Logo
Logo

उनी सधैँ नेपालका कम्युनिस्टहरुको एकतामा प्रयासरत थिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ फागुन । कम्युनिस्टका अगुवा नेता कृष्णदास श्रेष्ठ रहेनन् । श्रेष्ठको शनिबार दिउ“सो काठमाडौंको शंखमुलस्थित आफ्नै निवासमा निधन भएको हो । उनी केही समययता नर्भिक अस्पतालमा उपचाररत थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि गत १८ माघमा उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सामान्य सुधार आएको भन्दै उनलाई केही दिनअघि निवासमा ल्याइएको थियो ।
८७ वर्षीय श्रेष्ठ माक्र्सवादी चिन्तक थिए । कम्युनिस्ट आन्दोलनको चर्चित पुस्तक ‘द्वन्द्वात्मक भौतिकवाद’का लेखकसमेत रहेका उनी सुरुदेखि कम्युनिस्ट पार्टीमा रहेर संगठन बनाउँदै हिँडेका थिए । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा उनी कम्युनिस्टको जग हाल्ने नेताका रुपमा चिनिन्थे । श्रेष्ठले नेपालका कम्युनिस्टहरुको सधै एकताको सवालमा प्रयास गर्दै आएका थिए ।
१९८८ मा काठमाडौंको नरदेवीटोलमा मध्यम परिवारमा जन्मिएका कृष्णदासको बिहे वीरगञ्जकी महालक्ष्मी श्रेष्ठस“ग भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले उनीहरूको बिहे गराइदिएका थिए । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

कृष्णदासका कम्युनिस्ट आन्दोलन र संस्कृतिबारे दुई दर्जन पुस्तक छन् । उनका ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत संघको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना (भाग–१)’, ‘लेनिनवादका आधार’, ‘माक्र्सवाद र जातीय सवाल’लगायत माक्र्सवादी पुस्तकको अनुवाद गरेका छन् ।


दर्जनौँ मौलिक माक्र्सवादी कृति र दर्जनौँ अनुदित माक्र्सवादी दर्शन साहित्य रचना गरेका श्रेष्ठको ‘कार्ल माक्र्स : व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’ ,‘अतिरिक्त मूल्यको सिद्धान्त’, ‘माक्र्सवाद चिनारी पुस्तकमाला’जस्ता माक्र्सवादी दर्शनका विभिन्न घटकबारे लेखिएका दर्जनौँ कृति छन् । पछिल्ला दिनमा उनी कम्युनिस्ट आन्दोलनबारे शब्दकोष लेखिरहेका थिए ।
उनको नाममा कृष्णदास फाउन्डेसन सञ्चालनमा छ । उनी काठमाडौंमा कम्युनिस्ट साहित्य र सन्दर्भ सामग्रीहरूको एक पुस्तकालय पनि स्थापना गर्न चाहन्थे ।
राणा शासनविरुद्ध आन्दोलन छेडेको नेपाल प्रजापरिषद्बाट राजनीतिक यात्रा सुरु गरेका उनले २०१० मा नेकपाको सदस्यता लिएका थिए । २०१३ देखि २०१७ सालसम्म उनी काठमाडौं जिल्ला सचिव थिए । तत्कालीन उत्तरगण्डक प्रान्तीय समिति अन्तर्गत बाग्मती अञ्चल समिति सचिवालय सदस्य थिए ।
नेकपाको पहिलो महाधिवेशनमा भाग लिन नपाएका उनी दोस्रो महाधिवेशन र दरभंगा प्लेनममा प्रतिनिधिको रुपमा सहभागी थिए । तेस्रो महाधिवेशनपछि नेकपामा आएको दुई लाइन संघर्षमा उनी माक्र्सवाद, लेनिनवाद तथा माओ विचराधाराका पक्षमा देखिएका थिए ।
२०३६ सलामा उनले नेकपा माले गठन गरी अध्यक्ष बने । संसदीय व्यवस्था पुर्नस्थापनापछि नेकपा मालेमा बनाएर अध्यक्ष बने । पछिल्लोपटक मोहन वैद्य किरणको पार्टीमा रहेका उनी वैचारिक मतभेदपछि स्वतन्त्र रहेका थिए । तर, सबै कम्युनिस्ट धारास“ग उनी बहस र अन्र्तक्रिया गर्न रुचाउँ“थे ।

प्रतिक्रिया दिनुहोस्