चितवनमा राष्ट्रिय परिचयपत्र वितरण सुरू « Drishti News – Nepalese News Portal
Logo

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण सुरू


दृष्टि संवाददाता


चितवन । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।

उनका अनुसार जिल्लामा चार हजारको परिचयपत्र आइसकेको छ । परिचयपत्र आएसँगै वितरणको प्रक्रिया शुरु गरिएको उनले जानकारी दिए । यही चैत ४ गतेदेखि वितरणको काम शुरु गरिएको उनले बताए । उनले भने, ‘राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया चैत ४ गतेदेखि शुरु भएको छ । अहिलेसम्म १०५ जनाले परिचयपत्र लगिसकेका छन् ।’

शुरुमा आँखाको आकार नलिइएको हुँदा परिचयपत्र आएकाहरूलाई स्वयं उपस्थित गराएर आँखाको आकारको चित्र लिएर मात्रै वितरण गर्दै आएको उनले बताए । ‘शुरुको चरणमा विवरण दर्ता गरेका सेवाग्राहीको आँखाको रेटिना लिइएको थिएन, त्यसैले हामीले व्यक्ति स्वयंको उपस्थितिमा मात्रै हाम्रो सिस्टममा राखेर दिने गरेका छौँ’, उनले भने । सेवाग्राहीलाई प्रशासन कार्यालयले आधिकारिक फेसबुक पेजबाट सूचना जारी गरेर कार्ड लिन आउन आग्रह गरे पनि तुलनात्मकरुपमा कार्ड लिन आउनेको सङ्ख्या कम रहेको उनको भनाइ छ ।

छुटेका र नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई भने प्रशासन कार्यालयबाटै विवरण सङ्कलन गराइरहेको सूचना अधिकारी पौडेलले बताए । हाल दैनिक सरदर ८० देखि ९० जनाको विवरण सङ्कलन हुँदै आएको उनले जानकारी दिए । सरकारले व्यक्तिको सबै विवरण परिचयपत्रमै समावेश गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि चितवनबाट हालसम्म तीन लाख ११ हजार ४७१ जनाले विवरण दर्ता गरेका छन् । विसं २०७६ असार १९ गतेबाट विवरण सङ्कलन शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्