Logo
Logo

वार्षिक ८.५ प्रतिशत ब्याज पाइने ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्री खुला


दृष्टि संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंकले आज (चैत १ गते) देखि ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्काशन गरी बिक्री खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

निष्काशन गरिएको कुल ऋणपत्रमध्ये रु १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी रु १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने जनाएको छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म बन्द हुने गरी तोकिएको छ ।

ग्लोबल आइएमई बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । वार्षिक ८.५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ । बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा प्रस्तावित ऋणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्री हुने अवस्थामा रहेको बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले बैंकलाई औषत कर्जा जोखिम जनाउने इक्रा इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ । त्यसैगरी, ऋणपत्रलाई भने कम जोखिम जनाउने इक्रा एलए माइनस रेटिङ प्रदान गरेको छ । सो रेटिङ प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्सलाई तोेकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवं तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकले हाल ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५३ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्