Logo
Logo

सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे  बैंकको क्युआर कोड सेवा


दृष्टि संवाददाता


काठमडौं । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिकमाझ डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित आक्रामक रुपमा लागिरहेको माछापुच्छ्रे  बैंकले देशका सातै प्रदेशमा क्युआरकोड सेवा सुरुवात गरेको छ । २०७७ चैत ८ गते आइतबार नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेतस्थित कृषि बजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाइन, अल्का यातायात, नमूना हङकङबजार हटियालाइन गरी चार स्थानमा क्युआरकोड सेवाको सुरुवात गरेका छन् ।

त्यसैगरी नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले २०७७ चैत १० गते मंगलवार राजधानीको मनोहरास्थित तरकारी बजारमा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलको प्रमुख आतिथ्यतामा व्यवसायीलाई क्युआरकोड हस्तान्तरण गरेको छ । यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रम गरी क्युआरकोड सेवा सुरु गरेको थियो ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकका साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाका कारणले गर्दा क्युआरकोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे  बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानमा आक्रमकरुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसल, यातायात सेवालगायतका विभिन्न व्यसायीलाई प्रदान गरेको क्युआरकोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ सेवाको पहुँच नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे  बैंकले आक्रामकरुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्