शब्द र मातृशक्ति मिलेर सुन्दर हरफहरु कविता हुन पुगे « Drishti News – Nepalese News Portal
Logo

शब्द र मातृशक्ति मिलेर सुन्दर हरफहरु कविता हुन पुगे


छविरमण सिलवाल


आफ्नो निर्भिक र निडर स्वभावलाई
तिलाञ्जली दिएरमात्र
यदि जागिर खानुपर्छ भने
ठिकै छ
त्यो जागिरलाई नै तिलाञ्जली दिन्छु बरु
परन्तु मेरो अन्तरात्मालाई
झुकाउन सक्दिनँ म
जागिरका लागि यी पवित्र हातहरु
मल्न सक्दिनँ म ।
पृ.४४

कविता मन र मस्तिष्कबाट प्रस्फूटन हुने पवित्र सागर हो, जहाँ असंख्य व्यक्ति रमाई रहेका छन् । यसै गरि काव्यसागरमा पवित्र तथा अर्गानिक स्वाद बोकेर सरस्वती ज्ञवाली देखा परेका छन्, स्वभिमान कवितासङ्ग्रहमार्फत । उनको पहिलो संस्मरणत्मक कृति ‘लालटिनको उज्यालोमा’ प्रकाशित भएको थियो ।

दोश्रो कृतिका रुपमा प्रकाशित भएको कवितासङ्ग्रह ‘स्वाभिमान’भित्र मझौला किसिमका एकाउन्न कविता छन् । सानैदेखि वामपन्थी आन्दोलनमा सक्रिय ज्ञवालीको राजनीतिक परिवर्तन र सामाजिक–साँस्कृतिक रुपान्तरणको अभियान अहिलेसम्म पनि अविच्छिन्न रुपमा चलिरहेको छ । उनका यी कविताहरु पनि त्यही जीवन जिउने क्रममा भेटिएका तितामिठा अनुभवहरुको सिंङ्गो दस्तावेज हो । यी

कवितामार्फत कविताप्रेमिले अर्गानिक स्वाद चाख्न पाउने छन् । कविले यी कवितामार्फत आफूले भोगेको समयको चित्रहरु पोखेका छन् । उनी कवितामार्फत आशावादी सोच निर्माण गर्न कोशिस गर्छन् । आफूले भोगेको कुरुप समयलाई पनि उज्यालोे भविष्यको आशामा दृढ रहेको विचारहरु उनका सिर्जनाहरुमा पढ्न सक्छौँ । अध्यारो पछि उज्यालो पक्कै आउँछ भन्ने दृढता उनका सिर्जनामा पोखिएका छन् ।

वर्तमान समयले मान्छेलाई धेरै थोक सिकाएको छ, तर मान्छे नबुझेको अभिनय गरिरहन्छ, त्यसको फलस्वरुप प्रकृतिले उसलाई नराम्ररी पर्छादै लगे पनि मान्छेको जात न हो अलिकति पनि डग्दैन । एकथरीले गरेको गल्ती संसारले भोग्नु पर्ने बाध्यता रहेको छ । यस्ता बाध्यताहरुलाई सर्जकले जहिले पनि घच्घच्याईरहनु पर्छ भन्ने मान्यता ज्ञवालीका कविताहरुले बोलेका छन् ।

सर्जक रामप्रसाद ज्ञवालीको शब्द सापटी लिएर हेर्दा– ‘व्यक्त्ति सरस्वती ज्ञवालीको जीवनयात्रा मलाई सेती नदीको बगाइजस्तै लाग्छ । कहिले धर्तीबाहिर फाल हाल्दै र छङ्छङाउँदै कुदिरहेको र कहिले धर्तीभित्र भासिँदै र सुसाउँदै बगिरहेको छ । उनीसँग आनन्द र पीडा दुबै अनुभूति छन् । उनले कहिले माया र मानसम्मान पाइन्, कहिले तिरस्कार र अपमान खाइन् ।

कहिले नाम र पहिचान पाइन्, कहिले गुमनाम भइन ।’ साँच्चै सर्जक रामप्रसाद ज्ञवालीले भने जस्तै उनका यी कविताहरु सेती नदीको बगाई जस्तै लाग्छन् ।

शब्दको शक्क्ति भनेकै यही हो । यहाँ शब्द र मातृशक्ति मिलेर सुन्दर हरफहरु कविता हुन पुगेका छन्, यो नै शब्दको शक्त्ति हो । जसले, मान्छेका हृदयमा सजिलै डेरा जमाउँन सक्छन् ।

प्रायः मान्छेको भोगाई र देखाइमा एकरुपता देखिदैन । ऊ जे भोग्छ त्यस्तो देखिदैन र जे देखिन्छ त्यो हुँदैन । त्यस्ता मान्छेहरु निकै भयानक लाग्छन् । हो तिनीहरुका विरुद्ध भए पनि यस्ता शालिन कविताहरु जन्मनु पर्छ भन्ने लाग्छ ।

सरस्वती ज्ञवालीसँग मेरो व्यक्तिगत रुपमा त्यस्तो चिनजान नभएता पनि एकाध पटक भेटेको छु, त्यो भन्दा पनि उनका सिर्जनाबाट भने म पूर्णपरिचित छु । उनको पहिलो कृति ‘लालटिनको उज्यालोमा’बाट नै उनको शालिन व्यक्तित्व झल्कन्छ ।

