Logo
Logo
दृष्टिकोण

ग्राइनडिजाइनमा फसेका ओली र सुरक्षा थ्रेट


शम्भु श्रेष्ठ


प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा पुगेर आफ्नो ज्यान खतरामा परेको अभिव्यक्ति दिएपछि धेरैले ओलीको भनाइलाई छट्टुस्यालको कथासँग जोडे । एउटा छट्टु स्याल गाउँमा पसेछ, चिल आयो…चिल आयो… भनेर कराएछ, गाउँलेहरुले उसैको कुरा पत्याएर आकाशतिर हेर्न थालेछ, त्यही मौकामा स्यालले कुखुराको चल्ला टिपेर भागेछ ।

कतिले जनताको सहानुभूति लिन ओलीले यस्तो अभिव्यक्ति दिएको प्रतिक्रिया दिए । धेरैले ओली जे मन लाग्यो त्यही बोल्छन् भनेर उनको कुरालाई गम्भीरतापूर्वक लिएनन् ।

एउटा देशको प्रधानमन्त्रीले आफू असुरक्षित भएको महसुस गर्नु र आफूमाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नु होला भनेर सार्वजनिकस्थलमा बोल्नु गम्भीर कुरा हो ।

चौबिसै घण्टा कडा सुरक्षा घेरामा बस्ने प्रधानमन्त्रीमाथि कहाँबाट सुरक्षा खतरा छ भन्ने कुरा सुरक्षा निकायले सुक्ष्म अध्ययन गर्नुपर्छ । पक्कै पनि प्रधानमन्त्रीले जनताको सहानुभूति पाउनका लागि मात्र यति गम्भीर कुरा त्यसै बोलेका छैनन् । उनले आफूमाथि कुनै पनि बेला हमला हुन सक्ने संकेत पाएरै यसो भनेको हुनुपर्छ ।

पार्टी मुख्यालय धुम्बाराही र प्रधानमन्त्री निवास बालुवाटार टाढाको दूरी होइन । तर पनि प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट छ भनेर उनले पार्टी मुख्यालय टेक्नै छाडेका छन् । बरु मेची–महाकालीसम्मका कार्यक्रममा व्यस्त छन् । भ्याए दिनको एउटा, नभ्याए साताको दुई÷चारवटा उद्घाटन, शिलान्यासका कार्यक्रममा प्रधानमन्त्री व्यस्त छन् ।

‘सुरक्षा थ्रेट’ भएको व्यक्ति यसरी जहाँ मन लाग्यो, त्यहाँ, जानु हुन्छ कि हुँदैन भन्नेतिर पनि आफूले विचार पुर्याउनुपर्छ । र, सुरक्षा निकायका प्रमुखहरुलाई आफूले पाएको गोप्य सूचना शेयर गर्नुपर्छ ।  ताकि, सम्भावित खतराबाट प्रधानमन्त्रीलाई जोगाउन सकियोस् । त्यसो गर्न सकिएन भने प्रधानमन्त्रीले भनेझैं कुनै पनि बेला तलमाथि पर्न सक्छ ।

प्रधानमन्त्री आफूलाई सुरक्षा थ्रेट रहेको भन्छन् । तर, मेची–महाकालीसम्मका कार्यक्रममा व्यस्त हुन्छन् । भ्याए दिनको एउटा, नभ्याए साताको दुई/चारवटा उद्घाटन, शिलान्यासमा व्यस्त छन्, प्रधानमन्त्री ! यस्तो अवस्थामा प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट रहेको कसरी मान्ने ?

प्रधानमन्त्री ओलीले सत्ता छाड्ने बेला यस्तो कुरा किन बोलिरहेका छन् ? दुईतिहाइ बहुमतको सरकार ढाल्न उनलाई कसले दबाब दिएका थिए ? गत वैशाख ५ गते अध्यादेशमार्फत पार्टी टुक्र्याएर मधेसवादी दलसँग मिलाउने काम कसले गरिरहेको थियो ?

पुस ५ गते नै संसद् विघटन गर्न उनीमाथि कसले मानसिक दबाब दिएको थियो र उनी संसद् भंग गर्न बाध्य भए ? पार्टी एकता गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेका सहमति कसको इसारामा उनले तोडे ? अहिले आएर प्रचण्ड–माधवलाई कुनै हालतमा प्रधानमन्त्री बन्न नदिने बरु, देउवालाई प्रधानमन्त्री बनाउने सोचमा उनलाई कसले पुर्याए ? यिनै प्रश्नभित्र ओलीले झेल्नुपरेको मानसिक दबाब र त्यसको उत्तर खोज्न सकिन्छ ।

किनभने, पुस ५ गते संसद् विघटनको सिफारिस ओलीले आवेगकै भरमा गरेका होइन, त्यसको ‘रिहर्सल’ त उनले वैशाख ५ गते अध्यादेश ल्याएर गरेका थिए । तर, संसद अपहरणको घटना बाहिरिएपछि उनी नांगिए । र, पुस ५ को घटना गरेरै छाडे ।

जनताले नेकपालई राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृद्धिका लागि दिएको दुईतिहाइको बहुमत ‘नबजे बाँसुरी, न रहे बास’ जस्तै भयो । आफूमाथि कहिलेकाहीँ मानसिक दबाब आयो भने गिरिजाप्रसाद कोइरालाले पनि समस्या के आयो, कहाँबाट आयो केही बोल्दैन थिए । सिर्फ ‘ग्राइनडिजाइन’ मात्र भन्थे ।

त्यस्तै ‘ग्राइनडिजाइन’ मा अहिले ओली फसेका छन् । उनको हातबाट शक्ति फुत्काउन उनीमाथि मानसिक दबाब थोपरिएको थियो भन्ने कुरा ओलीको असन्तुष्टिबाट स्पष्ट हुन्छ । ओली अब शक्तिविहीन भएका छन् ।

यो सबै घटना उनले कसको इशारामा गरे भन्ने कुरा अहिले उनले नबोले पनि भोलिका दिनमा अवश्य खुल्नेछ । अस्थिरताको खेती गर्नेहरुले सर्वोच्चको न्यायाधीशहरुलाई पनि प्रभावमा पारेको संकेत आइतबारको फैसलाबाट बाहिर आयो । अब के हुन्छ, त्यो ओलीलाई पनि थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्