Logo
Logo

प्रहरीमा पिएसओ आतंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गत शनिबार नेपाल प्रहरीका ६४ इन्सपेक्टरको डिएसपीमा बढुवा भयो । बढुवाको पहिलो नम्बरमा इन्सपेक्टर हरि खतिवडा नै पर्छन् भन्ने सबैलाई पहिले थाहा भइसकेको थियो । किनकि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओका रुपमा कार्यरत थिए । भीभीआईपीका पिएसओमा कार्यरतहरु स्वतः बढुवाको अग्रस्थानमा पर्न थालेका छन् ।

कसले इमान्दारीताका साथ काम गरेको छ भन्ने कुराको प्रहरीमा मूल्यांकन हुन छाडेको छ । जो शक्तिकेन्द्र र आईजीपीका नजिक छन् उनीहरु नै शक्तिशाली हँुदै गएका छन् । यसअघि एसपीको बढुवामा पनि प्रधानमन्त्री ओलीका निकट सानुराम भट्टराई आफ्नो ब्याचमा पहिलो नम्बरमा बढुवा भएका थिए ।
बढुवा मात्र होइन सरुवामा समेत पिएसओहरु नै हावी हुन थालेका छन् । गत साता केही डिएसपीहरुको सरुवा निस्कियो । दरबारमार्ग वृत्तमा नेकपाका अध्यक्ष प्रचण्डका पिएसओ बसेका बिनोद घिमिरेलाई पठाइएको छ । यसअघि पनि दरबारमार्ग वृत्तमा प्रचण्डकै पिएसओ दानबहादुर मल्ल त्यहाँ इन्चार्ज थिए । मल्लको बढुवापछि घिमिरेलाई पठाइएको हो ।
वडा प्रहरी कार्यालय बैदाम डिएसपीको अर्काे आकर्षक पोष्टिङ हो । जहाँ डिएसपी कोमल शाहलाई पठाइएको छ । शाह शेरबहादुर देउवाका पिएसओका रुपमा कार्यरत थिए । यसअघि स्वयम्भु वृत्तको इन्चार्ज खाइसकेका शाह देउवाको पिएसओ भएकै आधारमा बैदाम जाने अवसर पाए ।
प्रहरीमा पिएसओहरुको दबदबा नयाँ विषय होइन । विगतमा पनि प्रधानमन्त्री तथा मन्त्रीका पिएसओहरुको रवाफ थियो । तर, अहिले यसरी उनीहरु शक्तिशाली हुँदै गएका छन् कि आईजीपी निरीह देखिन थालेका छन् । ‘इन्स्पेक्टरको बढुवामा समेत प्रधानमन्त्री हावी हुन्छन् भने प्रहरी नेतृत्व कति कमजोर भएछ भन्ने प्रष्ट हुन्छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन्,‘यस्तै अवस्था हो भने कुनै दिन आईजीपीलाई पिएसओहरुले स्यालुट हान्ने छोड्छन् ।’
हुन त सबै पिएसओहरु शक्तिशाली छैनन् । तर, प्रहरी बढुवा तथा सरुवामा उनीहरु नै हावी हुँदा भने संगठनका चेन अफ कमाण्ड कमजोर हुँदै गएको छ । संगठनमा आईजीपी निरीह हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्