Logo
Logo

जग्गा बिक्री गर्न अस्वीकार गर्दा वृद्ध दम्पतीको हत्या


दृष्टि संवाददाता

37.8k
Shares

 

६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ५८ वर्षीया गीतादेवी झा । तस्बिर : अन्नपूर्ण

जलेश्वर । जग्गा बिक्री गर्न अस्वीकार गर्दा वृद्ध दम्पती मुसाफिर झा र उनकी पत्नी गीतादेवीको हत्या भएको पाइएको छ। महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडबाका झा दम्पतीलाई फागुन ११ गते राति ओछ्यानसहित बेपत्ता पारिएको थियो। उनीहरूको शव बोरामा पोको पारेर गाडेको अवस्थामा भेटिएको छ।

‘सुतेकै ठाउँमा धारिलो हतियारले दम्पतीको हत्या गरिको रहेछ। त्यसपछि घटना दबाउन उनीहरूको शव ओछ्यानमै बेरेर घरबाहिर लगेको देखियो’, महोत्तरीका एसपी दिनेश आचार्यले भने, ‘महिना दिनदेखि बेपत्ता पारिएको दम्पतीको शव पिपरा–१ एकरैयामा बोरामा राखेर जमिनमुनि गाडेको अवस्था भेटियो।’

मुसाफिर र गीताले लगाएका कपडा, हातको चुराका आधारमा उनीहरूको पहिचान परिवारजनले गरेका हुन्। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।

वृद्ध दम्पतीलाई अपहरण गरी बेपत्ता बनाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी चैत ८ गते सार्वजनिक गरेको थियो। स्थानीय रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र र राजेन्द्रसहित भारतको बिहार मधुवनीका हरेन्द्र ठाकुर पक्राउ परेका हुन्।

उनीहरूविरुद्ध बेपत्ता, अपहरण तथा शरीर बन्धकको उजुरी दर्ता गरी अनुसन्धान बढाइएको थियो। अब बेपत्ता दम्पतीको शव नै भेटिसकेकाले कर्तव्य गरी हत्या गरेको अभियोगमा थप मुद्दा लाग्ने प्रहरीले जनाएको छ ।, यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्