Logo
Logo

बक्रदृष्टिः बाँदरलाई नयाँ पार्टी दर्ता गर्न आदेश दिन्थे कि !


दृष्टि संवाददाता


 

विचरा रामचन्द्र ?
रामचन्द्र पौडेलले जतिसुकै घाँटी सुकाएर कराए पनि शेरबहादुर देउवाले सुन्ने होइन । देउवाले जतिसुकै चिच्याएर बोले पनि पौडेलले बुझ्ने होइन । देउवा र पौडेलबीचको गलफत्तीले कांग्रेस अहिलेसम्म अनिर्णयको बन्दी बन्दा कृष्ण सिटौला पनि हैरान भा’छन् ।
म्याग्दी पुगेका पौडेल जसरी भए पनि केपी ओलीलाई सत्ताबाट हटाउनुपरयो भनेर कराएका कराएै छन् । उता बारा पुगेर देउवा भन्छन्– ‘मलाई पदको लोभ छैन । कतै ओलीले देउवालाई अस्थिरताको भुँमरीमा फसाएर फेरि प्रतिगामी कदम चाल्ने त होइनन् ? कसो कृष्णगोपाल कमरेड ?
०००

बाँदर पार्टी….
सर्वोच्च अदालतमा पनि किसिम किसिमका मुद्दा पर्छन् । पशुपति र स्वयम्भू क्षेत्रका बाँदरले भक्तजनहरुलाई दुःख दियो भनेर मधुर पाठक भन्नेले उजुरी दिएछन् ।
धन्न त्यो मुद्दाको सुनुवाइ फागुन २३ को बेन्चमा परेन । परेको भए माननीय न्यायाधीशहरुले बाँदरलाई नयाँ पार्टी दर्ता गर्न आदेश दिन्थे कि ? कसो, दिनेशमणि त्रिपाठीज्यू ?
०००

कसो नारानकाजी ?
माओवादी केन्द्रीय कमिटीको बैठकलाई प्रचण्डले ब्रिफिङ गर्दै कम्युनिष्ट पार्टीबीचको एकता भाँड्न विदेशी शक्ति लागेको बताए । साढे दुई वर्षसम्म ओलीको पुच्छर सोझ्याउन तेल घसेका प्रचण्डले पनि कतै डाबरको तेलले पुच्छर त मसारेनन् ?
नभए त सोझै बालुवाटार छिरेका ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले पार्टी फोडे भन्थे नि । कसो, नारानकाजी ?
०००

भ्यागुताको धार्नी
जसपाका नेताहरु कहिले बालुवाटार, कहिले पेरिसडाँडा त कहिले बूढानीलकण्ठ कुद्याकुद्यै छन् । यिनीहरुको कुदाइ हेर्दा त आज भोलि नै महन्थ ठाकुर प्रधानमन्त्री बन्लान् जस्तो छ ।
तर, जसपाको सरकार बन्न भ्यागुताको धार्नी पुग्दैन । त्यसैले यो कुदाइ प्रधानमन्त्री बनाउँछु भनेर महन्थ ठाकुरलाई उल्लु बनाउने, यही मौकामा जसले सरकार बनाए पनि रेशम चौधरी छुटाउने छट्टु खेलजस्तो पो छ ? कसो, राजेन्द्र महतोज्यू ?
०००
(व्यङ्ग्यात्मक पस्तुती ‘बक्रदृष्टि’ दृष्टि साप्ताहिकको स्तम्भ हो ।)

प्रतिक्रिया दिनुहोस्