Logo
Logo
चुरेमा विनाश

चुरेमा डोजर आतंक : उच्च जोखिममा अधिकांश वस्ती


हिक्मत बम


कैलाली । चुरे क्षेत्रका वनजंगलमा अवैधानिकरुपमा सडक निर्माण कार्यहरु धमाधम भइरहेका छन् । पछिल्लो समय स्थानीय सरकार गठन भएपछि सडक निर्माणमा क्रान्ति गर्ने भन्दै ठेकदारसँग मिलेमतोमा चुरेका वनजंगलहरुमा अवैधरुपमा डोजर लगाइरहेका छन्  । जसले चुरे क्षेत्रमा आतंक पैदा भएको छ ।

स्थानीय सरकार गठनसँगै चुरेका वनजंगलमा अवैध रुपमा डोजर चलाउने कार्य भएकाले चुरेका अधिकांश बस्तीहरु पहिरोको उच्च जोखिममा छन् । कैलाली जिल्लाको चुरे क्षेत्रमा पर्ने दुई वटा स्थानीय तह चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकामा स्थानीय जनप्रतिनिधि र वनका ठेकेदारको मिलेमतोमा सडक निर्माणका नाममा डोजर आतंक मच्चाइएको छ ।

चुरे क्षेत्रमा सडक निर्माण गर्दा वतावरणीय प्रभाव मुल्यांकन गरेर सडक निर्माण गनुपर्ने हुन्छ । तर, स्थानीय जनप्रतिनिधि र ठेकेदारहरुले आफ्नो फाइदाका लागि मनोमानी ढंगले प्राविधिक आंकलनबिनै सडक निर्माण गर्ने गरेका छन् ।

सडक निर्माणका नाममा चुरे र मोहन्याल गाउँपालिकाको वन क्षेत्रमा अवैधानिक रुपमा हरिया सालका रुखहरु ठूलो परिणाममा काटिएका छन् । र, वैज्ञानिक वनका नाममा समेत ठूलो परिणामा रुखहरु कटानी भइरहेको छ । जुन काटिएका रुखहरु चुरे क्षेत्रको वनको सिरानमा रहेका छन् । तल मानव वस्ती रहेको छ, जसले गर्दा वस्तीहरु जोखिममा पर्ने देखिन्छ ।

स्थानीय सरकार र वनका ठेकेदारको मिलेमतोमा निर्माण भएका अवैधानिक सडकहरुले आफ्नो वस्ती जोखिममा परेको बताउँछन, चुरे गाउँपालिका वडा नम्बर ५ का स्थानीय हर्कसिंह धामी । उनले भने, ‘स्थानीय सरकारले सडक निर्माण गर्दा वस्तीहरु कतिको जोखिममा छ भनेर ध्यानमा राख्नुपर्ने हो । तर, बस्तीमा पर्ने क्षतिलाई ध्यानमा नराखेर ठेकदारसँगको मिलेमतोमा सडक काटेर हाम्रो बस्ती नै जोखिमा पारियो ।’

धामीले स्थानीय जनप्रतिनिधि र ठेकदारको मिलेमतोमा निर्माण भएका अवैधानिक सडकले उनीहरुलाई त फाइदा भएपनि सामाजिक हिसाबले फाइदा नहुने बताए । उनले बस्तीमा पर्ने जोखिमलाई ध्यनमा नराखी निर्माण गरिएका चुरेका अवैधानिक सडकहरु हरिया सालका रुखहरु काट्ने उद्देश्यले डोजर चलाइएको बताए ।

सडक निर्माणको नाममा अवैधरुपमा वन फडानी भएको बताउँदै मोहन्याल गाउँपालिका वडा नम्बर ७ का स्थानीय लिला माझीले चुरेमा अवैध रुपले सडक निर्माण गर्नुमा स्थानीय जनप्रतिनिधिको स्वार्थ रहेको बताए ।

