Logo
Logo

विदेशमा रहेका नेपालीले दूतावासमै जन्म तथा बिहेदर्ता गर्न पाउने


दृष्टि संवाददाता


काठमाडौं, १९ फागुन
जन्म, मृत्यु, विवाह जस्ता घटना दर्ता विदेशमा रहेका नेपालीले त्यही रहेका नेपाली दुतावासमार्फत गराउन पाउने भएका छन् । पञ्जिकरणसम्बन्धि नयाँ नियमावलीले यस्तो सुविधा दिएको हो ।

११ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण नियमावली २०७७ स्वीकृत गरेको हो । सो नियमावलीअनुसार अब नेपाली दुतावासबाटै घटना दर्ताको प्रमाणपत्र विदेशमा रहेका नेपालीले पाउनेछन् ।

नियमावलीअनुसार नेपाली नियोगमै कार्यरत एक कर्मचारीलाई पञ्जिकरण अधिकारी तोकिने र उनले नै घटनादर्ताको सम्बन्धि प्रमाणपत्र प्रमाणिकर गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताए । ‘घटना दर्ताका लागि अनलाइनबाटै हुन्छ,’ उनले भने,‘त्यसको प्रमाणिकरण अब विदेशस्थित नेपाली दुतावासबाटै गरिन्छ ।’

व्यक्तिगत घटना दर्तासम्बन्धि नियमावली २०३४ खारेज गरी सरकारले नयाँ नियमावली ल्याएको हो । गत वर्ष संसदबाट पारित भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐनअनुसार नयाँ नियमावली जारी भएको हो । जसअनुसार सबै नेपाली दूतावसमा पञ्जिकरण अधिकारी छिट्ट्रै तोकिने महानिर्देशक बस्नेतले बताए । व्यक्तिगत घटना दर्तामा जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाई सराई पर्दछन् ।

२० लाखको विवरण ंसंकलन
सरकारले यससम्बन्धि कानून नआउँदै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको थियो । ३ मंसिर २०७५ मा परिचयपत्र वितरण सुरु भएकोमा २०७६ सालमा मात्र ऐन र हालै नियमावली पारित भएको छ । यो अवधिमा एक लाख १७ हजारले परिचयपत्र लिइसकेका छन् । पाइलट प्रोजेक्टका रुपमा सुरुवाती चरणमा परिचयपत्र वितरण गरिएको हो ।

हालसम्म करिब २० लाख सर्वसारधणको बायोमेट्रिक विवरण संकलन गरिसकेको छ । यससम्बन्धि सिष्टम र हार्डवेयरको ठेक्का फ्रेन्च कम्पनी आइडेमियलाई दिइएको थियो । प्रतिस्पर्धा बिना नै सो कम्पनीले दुई वर्षअघि ठेक्का पाएकोमा अझै काम सम्पन्न भएको छैन । त्यसवाहेक विभागले कार्ड छपाईको छुट्टै ठेक्का अघि बढाएको छ । आगामी साउनदेखि कार्ड वितरण सुरु हुने महानिर्देशक बस्नेत बताउँछन् । सरकारले दुई वर्षअघि नै तीन वर्षभित्र सबै नेपालीलाई राष्ट्रियपरिचयपत्र वितरण गर्ने योजना सार्वजनिक गरेको थियो । तर, समयमा काम हुन सकेको छैन । सबै नागरिकको राष्ट्रिय परिचयपत्र भएपछि अपराध नियन्त्रणमा सहज हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्