Logo
Logo

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी बैंक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । एनसीसी बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रमका बीच एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रुपमा उपस्थित थिए ।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तीय कारोबारमा सहजताका लागि क्यूआरकोड हस्तान्तरण गरेको छ । क्यूआरकोड हस्तान्तरण गर्दै एनसीसी बैंकका सञ्चालक समिति अध्यक्ष न्यौपानेले स्थानीय निकायका पदाधिकारीको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैंकले सेवा गर्ने जानकारी दिए । साथै उनले बैंकिङ व्यवसाय व्यापारमुखी मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय सञ्चालन गर्नुपर्ने र एनसीसीका कर्मचारीको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टि रहेको उल्लेख गरे । बैंकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैंकबीचको सम्बन्धलाई दिगो बनाउन सकिने बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्नुहुँदै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार निजि व्यवसायीहरु रहेको र उनिहरु सबैसंग सहकार्य गर्न सकिने धारणा राख्नुभयो । साथै उहाँले एनसीसी बैंकका कर्मचारीहरुसंग कार्य सहजता तथा उच्च स्तरको सेवा प्रदान गर्दै आएको अनुभव समेत साट्नुभयो ।

यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनसँग बैंक तथा वित्तिय सेवा बिचको सम्बन्ध तथा उद्यमशीलता प्रबद्र्धनका लागि एनसीसी बैंकको योगदान रहेको चर्चा गरे । यसैगरी वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाले आफू विगत १६–१७ वर्षदेखि बैंकको ग्राहक रहेको र अहिले आफ्नै घरआँगनमा बैंकको शाखा खुलेकामा खुशी व्यक्त गरे भने बैंकले कृषि क्षेत्र तथा रोजगारी प्रबद्र्धन हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव समेत दिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैंकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भूमिका रहने भएकाले एनसीसी बैंकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गरे । शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पु¥याउने अपेक्षासहित सम्पूर्ण व्यवसायीहरुलाई बैंकमार्फत सेवा लिन अर्यालले अनुरोध गरे ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैंकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

शाखा विस्तारसँगसँगै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न कटिबद्ध रहेको एनसीसी बैंकले विभिन्न खालका आकर्षक र प्रभावशाली वित्तिय योजनाहरु समेत निरन्तर लागु गर्दै आएको छ । आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवाको छवी स्थापित गरिसकेको एनसीसी बैंक नेपाल र नेपालीको आर्थिक समृद्धिका लागि वर्षौंदेखि तल्लीन रहँदै आएको छ । आगामी दिनमा अझै कटिबद्ध भएर वित्तीय सेवामा लाग्ने प्रण बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्