Logo
Logo

लयबद्ध स्त्री रोग विशेषज्ञका अनुभवहरु


प्रदीपराज दाहाल



जीवन के हो ? संघर्ष के हो ? त्यो संघर्ष गर्नेलाई मात्रै थाहा हुन्छ । जीवन र संघर्षको उद्देश्य पनि त्यस्तै हो । यस्तै, उद्देश्य र संघर्षले अनेक पाठ सिकाएका पात्र हुन्, स्त्री रोग विशेषज्ञ डा. विवेक प्रधान ।

क्यान्सर रोग उपचार र यसको निर्मुलीकरणका लागि अस्पताल निर्माण गर्नुपर्छ भन्ने सोच र उद्देश्य बोकेका प्रधानले सायद यस्तै आफ्ना संघर्ष र सफलता बुझेर होला, निकै मिहिनेत गरेर ‘भगवान पशुपतिनाथको आशिर्वाद’ नामक पुस्तक ल्याएका छन् । जसमा आफ्नो जीवनको भोगाइ र संघर्षहरु लयबद्ध प्रस्तुत गरेका छन् ।

स्त्री रोग विशेषज्ञ डा. प्रधानले पुस्तकमा अस्पताल निर्माण गर्दा भोगेको कष्टकर क्षण र लामो प्रक्रिया, विभिन्न व्यक्तिसँगको भेटघाट, वार्तालाप र त्यसपछि कसरी अस्पताल निर्माण गर्ने सोचले सार्थकता पायो भन्ने प्रश्नको उत्तर पुस्तकमा दिएका छन् ।

यो पुस्तकमा अस्पताल निर्माण हुनुअघि झण्डै तीन दशकअघि विभिन्न समयमा बेलायतमा रहँदा त्यहाँका साथीहरुबीच भएको कुराकानी र नेपाल आइपुगेपछि अस्पताल निर्माणका लागि अघि सारिएका योजना र परिणामको सविस्तार व्याख्या गरिएको छ ।

प्रधान, नेपालको पहिलो स्त्री रोग विशेषज्ञसमेत हुन् । उनले सन् १९६९ मा प्रसूतिगृह र वीर अस्पतालमा रहेर सेवा गरे । तर, नेपालको तत्कालीन समय मानिसहरुमा ज्ञानको कमीले गर्दा उनले स्त्रीरोगबारे खासै जानकारी गराउन सकेनन् ।

सन् १९९२ मा गम्भीर प्रकृतिको बिरामीका कारण चिकित्सकबाट सेवा निवृत्त भएपछि उनले सारा जीवन भक्तपुर क्यान्सर अस्पताल निर्माण गर्न निकै संघर्ष गरेको पुस्तकमा उल्लेख गरेका छन् ।

हिजोआज अस्पताल व्यापारका लागि भए पनि त्यतिबेला अस्पताल र डाक्टर भन्नासाथ सेवाभाव नै प्रमुख उद्देश्य हो भन्ने बुझिन्थ्यो । त्यही कुरा सोचेर विदेशमा रहेर नेपालमा क्यान्सर अस्पताल बनाउने योजना बुन्ने र सबैको ध्यान आकर्षित गर्न सफल भएकोमा लेखक एवं चिकित्सक प्रधान धन्यवाद र कृतज्ञताका पात्र हुन् ।

पुस्तकमा प्रधानले बिरामी भएर सेवा निवृत्त भएको तीन वर्षपछि नेपालका पहिलो शाही सर्जन डा. अन्जनीकुमार शर्मासँग भेट हुँदा उनैले नेपालमा क्यान्सर रोग निरुपण गर्न गरेको आग्रहको चर्चा गरेका छन् । उनले नेतृत्व गरिरहेको नेपाल क्यान्सर राहत समाजले सन् १९९४ मा बेलायतको म्यान्सफिल्डस्थित रोटरी क्लवलाई पठाएको चिठी र त्यसपछि बनेको अस्पताल बनाउने योजनालाई निकै रोचक ढंगमा प्रस्तुत गरेका छन् ।

पुस्तकमा प्रधानले अस्पताल बनाउने योजनाभन्दा अघि सन् १९९५ मा डा. अन्जनी कुमार शर्माले गरेको आग्रह पत्रलाई म्यान्सफिल्डको रोटरी क्लवको बैठकमा पेश गरेको घटनालाई पनि सविस्तार लगाएका छन् । र, त्यसपछि कसरी नेपाल क्यान्सर हेरचाह परियोजना बन्यो भन्ने विषय पुस्तकमा प्रधानले निकै उत्साहका साथ उल्लेख गरेका छन् ।

