Logo
Logo

दुर्गाप्रसादको उपचार र क्षतिपूर्तिको पहल प्रदेश सरकारले गर्ने


दृष्टि संवाददाता


विराटनगर । हत्या आरोपमा ४० वर्ष भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश नम्बर १ सरकारले गर्ने भएको छ ।

उनको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश १ सरकारले मिलाउने सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की जानकारी दिए ।

‘जेलबाट छुटेर आएपछि उहाँको स्वास्थ्य अवस्थाको बारेमा विभिन्न कुराहरु उठेका छन्,’ उनले भने, ‘अब उहाँको सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ, उपचारका लागि परिवारसँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छु ।’

मन्त्री कार्कीका अनुसार इलामका प्रमुख जिल्ला अधिकारीले परिवारसँग सम्पर्क गरेकाले केही दिनभित्र स्वास्थ्य जाँच गरिने बताए । ‘प्रारम्भिक चरणमा इलाम वा बिर्तामोडमा स्वास्थ्य जाँच हुन्छ,’ उनले भने, ‘रिपोर्ट कस्तो आउँछ हेर्छौं, थप उपचार गर्नुपरे खर्च सरकारले व्योहोर्छ ।’

दुर्गाप्रसादका लागि क्षतिपूर्ति दिलाउनका लागि आफ्नो पक्षबाट सक्दो प्रयास गर्ने पनि कार्कीले बताए । ४० बर्षको जेल जीवनपछि गत आइतबार दुर्गाप्रसाद इलाम आएका थिए ।

प्रतिक्रिया दिनुहोस्