ओली उन्मादले देश अस्थिरतामा धकेलियो « Drishti News – Nepalese News Portal
Logo

ओली उन्मादले देश अस्थिरतामा धकेलियो


केदारमान सिंह


२०१७ साल पुस १ गते राजा महेन्द्रले ‘कू’ गरेर शासन सत्ता आफ्नो हातमा लिए । त्यसको केही दिनपछि उनी रानी रत्नलाई लिएर शिवपुरी बाबालाई भेट्न पशुपति मृगस्थली पुगे । साउथ इण्डियाका गोविन्दन बाबाले राजा महेन्द्रलाई देख्नासाथ भने– ‘किङ, यु मेड अ बिग मिस्टेक ।’

बाबाको मुखबाट यस्तो शब्द सुन्नासाथ राजा महेन्द्रको ‘मुडअफ’ भयो । र, राजा महेन्द्र बाबासँग रिसाउँदै फर्किए । अर्थात्, बाबाको भनाइको आशय के थियो भने- राजा महेन्द्रले वीपी कोइरालाको प्रजातान्त्रिक सरकार ढालेर सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिनु नै राजतन्त्र अन्त्यको कारण थियो ।

००७ सालमा राजतन्त्र स्थापना गर्न सहयोग गरेको नेपाली कांग्रेसलाई राजसंस्थाले आफूसँगै लिएर जानु पर्थ्याे  । त्यसो नगर्दा राजतन्त्रप्रति कांग्रेसको मोह भंग भयो र राजतन्त्रका विरुद्ध कांग्रेसले हतियार उठाउनु पर्यो । जनकपुरमा बम विस्फोट भयो । कप्तान यज्ञबहादु थापाको हत्या भयो । शिवपुरी बाबा १४० वर्षसम्म बाँचे । उनले नेपाल बसाइको क्रममा ‘मेरो लामो तीर्थ यात्रा’ भन्ने किताबसमेत लेखेका छन् । अंग्रेजी धारा प्रवाह बोल्ने उनले मानिसको अनुहार हेरेर उसभित्रको सकारात्मक, नकारात्मक गुण बताउने क्षमता राख्थे ।

आखिर ती बाबले भविष्यवाणी गरेजस्तै हेर्दाहेर्दै नेपालबाट राजतन्त्र अन्त्य भयो । ०१७ सालदेखि अहिलेसम्म नेपालमा धेरै राजनीतिक परिवर्तन भए । ती परिवर्तनको साक्षी म पनि एक हुँ ।

बीबीसीको रिपोर्टरको नाताले मेरो जीवनमा धेरै आन्दोलनलाई नजिकबाट नियालेको पनि छु । तर, ती राजनीतिक परिवर्तनले जनताको मुहार फेर्न पाएन । मानिसको जीवन कति कष्टकर छ, त्यसको साक्षी एक जना म पनि हुँ ।

०४६ सालपछि नेपाली कांग्रेस पुनः सत्तामा आयो । गिरिजाप्रसाद कोइरालाको दम्भ र हठी स्वभावका कारण कांग्रेसको सरकार ढल्यो । कांग्रेसको शासन कुशासनकमा बदलियो । सहयोद्धा कम्युनिष्टप्रति कोइराला असहिष्णु बने । गाउँ गाउँमा कम्युनिष्ट शिक्षकहरुमाथि दमन बढ्यो । अन्ततः माओवादीले २०५२ सालमा हतियार उठाएर ‘जनयुद्ध’ सुरु गर्यो ।

त्यतिबेला ओलीको भाषण सुनेर रेल र पानीजहाजको आशामा कम्युनिष्ट पार्टीलाई भोट दिने जनता आज निराश छन् । ओलीले संसद् भंग गर्ने असफल ‘कू’को प्रयास गरेर राजनीति अस्थिरताको ढोका खोले ।

