Logo
Logo

प्रचण्ड-माधव पक्षका सांसद र केन्द्रीय सदस्यलाई किन ‘अलर्ट’मा बस्न भनियो ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आफ्नो पक्षका केन्द्रीय सदस्य र सांसदहरुलाई अलर्टमा बस्न निर्देशन दिएको छ । पार्टीले जुनसुकै बेला आवश्यक पर्ने भन्दै यस्तो निर्देशन दिएको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुलाई केन्द्रीय कार्यालयको तर्फबाट म्यासेज पठाएर र केहीलाई फोनबाट यस्तो उर्दी जारी गरिएको छ । उनीहरुलाई बिहीबार दिउँसो १ बजेभित्र पेरिसडाँडास्थित पार्टी कार्यलयमा जम्मा हुन तथा आसपासमा रहन समेत भनिएको छ ।
त्यस्तै अत्यावश्यक कामबाहेक तत्काल उपत्यका बाहिर नजान पनि भनिएको छ । एक नेताका अनुसार केन्द्रीय सदस्य तथा सांसदलाई बाहिर नजान र अलर्ट बस्न भनिएको भएपनि अरु विषय खुलाइएको छैन ।
सरकारको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि नेकपा विवाद सडकबाट अब संसद र निर्वाचन आयोगभित्र प्रवेश गर्दैछ ।
नयाँ सत्ता समीकरण, पार्टीको आधिकारिकता लगायतका विषयमा नेकपाको प्रचण्ड–माधव पक्षले पार्टीभित्र र अन्य पार्टीहरुसँग समेत निरन्तर छलफल र सम्वाद गरिरहेको छ ।
सरकारको निर्णय सर्वोच्चले बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने अनुमानविपरीत ओलीले राजीनामा नदिएपछि नयाँ सरकार गठनमा अवरोध सिर्जना भएको सो पक्षको आँकलन छ । यस्तो अवस्थामा प्रचण्ड–माधव पक्षले ओलीलाई सत्ताच्युत गराउन संसदबाटै प्रक्रिया अघि बढाउनुपर्ने बाध्यता छ भने अर्कोतिर पार्टीको वैधानिकता पाउन निर्वाचन आयोगलाई झक्झक्याउनु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्