Logo
Logo

प्रहरीको एपबाटै चालक कारबाहीमा, ४५ जना सवारी साधन फन्दामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारबाही गरेको छ। महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानुनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारबाही गरेको हो।
लामो दुरीमा एक मात्र चालक हुँदा दुर्घटना बढेपछि नियम पालनामा ट्राफिक प्रहरीले एपको प्रयोग थालेको हो ।


प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखेरनराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालमा ल्याएको थियो।

महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानुन नमान्ने सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए।

निर्देशनालयले लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको थियो।

उक्त एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण हुने बताइएको छ। उक्त एप्स पहिलो चरणमा काठमाडौंको नागढुङ्गामा, प्रदेश २ को सर्लाहीको कर्मैया र प्रदेश ५ स्थित बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याइएको थियो। कानुन नमान्ने सवारी साधनलाई १ हजार जरिवाना गरेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्