Logo
Logo

‘कसैले हराइन् भन्दा चित्त दुख्दोरहेछ’


नवीन राई


काठमाडौं । उनी पहिले पनि गाउँथिन् । किचन र बाथरुममा गाउने उनलाई बानी थियो । उनी स्कुलमा पनि गाउँथिन् । तर, उनीसँग गायिका बन्ने सपना थिएन, न त यसको भविष्यबारे नै सोचेकी थिइन् । तर, गुनगुनाउनचाहिँ छाडिनन् । स्वर र ताल उही । तर, फेरिएको छ उनको समय ।

उनी अर्थात सज्जा चौलागाईं । हिजोसम्म सज्जा आफ्ना साथीसंगी र आफन्तमा मात्रै परिचित थिइन् । अहिले दुनियाँसामु चिनिन्छिन् । नेपाल आइडल सिजन–३ विजेता बनेसँगै सज्जा र नेपाल आइडल पर्यायवाची जस्तै बन्यो ।

मोरङ पथरीकी सज्जालाई सानैबाट गीतसंगीत खूब मनपर्थ्याे । तर, सांगीतिक क्षेत्रमै केही गर्छु भन्ने उनलाई फिटिक्कै लागेको थिएन । कक्षा ८ मा पढ्दा पढ्दै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् उनी । स्कुलको प्रतियोगितामा पहिलोपटक भाग लिँदा विजेता बनेपछि मात्रै आफूसँग गाउने कला रहेछ भन्ने उनले थाहा पाए ।

स्कुल प्रतियोगितामा विजेता बनिसकेपछि सबैले सज्जाको प्रशंसा गरेका थिए । तर, उनलाई भने विश्वास नै लागेको थिएन, म पनि राम्रो गाउन सक्छु भन्ने । विजेता बनेपछि उनीमा बल्ल आशा पलायो, ‘म पनि गाउन सक्छु कि क्या हो !’

उनको सपना थियो, फेसन डिजाइनर बन्ने । तर, उनलाई गीतसंगीतले पछ्याइरह्यो । २०७२ बाट सांगीतिक क्षेत्रमा केही गर्छु भनेरै लागि परिन् । तर, उनी आफाैँलाई थाहा छैन ‘गायिका बन्छु भन्ने सपनाचाहिँ कसरी पलायो ?’

संगीत सञ्जाको एउटा पाटो बनेको छ । तर, अझैपनि डिजाइनर बन्ने सपनाचाहिँ मरिसकेको छैन । उनी भन्छिन्, ‘सायद अब डिजाइनिङको क्लास जोइन गर्छु ।’ उनले संगीतको औपचारिक शिक्षा भने एक दिनमात्रै लिएकी छन् । सज्जा भन्छिन्, ‘अरुको गीत सुन्दासुन्दै, गाउँदागाउँदै सिकियो । संगीत सिक्न गएको पनि थिएँ । एकदमै टाढा थियो । दुईवटा गाडी परिवर्तन गरेर जानुपथ्र्यो । नजिकतिर पनि नखोजेको/नभेटेको त होइन तर आफूले भनेजस्तो थिएन ।’

सिजन वानको अडिसनमा पनि उनी गएकी थिइन् । तर, छनोटमै परिनन् । सिजन वानमा छनोट नभएपछि अब जान्न भनेर बसेकी थिइन् । सिजन तीनको अडिसनमा आफूलाई संयोगले नै पुर्‍याएको सज्जा बताउँछिन् । त्यही संयोगले उनलाई उपाधि दिलायो र दुनियाँमा चिनिइन् ।

आइडलमा जानुअघि उनले ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा लाइभ गीत गाउने गर्थिन् । उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो । कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो ।

१२ कक्षा पास गरेपछि विदेश जान एप्लाई गरिन् । ‘स्टुडेन्ट भिजा’मा तीनवटा देश एप्लाई गरिन् । तर, कुनै देशले पत्याएन ! सज्जाले नेपालमा पनि आफ्नो पढाइअनुसारको काम पाइनन् । त्यसपछि ‘वर्किङ भिजा’मै माल्टाको लागि एप्लाई गरिन् ।

त्यहीबेला आइडल सिजन तीनको अडिसन खुल्यो । सिजन वानको अडिसनमा पनि उनी गएकी थिइन् । तर, छनोटमै परिनन् । सिजन वानमा छनोट नभएपछि अब जान्न भनेर बसेकी थिइन् । सिजन तीनको अडिसनमा आफूलाई संयोगले नै पुर्याएको सज्जा बताउँछिन् । त्यही संयोगले उनलाई उपाधि दिलायो र दुनियाँमा चिनिइन् ।

आफ्नो करिअरको पहिलो खुड्किला नै नेपाल आइडल भएको सज्जा बताउँछिन् । वास्तविक संघर्षचाहिँ अब गर्नुपर्ने उनको ठहर छ । आइडलको उपाधिले त्यति ठूलो परिवर्तन नआएको उनी बताउँछिन् । भन्छन्, ‘आइडल हुनअघि म जस्ती थिएँ, अहिले पनि त्यस्तै छु । फरक भनेको पहिला थोरैले चिन्नुहुन्थ्यो, अहिले नेपालभरिकाले चिन्नुहुन्छ । त्यति मात्रै हो । संघर्ष भने उस्तै छ ।’

