Logo
Logo
पतनको यात्रामा ओली

‘आज ओली केशरजंग रायमाझी बनेका छन्’


लक्ष्मण देवकोटा


सोह्र वर्षको उमेरमा पढ्नको लागि फ्रान्स आएका देङ सियाओ पिङ होचा कदका थिए । होचा कदका चिनियाँलाई फ्रेन्च कम्पनीका मानिसले असाध्यै हेप्थे । विद्यार्थी जीवनमा पढ्न आएका देङ चिनियाँ कम्युनिष्ट पार्टीको प्रवास विभागको सम्पर्कमा आए । पाँच फिट दुई इन्चका यी पुड्का देङ आधुनिक चीनका महान् नेताको रुपमा विश्वले चिन्यो ।

फ्रान्सबाट फर्केपछि माओत्सेतुङको जनक्रान्तिमा सामेल देङ सियाओ पिङको क्रान्तिकारी जीवन भने सधैँभरि एक बागी र लडाकुको रुपमा रह्यो । चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव जस्तो पदमा पुगेकोे नेता, पार्टी अनुशासनको कारवाहीमा परेर ट्रयाक्टर कम्पनीको श्रम शिविरमा गुमनाम काम गर्न पठाइएका थिए । माओको निधनपछि मात्र चर्चामा आएका देङलाई कारवाही गरेर यसरी श्रम शिविरमा पठाउने कामको मुख्य षड्यन्त्र माओकी कान्छी श्रीमती जियाङ फिङको थियो ।

केही गरी देङ शक्तिमा आए भने आफ्नो हालीमुहाली सकिन्छ भन्ने उनलाई भय थियो । जनक्रान्तिको हरेक मोर्चामा सामेल देङ कमिसार हुँदै पार्टीको सैन्य विभागको जिम्मेवारी सम्हाल्दै महासचिवसम्म पुगेका थिए । मनैदेखि माओको क्रान्तिको लाइनमा समर्पित देङले पार्टीमा लागेकै कारण धेरै दुःख पाए । बाबुलाई पार्टीले कारवाही गरेकै कारण विज्ञान विषयमा उच्च शिक्षा पढिरहेका छोराले आत्महत्याको प्रयास गरे । एक जना भाइले आत्महत्या गरे, जमिन्दार बाबुको घरमा आगलागी भयो । छोरीहरुले पनि यातना भोगे । तर, उनी आफ्नो अडानबाट कत्ति पनि विचलित भएनन् ।

देङ माओको पुरातनपन्थी क्रान्तिको मोडेलप्रति असहमत थिए । उनी कृषि, उद्योग, सुरक्षा र विज्ञान प्रविधिमा अगाडि नबढी कम्युनिष्टको रेडबुक पढेर मात्रै देश बन्दैन भन्ने उनको विचार थियो । खासगरी माओको सांस्कृतिक क्रान्तिको विरोधमा थिए देङ । विदेशी पूँजी लगानीलाई स्वागत गर्नुपर्छ भन्ने विचारका देङले भन्थे– ‘बिरालो कालो होस् या सेतो मुसा मार्नुपर्छ ।’ उनी जन्मेको सिचुवान प्रान्तको चर्चित कहावतलाई उनले पार्टीको प्रशिक्षणको क्रममा उपयोग गर्थे ।

 

कम्युनिष्ट पार्टी भनेको ओलीले चलाएको गुट होइन, त्यो त फलामे अनुशासन भएको पार्टी हो । जहाँ कम्युनिष्ट पार्टीको सर्वोच्चता र सामूहिक नेतृत्वको संस्कृति हुन्छ । आफूलाई कम्युनिष्ट हुँ भन्ने कुरा बिर्सदा आज ओली केशरजंग रायमाझी बनेका छन् । यो उनको पतनको यात्रा हो ।

