Logo
Logo

वुमन्स च्याम्पियनसिप : मासाद्वारा कराची ३५-० ले पराजित, अनिता एक्लैले १६ गोल गरिन्


दृष्टि संवाददाता


काठमाडौं । पाकिस्तानमा जारी नेसनल वुमन्स च्याम्पियनसिपमा मासा युनाइटेडले लगातार तेस्रो जित निकालेको छ । नेपाली खेलाडीको उच्च प्रदर्शनमा मासा युनाइटेडले कराची एफसीलाई ३५-० गोलले हराएको हाे ।

मंगलबार भएकाे खेलमा नेपाली चार खेलाडीले ३० गाेल गरे । अनिता केसीको १६ गोल गरिन् । सरु लिम्बुले १०, गीता राना र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले समान २ गोल गरिन् । ५ गोल पाकिस्तानी खेलाडीले गरे ।

नेसनल वुमन्स च्याम्पियनसिपमा ३५-० को जित अहिलेसम्मको फराकिलो अन्तरको नतिजा हो । यसअघि पाकिस्तान आर्मीले २५-० जित निकालेको बताइएको छ ।

मासाले मंगलबार पहिलो हाफमा १५-० को अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमा नै अरिबाको गोलमा अग्रता बनाएको मासा युनाइटेडले त्यसपछि लगातार जस्तो गोल गरेको हो। गीताले खेलको चौथो मिनेटमा टिमको लागि दोस्रो गोल गरेकी थिइन्। गीताले दोस्रो गोल आठौं मिनेटमा गरिन् ।

अनिताले खेलको ११, १३ र १६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि उनले १९, ३७ र ४० औं मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन् । पहिलो हाफको अन्तिम समयमा सातौं गोल गरेकी अनिताले ५५, ५७, ६०, ७०, ७३, ८७, ८८, ८९ औं मिनेटमा गोल गरिन्। उनले १६ औं गोल भने खेलको अन्तिम समयमा गरिन्।

त्यस्तै, खेलको ३४, ५० र ५६ औं मिनेटमा गोल गर्दै सरुले पहिलो ह्याट्रिक गरिन्। उनले ६७, ६९ र ७१ औं मिनेटमा दोस्रो ह्याट्रिक गरिन्। ७६, ७८, ९० र खेलको इन्जुरी समयमा गोल गर्दै उनले १० गोल पूरा गरिन् ।

गोलपिकर एन्जिलाले समेत खेलमा दुई गोल गरिन्। उनले ३९ र ४३ औं मिनेटमा गोल गरिन्। उनले एक गोल पेनाल्टीमा गरेकी थिइन् ।

यसअघिको खेलमा नेपाली खेलाडी चम्कँदा मासाले हायर एजुकेसन कमिसन टोलीलाई ४–० र सियालकोट सिटीलाई १९–० हराएको थियो। नेपाली खेलाडी पाकिस्तान महिला च्याम्पियनसिप खेल्न पहिलो पटक गएका हुन्।

प्रतिक्रिया दिनुहोस्