अहिले दोश्रो कृति स्वाभिमानभित्रका कविताहरु पढ्दा कवि मात्र नभएर कविता कर्ममा लाग्ने जोकेहीको पनि स्वाभिमान बढेको महशुस हुन्छ । उनको सिर्जनात्मक कदमभित्र मानवीय मुल्य मान्यता, प्रकृति–प्रेम, सामाजिक न्याय, नारी संवेदना, पीडाका पहाड चढिरहेका तथा अहम्का पहाड उक्लिरहेकाहरुका विषयमा उनका सिर्जनाहरु बुलन्द भएर पोखिएका छन् स्वाभिमान कवितासङ्ग्रहमार्फत । उनी कवितासङ्ग्रहमार्फत आफ्ना स्वर्ण विचारहरु यसरी व्यक्त गर्छिन–

‘हुन त म कवि होइन । हुन सक्छु जस्तो पनि लाग्दैन । कवि बन्न त धेरै साधना गर्नुपर्ने हुन्छ । मेरा केही भावनाहरु पोखिएका मात्र हुन् । छोरीको अवस्थाले गर्दा पनि म धेरै भावुक हुन्छु । र, बहकिएको मनलाई एकाग्र गर्न पनि केही लेख्ने गर्छु । कहिले भने फूल हेरेर पनि आफूलाई भुलाउँने गर्छु । कहिले लाग्छ, मैले लेखेका कविता त हुँदै भएन । फेरि अरुका कविता पढ्छु । कसैकसैका कविता पढेपछि लाग्छ, यी कवित हुन भने मैले लेखेका पनि त कविता हुन सक्लान नि ! मैले पढेका कैयौ कविता भाषाशैली र बिम्बहरुको प्रयोगका दृष्टिले सशक्त्त हुन्छन्, मनै छुने । त्यस्तै कविता लेख्ने रहर लाग्छ । तर आफूलाई आउँदैन । छन्द कविता धेरै मन पर्छ । त्यो पनि आउँदैन । के गर्ने ? मन उदास भएर आउँछ र सुरु हुन्छ आफूलाई जस्तो आउँछ त्यस्तै लेख्ने, तर लेख्न चाहिँ लेख्ने र लेखिरहने सिलसिला । धेरै जनाबाट पाएकोे सुझाव अनुसार लेख्ने प्रयास गरेँ । जे जस्तो भएको छ, तपार्इंहरुको हातमा छ । खल्लो होला, तर कसैलाई हानीनोक्सानी गर्ने छैन भन्ने आशा गरेकी छु ।’

वास्तवमा कवितामात्र नभएर कविको चेतना पनि सुन्दर लाग्छ । कविताप्रति उनको बुझाई शालिन लाग्छ र त यस्ता विचारहरु स्वतस्फूर्त रुपमा पोखेकी छिन् । उनको जस्तै शब्दको खेती गर्नेहरुको विचार यस्तै होस भन्ने म चाहन्छु ।

यी कविताहरु कविले अपाङ्गता भएका नानीहरु र तिनका आमा–बाहरुलाई समर्पण गरेको कुरा यहाँ देखिन्छ । उनी आफै पनि छोरीको स्याहार सुसारमा आफ्नो दैनिकी विताएको कुरा सिर्जनाहरु मार्फत हामीले पढेकाछौं । उनका कविताहरु विषयमा विविधताका साथै यथार्थरुपमा आफ्ना भोगाईका एक हिस्साका रुपमा पनि लिन सकिन्छ ।

उनले भोगेको यथार्थ आम मान्छेले पनि भोगेका होलान, तर उनका भावनाहरु शब्दमार्फत पोखिए र सबैका साझा हुनपुगें । शब्दको शक्क्ति भनेकै यही हो । यहाँ शब्द र मातृशक्त्ति मिलेर सुन्दर हरफहरु कविता हुन पुगेका छन्, यो नै शब्दको शक्त्ति हो जसले मान्छेका हृदयमा सजिलै डेरा जमाउँन सक्छन् ।

यी कविताहरु कविका भावनामात्र नभएर वर्तमान राजनीतिक परिवेशले हामीलाई सकारात्मक–नकारात्मक फलहरु दिएकाछन् । तथापि यी विचारहरु पनि कवितामार्फत पढ्न सकिन्छ ।

बाटो हिँड्दै गरेको बटुवा
विनाकारण पक्राउ पर्छ
हिरासतमा कुटिन्छ
र कुटी कुटी मारिन्छ
उल्टै बिल्ला लाग्छ
ऊ भयानक अपराधी थियो ।

स्वाभिमानभित्रका कविताहरुले नेपाली कविताका क्षेत्रमा कुनै नौलो क्रान्ती त गर्न नसक्लान, तर यी कविताहरु त्यो समयका जीवनका लयमा एउटा स्वाभिमानी कविताको रुपमा भने दर्ज हुनेछन् । यी कविताहरु पढिरहँदा आफ्नै जीवन पढिरहेझैँ लाग्छ ।

आम मान्छेले आफ्नो जीवनको मूल लयमा हिड्न जान्यो भने, हो यस्तै स्वाभिमानी कविता र स्वभीमानी विचारहरु निर्माण हुन्छन् । जसले, जीवन पथलाई सधैँ उज्यालो बनाउँछ । सरस्वती ज्ञवालीका यी कविताहरु पनि जीवनको उज्यालो पक्षलाई पच्छ्याई रहेका शब्दसारथीहरु हुन् ।

कवि :सरस्वती ज्ञवाली
विधा : कविता
प्रकाशक : साथी प्रकाशन, काठमाडौँ
मूल्य : रु २२५

प्रतिक्रिया दिनुहोस्