Logo
Logo

सर्वसाधारलाई हतियार राख्न नदिने तयारीमा अमेरिका


दृष्टि संवाददाता


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणसम्बन्धी कानुन यथाशीघ्र पास गराउन सांसदहरुलाई आग्रह गरेका छन् । पछिल्लो एक हप्तामा दुईवटा बन्दुक आक्रमण भएसँगै बाइडेनले यस्तो आग्रह गरेका ह्वाइट हाउस स्रोतलाई जनाउँदै बीबीसीले उल्लेख गरेको छ ।

यहाँको हाउस अफ रिप्रिजेन्टेटिभबाट गएको मार्च ११ मा पारित भएका दुईवटा विधेयक पारित गर्न उनले सिनेटसमक्ष आग्रह गरेका हुन् । उक्त विधेयक पास भएमा हतियार बिक्रेताको पृष्ठभूमि जाँच्ने अधिकारको दायरालाई थप बढाउने जनाइएको छ ।

‘भविष्यमा थुप्रै जीवनको रक्षा गर्ने सामान्य ज्ञानको यस विषयमा कदम चाल्न मलाई एक मिनेट पनि प्रतीक्षा गर्न जरुरी छैन,” बाइडेनले भने, “यस विषयमा गम्भीर कदम चाल्न म सिनेट र हाउसका मेरा सहकर्मीहरुसँग आग्रह गर्दछु ।’ आफ्नो चुनावी अभियानमा समेत बाइडेनले बन्दुकसम्बन्धी अपराध नियन्त्रण गर्नेे विषयलाई पटक–पटक दोहोर्‍याएका थिए ।

गएको सोमबार कोलोराडोस्थित सुपरमार्केटमा एक बन्दुकधारीले १० जनाको ज्यान लिने गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसको ६ दिनअघि एटलान्टामा पनि अर्का एक व्यक्तिले त्यसैगरी आठजनाको ज्यान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्