Logo
Logo

जसले ‘झापा विद्रोह’मा ज्यानको आहुति दिए



काठमाडौं । सन् १९६० को अन्त्यतिर भारतको नक्सलबाडी चारु मजुमदारको नेतृत्वमा जारी कम्युनिष्ट आन्दोलनले दनदनी बलिरहेको थियो । त्यो आन्दोलनको प्रभाव सीमा जोडिएको नेपालको झापामा नपर्ने कुरा थिएन ।

छिमेकी भारतमा भएको कम्युनिष्ट आन्दोलनबाट झापाली युवामा राजनीतिक चेत बढ्दै गयो । सामन्तवर्गको अत्याचारविरूद्ध युवा एक हुँदै गएका थिए । न्यायको पक्षमा आवाज उठाउनु पर्छ भन्ने युवा कम्युनिष्ट विचारधारा बोकर अगाडि बढे । र, एउटा विद्रोह जन्मियो । सोही विद्रोहलाई नेपालको राजनीतिक इतिहासमा ‘झापा विद्रोह’ भनिन्छ । आन्दोलनमा थिए, नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेल ।

पञ्चायती दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा ‘झापा विद्रोह’का पाँच युवा नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेल पक्राउ परे । उनीहरूलाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने वहानामा २१ फागुन २०२९ मा सुखानीको जंगलमा लगेर हत्या गरियो ।

झापा विद्राहको क्रममा तत्कालिन भूमिगत कम्युनिष्ट पार्टीको मेची–कोशी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको अर्डिनेसन कमिटी झापाले चलाएको ‘वर्गशत्रु खतम अभियान’ र तत्कालीन पञ्चायती दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा यी पाँचै योद्धा पक्राउ परे । उनीहरुलाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने वहानामा २१ फागुन २०२९ मा सुखानीको जंगलमा लगेर हत्या गरियो । उनै महान् शहीदको जीवनी प्रस्तुत छ–

रामनाथ दाहाल
तेह्रथुम जिल्ला आठराईको इवा भदौरेमा जन्मनु भएका रामनाथ दाहाल २०१७ सालदेखि झापाको चारपानेमा बस्न थाल्नुभएको थियो । उहाँलाई सानैदेखि किसानमाथि हुने अन्याय असह्य हुन्थ्यो ।

उत्पीडनमा परेका किसानका धान काट्न र थन्काउन सहयोग गर्नुहुन्थ्यो । उहाँलाई सामन्तहरुले २०२६ सालमा मुद्दा हालेका थिए । त्यसैले २०२७ बैशाखमा गिरफ्तार गरी उहाँलाई ३ महिना थुनामा राखिएको थियो ।

३२ वर्ष उमेरमा पछिल्लोपटक रामनाथ आफ्नै घरबाट पक्राउ परेको पुगनपुग ३ महिनापछि सुखानीमा मारिनुभयो । उहाँ ठट्यौली पारामा भन्नुहुन्थ्यो– ‘आन्दोलन सफल भएर सरकार बनाइयो भने मचाहिँ मन्त्री बन्दिनँ । तिमीहरुको ड्राइभर बनुँला ।

किनभने ड्राइभर सही नभए गन्तव्यमा पुगिन्न ।’ जुन राधाकृष्ण मैनालीले आफ्नो पुस्तक ‘नलेखिएको इतिहास’ मा उल्लेख गर्नुभएको छ । रामनाथको परिवारमा जेठी पत्नी जानुका ओली दाहालतर्फ चार छोरी र दुई छोरा हुन् । एक छोराको निधन भइसकेको छ । कान्छी पत्नी विश्वेश्वरा उप्रेती दाहालतर्फ दुई छोरा छन् ।

नेत्र घिमिरे
नेत्र घिमिरेको जन्म २००३ सालमा तेह्रथुम आठराईमा भएको थियो । पछि झापाको गरामनीमा बसाइँ सर्नुभएको थियो । उहाँ विद्यालय अध्ययनपछि २०२४ सालमा मेची क्याम्पस भद्रपुरमा भर्ना हुनुभयो र क्याम्पसमा प्रगतिशील विद्यार्थी आन्दोलनमा होमिनुभयो ।

२०२६ देखि पार्टीमा पूर्णकालीन भई काम गर्न थाल्नुभयो । उहाँ २०२९ पुस १४ गते गरामनीमा सुराकीबाट पक्राउ पर्नुभएको थियो । उहाँको परिवारमा पत्नी जीवन घिमिरे हाल काठमाडौँ चाबहिलमा बस्नुहुन्छ भने उहाँका दुई छोरी हुनुहुन्छ । उहाँका दाजुभाइ धर्म घिमिरे र देवी घिमिरे पनि विद्रोहमा सहभागी हुनुहुन्थ्यो ।

वीरेन राजवंशी
वीरेन राजवंशीको जन्म २००२ सालमा झापा चन्द्रगढीमा भएको थियो । उहाँकी पत्नी बुबाआमाकी एक मात्र छोरी हुनुहुन्थ्यो, जसले गर्दा विवाहपछि उहाँको परिवार ससुराली गाउँ अर्थात् झापाकै ज्यामिरगढीमा रह्यो ।

उहाँ मलाया पनि जानुभएको थियो र त्यहाँका कम्युनिष्टबाट प्रभावित हुनुभएको थियो । २०२६ सालदेखि उहाँ राजनीतिमा सकृय हुनुभएको हो । उहाँ चन्द्रगढी छेउबाट २०२९ मंसिरमा पक्राउ पर्नुभएको थियो । उहाँकी पत्नीको निधन भइसकेको छ भने दुई छोरामध्ये एक हुनुहुन्छ ।

कृष्ण कुइँकेल
कृष्ण कुइँकेल २०११ सालमा गरामनी झापामा जन्मिनुभएको थियो । उहाँ नेत्र घिमिरेबाट प्रभावित हुनुहुन्थ्यो । पार्टीमा २०२७ सालदेखि संगठित हुनुभएको थियो । उहाँ २०२९ साल माघ १ गते पक्राउ पर्नुभयो । कृष्ण कुइँकेल अविवाहित हुनुहुन्थ्यो ।

नारायण श्रेष्ठ
नारायण श्रेष्ठ उच्च मध्यम परिवारमा जन्मिनुभएको थियो । यद्यपि शोषित र उत्पीडित जनसमुदायको पक्षमा लड्ने प्रण गर्नुभएको थियो । उहाँ सहिद कृष्ण कुइँकेलका अनन्य मित्र हुनुहुन्थ्यो । नारायण श्रेष्ठको पनि विवाह भएको थिएन । कृष्ण र नारायण दुवैले एससलसी पास गरिससक्नु भएको थियो । दुवै पश्चिम झापाबाट पक्राउ पर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्