नेपालमा स्वास्थ्यको क्षेत्रमा लगानी नभएको भने होइन, तर, समुदायमा अस्पताल खोल्दा लगानी कसरी सम्भव छ ? यसमा एक्लै अघि सर्ने वा हातेमालो गरेर अघि बढ्ने भन्ने विविध प्रश्न र त्यसलार्ई दिलोज्यानले कसरी सार्थक बनाउन सकिन्छ भन्ने प्रधानले राम्रो उत्तर पुस्तकमा यात्रा स्मृतिजस्तै दिएका छन् ।

सन् १९९५ तत्कालीन समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा रहेका अर्जुननरसिंह केसीले त्यसबेला लिएको बोल्ड निर्णयले क्यान्सर अस्पताल बनाउने बाटो खुल्यो । यो निर्णयबाट डा. प्रधान उत्साहित बने । आफ्नो अनुभवको महत्वपूर्ण पाटोको रुपमा उनले मन्त्री केसीलाई स्मरण गरेका छन् ।

नेपालले स्वास्थ्य क्षेत्रमा फड्को कसरी मार्दै गयो, स्वास्थ्य क्षेत्रमा विदेशी सहयोग आउने बाटो कसरी निर्माण भयो, अस्पताल निर्माण गर्न कति सकस थियो, कतिसम्मको पापड पेल्नुपथ्र्यो भन्ने प्रश्न र तत्कालीन समयको अवस्थाको सही चित्रण यस पुस्तकमा लेखकले उतारेका छन् ।

नेपालमा स्वास्थ्यको क्षेत्रमा लगानी नभएको भने होइन, तर, समुदायमा अस्पताल खोल्दा लगानी कसरी सम्भव छ ? यसमा एक्लै अघि सर्ने वा हातेमालो गरेर अघि बढ्ने भन्ने विविध प्रश्न र त्यसलार्ई दिलोज्यानले कसरी सार्थक बनाउन सकिन्छ भन्ने प्रधानले राम्रो उत्तर पुस्तकमा यात्रा स्मृतिजस्तै दिएका छन् । समयचक्रको बारेमा त्यसरी नै लेखिएको छ ।

हाम्रो सोच स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन सक्नेगरी काम गर्दा त्यो पनि, त्यो समयमा जुनबेला मुलुकमा राजनीतिक घटनाक्रम तीव्र रूपमा विकसित हुँदै गएको थियो, त्यस्तो समयमा पनि पटकपटकको ताकेता, विभिन्न पक्षसँग छलफल, शाही परिवारलाई समेत ध्यानमा राखेर विकास गर्नु चानचुने थिएन ।

आफ्नो मानसपटलमा त्यसबखत भएका स–साना कुरालाई पनि पुस्तकमा सरल र छोटो वाक्यमा प्रस्तुत गर्न प्रधान सफल भएका छन् । पुस्तकमा उनले हरेक स्मृतिलाई समयक्रम राख्न सफल भएका छन् । तर, पुस्तक पढिरहँदा एउटै विषयलाई टुंग्याउन पनि पाठकले अलिक बढी नै शब्द खर्चेको भान हुन्छ । त्यसतर्फ भने लेखक अलिक पछि परेको देखिन्छ ।

समग्रमा भक्तपुर क्यान्सर अस्पताल निर्माणको इतिहास र यसको उद्देश्य एवं यसमा रहेका सहयोगी हात कोको हुन् भन्ने प्रश्नको उत्तर भने सहज ढंगले प्राप्त गर्न सकिन्छ । त्यतिमात्र नभई फ्लोरक्रस गरेर कसरी काम अघि बढेको थियो भन्ने प्रश्न पनि यो पुस्तकबाट सहजै भेटाउन सक्छन् ।

अन्त्यमा, लाखौं बिमारीको उपचार गरेको भक्तपुर क्यान्सर अस्पतालको इतिहासलाई पुस्तकले पुर्नताजगी गरेको छ । पाठकलाई नयाँ विधाको अध्ययन गर्ने मौका दिएकोमा प्रधान धन्यवादका पात्र बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्