देङको यो सन्दर्भ नेपालका कम्युनिष्टहरुले सिक्नुपर्नेछ । त्यत्रो विशाल चीनको क्रान्तिको क्रममा हरेक मोर्चामा लडेका देङलाई सदाका लागि नामेट पार्न माओको समेत कान फुक्न सफल गुटविरुद्ध हरेक अपमानको प्याला उनले पिए । तर, उनी आफ्नो अडानबाट विचलित भएनन् । युरोपको औद्योगिक क्रान्ति, रुसको बोल्सेभिक क्रान्ति देखेर गएका सरल स्वभावका देङको लागि चीन र चिनियाँ जनता सधँैका लागि प्यारा भए । उनी कुनै पनि आरोपबाट मोर्चा छोडेर भागेनन् । बुझ्नुपर्ने के छ भने, सत्तामा पुगिसकेपछि यो वा त्यो रुपमा प्रभावित पार्दै व्यक्तिगत स्वार्थ पूरा गर्नेहरु पतन हुन्छन् । थाहै नपाई माओजस्ता नेतासमेत एउटा गुटको स्वार्थको निम्ति परिचालित भए । चिनियाँ सांस्कृतिक क्रान्ति आलोचित हुनुको कारण यो नै हो ।

लङमार्चको कठिन मोर्चामा समेत भोकै प्यासै लडेका देङ सामान्य ट्रयाक्टर कम्पनीको मजदुर भएर श्रम शिविरमा जान तयार हुनु नियम र अनुशासनको पालनाको अनुपम उदाहरण थियो । फलामे अनुशासन पार नगरी कुनै पनि क्रान्ति सफल हुँदैन भन्ने उदाहरण उनले दिए । निरन्तर लागिरहे फेरि समयले साथ दिनेछ भन्ने उदाहरण उनी बने ।

क्रान्तिबाट प्रभावित भएर आफू कम्युनिष्ट पार्टीमा लागेको भन्ने केपी शर्मा ओलीहरुले देङको जीवनी पढेका छैनन् ? पार्टी, विधि र पद्धति के हो भन्ने कुरा चिनियाँ कम्युनिष्ट पार्टीबाट सिकेका छैनन् ? सिकेका थिए भने कुन नैतिकताको आधारमा उनले सिंगो कम्युनिष्ट पार्टीलाई विभाजनतिर धकेले ? र, सिंगो कम्युनिष्ट आन्दोलन सखाप पार्न हिँडेका छन् ? कम्युनिष्ट पार्टी भनेको ओलीले चलाएको गुट होइन, त्यो त फलामे अनुशासन भएको पार्टी हो । जहाँ कम्युनिष्ट पार्टीको सर्वोच्चता र सामूहिक नेतृत्वको संस्कृति हुन्छ ।

आफूलाई कम्युनिष्ट हुँ भन्ने कुरा बिर्सदा आज ओली केशरजंग रायमाझी बनेका छन् । यो उनको पतनको यात्रा हो । नेपालका कम्युनिष्ट भनिएका गैरकम्युनिष्टहरुलाई जननेता मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’को नाममा लुटतन्त्र मच्चाउने गजब बाटो भएको छ । संसदीय अभ्यासमा गएपछि यस्तै हुन्छ भन्दै उनीहरु जे पनि गर्न तयार भएका देखिएका छन् ।

हुँदाहुँदा आफ्नो दुईतिहाइ निकटको सत्तालाई जोगाउन नसकेर पूर्ववत् पार्टीमा झरेर पनि अझै आफ्नै पार्टीलाई समेत चिरा पार्ने षड्यन्त्रमा लोकप्रियतावादका नयाँ प्रयोगकर्ता खड्गप्रसाद ओली लागिरहेका छन् । जीवनको उर्वर समय कम्युनिष्ट आदर्शमा व्यतित गरेर सत्तामा पुगेको मानिस आफ्नो आदर्शबाट कतिसम्म बिचलित हुँदोरहेछ भन्ने ज्वलन्त उदाहरण उनी बनेका छन् । अहंकार र अभिमानको घोडामा सवार यी बादशाहको हठले एउटा उचाइमा पुग्न आँटेको जनताको विश्वासलाई गल्र्यामगुर्लुम्म पारिदिएको छ ।

