेर ठम्याउन सजिलो हुन्छ ।

डीएनए जाँच गर्दा डाक्टरहरुको र प्रहरीको कुनै मिलेमतो छैन भन्ने विश्वसनीय आधार दिन सक्नुपर्छ । डीएनएको मेडिकल रिपोर्ट तथ्यपरक एवं विश्वसनीय ढंगबाट आउनु जरुरी हुन्छ अपराध अनुसन्धानमा । अन्यथा, डीएनएको हवाला दिएर घटना सामसुम हुन सक्ने खतरा पनि रहन्छ । तर, सही ढंगले डीएनए जाँच गराइयो भने दिलिपसिंहले नै यस्तो अपराध गरेको रहेछ भने त्यो प्रमाणित हुन सक्छ । वा, उनी निर्दोष ठहरिए भने अनुसन्धान अरुतिर सोझिन्छ । तर, यो दुबै स्थिति डीएनए परीक्षणपछि नै थाहा हुने विषय हो ।

तर, यहाँ अर्को एउटा जटिल प्रशन के छ भने उखुबारीको धमिलो पानीमा आधाउधी डुबेको निर्मलाको अर्धनग्न शव प्रहरीले बरामद गर्दा उनको सुरुवाल पखालेको भिडियोसमेत यसअघि सार्वजनिक भैसकेको छ ।

हुन त सिभिल पोशाकमा रहेकी महिला प्रहरीले निर्मलाको सुरुवाल प्रमाण नष्ट गर्ने उद्देश्यले पखालेको देखिन्न । त्यहाँ शवको गुप्ताङ्ग ढाक्ने अन्य चिज नभेटिपछि छेउमा रहेका प्रहरी नायव निरीक्षकले शवको अंग ढाक्न संकेत गर्दा महिला प्रहरीले हिलाम्मे सुरुवाल उठाउँछिन् र धमिलो पानीमा चोपलेर पखाल्छिन् ।

यसमा अनुसन्धानकर्ता प्रहरीको नियत नै धमिलो नहोला, तर हत्या भएको स्थानमा भेटिएको सुरुवाललाई त्यसरी पखाल्नुको साटो प्रमाणका रुपमा सुरक्षित गरिएको भए त्यसमा बलात्कारीको वीर्य वा रौं आदि फेला पार्न सकिन्थ्यो । अनि त्यही आधारमा डीएनए वा अन्य परीक्षणका लागि सजिलो पर्ने थियो । तर, यसमा प्रहरी टोलीको अपरिपक्वता झल्किएको छ ।

भलै, प्रहरीले त्यसरी सुरुवाल पखालेको स्थितिमा पनि अहिले डीएनए परीक्षणका लागि घटनमास्थलमा अपराधीले छाडेका कुनै चिजवस्तु फेला पारेको र सुरक्षित राखेको रहेछ भने त्यो राम्रो कुरो हो ।

यसैवीच निर्मला पन्तको हत्या प्रकरणबारे चर्चा गर्दा प्रदेश नम्बर ७ मा रहेको नेपाल प्रहरीको कुकुर शाखामाथि पनि प्रश्न उठेको छ । नेपाल प्रहरीले प्रदेश ७ मा कुकुर शाखा त खोलेको छ, तर त्यहाँ रहेका कुकुरलाई मासुभात खुवाएर मात्रै पालिएको छ । यस्ता गम्भीर अपराधका घटनामा कुकुरको प्रयोग गर्ने गरिएको छैन ।

नेपाल प्रहरीले प्रदेश ७ को कुकुर शाखालाई निर्मलाको हत्यास्थल किन प्रयोग गरेन ? यो प्रश्न पनि अहिलेसम्म निरुत्तरित नै छ ।

अपराध अनुसन्धानमा सघाउ पुर्‍याउने उद्देश्यले प्रदेश ७ मा स्थापना गरिएको डग क्यानल प्रयोगमा नल्याइँदा पनि अपराधी पत्ता लगाउन थप जटिलता भएको हो ।

गत वर्ष फागुन १७ गते संघीय प्रहरी ईकाई कार्यालयमा स्थापना गरिएको डग क्यानलको उद्घाटन गर्दै तत्कालीन एआइजी माधव नेपालले अब अपराधी लुकेर बस्न नसक्ने बताएका थिए । उनले तालिम प्राप्त कुकुरहरुका कारण जस्तोसुकै अपराधी पनि अब कानुनको कठघरामा आउने ठोकुवा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्