आइडलले थप जिम्मेवार बनाएको बताउँदै उनले थपिन्, ‘पहिला सांगीतिक क्षेत्रमा मेरो केही जिम्मेवारी थिएन । अहिले जिम्मेवारी थपिएको छ । आइडल बनिसकेपछि मान्छेहरूमा म प्रति एउटा आश छ । त्यो आशलाई पूरा गर्ने प्रयासमा छु ।’ उपाधि जितेपछि झनै चुनौतीहरू थपिएको सज्जा बताउँछिन् ।

‘रियालिटी शो’का टाइटल होल्डरहरूले टाइटलको इज्जत राम्रोसँग धान्न नसकेको उनी स्वीकार गर्छिन् । ‘विजेताहरूको संघर्ष उनीहरूलाई मात्रै थाहा हुन्छ । बाहिरबाट सबैले राम्रो देख्छन् तर भित्रिरुपमा कसैलाई पनि थाहा हुँदैन,’ उनी भन्छिन्, ‘मैले टाइटल जितेको पनि छ महिना भइसक्यो । मलाई लाग्छ– ‘अहिलेसम्म मेरो एउटा पनि गतिलो गीत आएको छैन । आफ्नै गीत निकाल्न गाह्रो भइरहेको छ । अरु विजेताहरूलाई पनि मलाई जस्तै भएको थियो होला ।’

छ महिनाको अवधिमा आफूले २० वटा गीत गाएपनि सबै सार्वजनिक नभएको उनी बताउँछिन् । भन्छिन्, ‘दर्शकको अपेक्षानुसार गीत सार्वजनिक गर्न सकिरहेकी छैन । आइडल सकिनासाथ गाएको गीत पनि अझै सार्वजनिक नभएको छैन ।’ बजारमा धेरै गीत आउँदा मात्रै सफल भइन्छ भनेर भन्न नमिल्ने उनको तर्क छ ।

आइडलमा हुँदा धेरै योजना बनाएपनि योजनाअनुसार केही गर्न नसकेको सज्जा बताउँछिन् । ‘आइडलमा हुँदा जुन योजना बनाएको थिएँ, त्योअनुसार केही गर्न सकेकी छैन । अहिले त योजना नै बनाउदिनँ, जे आउँछ मज्जाले पचाउँछ’ उनी भन्छिन्, ‘जसको भोटले उपाधि जितेँ, उहाँहरूलाई नै निराश बनाउँदा दुःख लाग्छ नि ।’

आफूले सांगीतिक क्षेत्रमै संघर्ष गरिरहेको र नहराएको उनको दाबी छ । उनी भन्छिन्, ‘चलेन भन्दैमा हराएको हुँदैन नि । ट्रेण्डिङमा परेन अथवा मिलियन लिस्टमा परेन भन्दैमा म हराएकी होइन ! मैले गीत नै नगाएको, मेरो गीतै नआएको पनि होइन ! संघर्ष गरिरहेकी छुु, संघर्ष गरिरहँदा पनि कसैले हरायौ भनेरभन्दा चाहिँ चित्त दुख्दोरहेछ ।’

वास्तविक फ्यानहरूले आफ्नो कामको राम्रै प्रतिक्रिया दिइरहेको उनी बताउँछिन् । ‘तिमी त हरायौ नि ?’ भन्ने धेरै मान्छे भेटेको उनी सम्झन्छिन् । ‘अस्ति एकजनाले चाहिँ अलि हेपेरै भन्नुभयो- तिमीले त हाम्रो भोटको कदर गर्न सकेनौँ । अब भोट फिर्ता चाहिन्छ मलाई, तिम्रो गीत कतै पनि सुन्दिनँ । त्यो सुन्दा चाहिँ मलाई साह्रो दुःख लाग्यो ।’

आइडलले अफूमा लुकेको प्रतिभालाई प्रष्फुटन गरिदिएको, केही इज्जत र नाम पनि कमाएको सज्जा बताउँछिन् । उनी भन्छिन्, ‘अबचाहिँ मरे भने पनि ए फलानो त मरिछे है भन्ने नाम कमाएकी छु । मर्दा पनि अबचाहिँ आनन्दले मर्न पाउँछु जस्तो लाग्छ । तर, नाम कमाउनु गाह्रो छ, कमाएको नाम जोगाउनु त झनै गाह्रो छ ।’

सांगीतिक यात्रा भर्खर सुरु भएको र यो क्षेत्रमा गर्न धेरै बाँकी रहेको सज्जा बताउँछिन् । भन्छिन्, ‘सांगीतिक क्षेत्रमा धेरै गर्न बाँकी छ, देख्न बाँकी छ । विस्तार–विस्तारै गीतहरू ल्याउँदै छु । नयाँ–नयाँ सृजना दिनै बाँकी छ ।’

आइडल जितेर सज्जाको एउटा धोको त पूरा भयो । तर, अर्को बाँकी नै छ । त्यो हो, आफ्ना गीतले सबैलाई खुशी पार्ने, सबैको मनमा बस्न सक्ने । ‘मेरो गीत कसैको जिउने आधार बनाउन सकूँ भन्ने छ,’ उनी आफ्ना श्रोता एवं फ्यानलाई आग्रह गर्दै भन्छिन्, ‘विश्वास गर्न र साथ दिनचाहिँ नछाड्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्