सहकर्मीहरुकै अपमान र तेजोबध गरेर ओली पुग्ने कहाँ हो ? न त उनका समर्थकहरुले सोचेका छन् न स्वयंले । पार्टीको कुनै पनि विधि र पद्धति मान्न आवश्यक नठान्ने यी हठी मानिस अब कम्युनिष्ट रहेनन् । उनी बजारमा जे बिक्छ, त्यही बेचेर राजनीतिको गल्लामण्डीमा उभिएका बनियाँजस्ता देखिएका छन् । सग्लो कम्युनिष्ट दललाई टुक्रा पारेर नपुगेर उनले एमालेसमेत फोर्ने बाटो लिएका छन् । असहमतहरुलाई निषेध गर्दा हुने भनेको विभाजन नै हो । सत्ताको रापताप क्षणिक हो ।

जमिनसम्मै विभाजित कार्यकर्ता लिएर पार्टीकहाँ पुग्ला भन्ने उनलाई चिन्ता पटक्कै छैन । उनी त जतिसक्दो चुनाव गराउन पाए उग्र समर्थकहरुको आड भरोसामा केही सिट जितिहाल्थेँ भन्ने मनस्थितिमा छन् । राज्यको ढुकुटी खर्च गरेर पञ्चर्याली गरेजस्तो कहाँ हुन्छ र भोलि सत्ताबाट बाहिर हटेका अवस्थामा ? त्यतिबेला कार्यकर्ताले सोध्नेछन्, जनताको बहुदलीय जनवादको नाममा जे पनि गर्न पाइने हो ? हुन त प्रश्न सोध्नेहरुलाई उनले दरकिनार गरिनैरहने छन् ।

उनको शासनमुनि प्रश्न गर्न मनाही छ । उनलाई पृथ्वीनारायणपछिका देशभक्त र राज्यका अधिपतिको रुपमा जसले धुपधुवाँर गर्छ, उसैको भलो हुने छ । माथिदेखि तलसम्म यही संस्कृतिको विकास गरिएको छ, यसबखत । एमालेभित्र पनि ओली समर्थकको मात्रै पार्टी बनाएर पुगिने कहीँ होइन । यसले कम्युनिष्ट आन्दोलनलाई बलियो होइन कमजोर बनाउँछ । सत्ताको चहकमहकमा अहिले ओली गुटका मानिसहरुले यो सत्य बिर्सिएका छन् ।

मुख्य कुरा म, मेरो परिवार, मेरा नातागोता, मेरा इष्टमित्र भएपछि कम्युनिष्ट आदर्श किताबको पानामा सीमित हुनेरहेछ । अहिले नेपालमा भइरहेको पनि त्यही हो । यति धेरै जनताको मायालाई खेलाँची मानेर ओलीले जुन कदम चाले, त्यो इतिहासको कालो पानामा अंकित हुनेछ । जसरी देङले हजार हण्डर ठक्कर खाएर पनि कम्युनिष्ट पार्टीको निम्ति जीवन व्यतित गरेर आफ्नो विचार र आदर्शलाई स्थापित गरिछाडे, नेपालका असल कम्युनिष्टहरुले पनि त्यो अपमान सहँदै जनतालाई प्रशिक्षित गर्दै फेरि जनतासँग जानुपर्ने भएको छ । ओलीको झुटको फेहरिस्त धेरै टिक्दैन । असल कम्युनिष्टहरुलाई समय लाग्ला तर, उनीहरुले विजय प्राप्त गरेरै छाड्नेछन् । मदनपोखरा पाल्पा

प्रतिक्रिया दिनुहोस्