अवैधरुपमा सडक निर्माण भएका सडकहरुले मानव बस्ती नै जोखिममा पारेको छ । माझीले सडक निर्माण हुनु भनेको स्थानीयका लागि खुशीको कुरा भएपनि बस्ती नै जोखिमा पारि सडक निर्माण गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरित भएको बताए ।

अवैध सडकहरु निर्माणले चुरे क्षेत्रको हरियो वनजंगल दिनानुदिन विनासको चपेटामा पर्दै जान थालेको छ । चुरे क्षेत्रमा भइरहेको अवैधानिक सडक निर्माणले गर्दा वनजंगल फडानी हुने गरेको छ । जसले गर्दा चुरे विनासको चपेटामा पर्नुका साथै चुरेको तल्लो तटिय क्षेत्रका बस्तीहरु बाढी पहिरोको उच्च जोखिमा पर्न थालेका छन् ।

अवैधानिक सडक निर्माणले चुरे गाउँपालिका वडा नम्बर १, २, ५ र ६ का अधिकाँस बस्तीहरु बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । वडा नम्बर १ को घोडेथर, वडा नम्बर २ को देशना, कनकिडी, वडा नम्बर ५ को मौरी, गोपाले तलीया र वडा नम्बर ६ को गजार, ढुंगेनीलगायतका बस्ती बाढी पहिरोको उच्च जोखिमा रहेका छन् भने मोहन्याल गाउँपालिकाको पण्डौन, खिमडी, कोल्तडीलगायतका बस्तीहरु पनि जोखिमा परेका छन् ।

चुरे क्षेत्र आफैँमा अति संवेदनशील छ । यो क्षेत्र हाम्रो दैनिकीसँग जोडिएको छ । यसले मानव अस्तित्व पनि बचाएको छ । जसले हाम्रो अस्तित्व जोगाएको छ, त्यसको संरक्षण गर्नुपर्नेमा विनास गरिरहेका छाँै । यसले गर्दा जैविक विविधतामा समस्या परेको छ भने वातावरणीय सन्तुलनमा खलल् पुगेको छ ।
त्यसैले चुरे जोगिएन भने तल्लो तटिय क्षेत्रको उर्भरभूमि र मानव अस्तित्व संकटमा पर्छ भन्ने कुरा निश्चित छ । यसो हुँदाहुँदै पनि विकास निर्माणका नाममा जताततै डोजर आतंक र वन विनासका कार्यहरु बढ्दै जान थालेपछि तराईको अस्तित्व पनि संकटमा पर्दै जान थालेको छ ।
सडक निर्माण गर्दा ढल निकासका लागि ढल बनाउनुपर्ने हुन्छ । तर, चुरेमा अवैधानिकरुपमा निर्माण गरिएका सडकमा ढल बनाइएको छैन । जसले गर्दा निर्माण भएका सडकहरु वर्षातको समयमा खहरेमा परिणत हुने गरेका छन् । प्रकृतिलाई नै चुनौती दिँदै निर्माण गरिएका सडकहरुले दैवीप्रकोप, प्राकृतिक प्रकोपहरुको समस्या देखापर्ने देखिन्छ ।

ढन निकासको व्यवस्थापन नगरी निर्माण गरिएका सडकहरुले वर्षातको समयमा निर्माणाधीन सडकहरु खहरेमा परिणत भएका छन र हुने पनि देखिन्छन् ।

विगतमा स-साना अवस्थामा रहेका खोला र खोल्सीहरुले हरेक वर्ष वर्षातको समयमा खहरेमा परिणत हुँदै आएको छ ।
यसले एकातिर उत्पादनमा कमि ल्याइरहेको छ भने अर्कोतर्फ हरेक वर्षात्को समयमा तल्लो तटिय क्षेत्रका डुबान र नदी कटानजस्ता समस्याले मानव अस्तित्वसमेत संकटमा पर्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्