गाउँका गरिब, निमुखा, शोषित पीडित जनता त्यो जनयुद्धमा समावेश भयो । हजारौंले बलिदानी दिए । माओवादी शान्ति प्रक्रियामा आयो । माओवादीका कमाण्डरको नेतृत्वमा सरकार बन्यो । त्यो सरकारले पनि गरिब, श्रमिक, मजदुर, किसानको हितमा काम गरेन । गरिबीकै कारण आज पनि लाखौं जनता भारतमा मजदुरी गर्न बाध्य छन् । लाखौं जनता खाडीमा जान बाध्य छन् ।

‘विश्वका सर्वहारा एक हौं’ भनेर नारा लगाउने कम्युनिष्टहरु पनि सत्तामा पुगेपछि बिग्रिए । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो कम्युनिष्ट सरकार इतिहासमै लोकप्रिय बन्यो । सादा जीवन उच्च विचारका धनी अधिकारी दक्षिण एशियाकै विशिष्ट गुण भएका राजनेता थिए । तर, केपी ओली प्रधानमन्त्री भएपछि यसले केही गर्छ भन्ने आशा जनतामा जाग्यो ।

माओवादीसँग पार्टी एकता गरेपछि फेरि ओली दुईतिहाइको जगमा प्रधानमन्त्री बने । ओलीका लागि पुष्पलालको सपना पूरा गर्ने अवसर थियो । जुन अवसर उनले संसद् भंग गर्ने असफल प्रयास गरेर गुमाए । फेरि राजनीति अस्थिरताको ढोका खोले । त्यतिबेला उनका भाषण सुनेर रेल र पानीजहाजको गफमा कम्युनिष्ट पार्टीलाई भोट दिने जनता आज निराश छन् ।

जीवनभर कम्युनिष्ट राजनीति गरेका ओलीले अरु केही गर्न नसके पनि श्रमिक, मजदुर र गरिब नेपालीका लागि केही गर्न सक्थे । देशलाई कृषिमा आत्मनिर्भर बनाउन केही योजना ल्याउन सक्थे । तर, दुर्भाग्य उत्पादन गरेको तरकारी सडकमा फालेर कम्युनिष्ट सरकारको विरोध गर्न गाउँका गरिब किसान बाध्य भए ।

किसानको यस्तो पीडा सुनेर हाम्रो मन रोए पनि ओलीको मन कठोर बनेको छ । तराईका किसानले दश रुपैयाँ किलो गोलभेडा बेच्दा त्यो गोलभेडाको मूल्य हाम्रो भान्छासम्म आइपुग्दा ५०, ६० रुपैयाँ पुग्छ । यो सबै बिचौलियालाई धनी बनाउने काम हो । हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी छ ।

कम्युनिष्ट सरकार आफ्नो नीति, सिद्धान्त र आदर्शबाट च्युत भएको यो सानो उदाहरण मात्र हो । गल्ती, कमजोरी त माथिबाटै भएको छ । प्रधानमन्त्री युवा स्वरोजगार कोष खडा गरेर आफ्नो कार्यकर्ता पोस्ने काम भएको छ । तर, गरिब किसानहरुको हितमा कम्युनिष्ट सरकारले काम गरेको छैन ।

महेन्द्रले पुस १ गते ‘कू’ गरेर आफ्नो पतन निम्त्याए । ओलीले पुस ५ गते असफल ‘कू’ गरेर आफ्नै पतन निम्त्याए । देश बर्बाद भयो । सबैलाई चिन्ता छ । ओलीको गलत कदम न्यायालयले सच्यायो तर देश अस्थिरतातर्फ धकेलियो । यो ओलीबाट भएको गम्भीर गल्ती हो ।
अन्त्यमा, शिवपुरी बाबाले भनेझै– मिस्टर ओली ‘यू मेड बिग मिस्टेक ।’

(लेखक वरिष्ठ पत्रकार हुन् ।)

प्रतिक्रिया दिनुहोस्