Logo
Logo

प्रतिगमन विरोधी पत्रकारबीच सहकार्य हुने, अध्यक्ष युनियनलाई


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनका लागि प्रतिगमन विरोधी पत्रकारबीच सहकार्य हुने भएको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र अन्य संगठनबीच सहकार्य गर्ने सहमति भएको हो ।

संगठनहरुबीच भएको सहमति अनुसार प्रेस युनियनले अध्यक्ष, प्रेस संगठन (साविक प्रेस सेन्टर)ले महासचिव पद पाएको छ भने प्रेस चौतारीले कोषाध्यक्ष पाएको छ । एकतामा सहभागी प्रगतिशिल पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र जनपत्रकार संगठन नेपाल लगायतलाई पनि सोही अनुसार पद बाँडफाँट गरिएको छ ।

पत्रकार महासंघको निर्वाचनमा वामपन्थी पत्रकारबीच सहकार्य गर्ने सम्भावना भने सकिएको छ । चैत ५ गते बसेको प्रेस चौतारी नेपालको बैठकले वामपन्थी पत्रकारहरु मिलेर जाने प्रस्ताव अघि सारेको थियो । बैठकमा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार किशोर श्रेष्ठले संगठनका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई साझा उम्मेदवारका रुपमा प्रस्ताव गरेका थिए ।

पूर्व अध्यक्ष श्रेष्ठको नेतृत्वमा निर्वाचनमा सहभागी भए पत्रकार महासंघमा वामपन्थी नेतृत्व स्थापित गर्न सक्ने अवसर रहेको भन्दै श्रेष्ठले प्रस्ताव गरेका हुन् । सोही अनुसार वामपन्थी पत्रकारबीच छलफल अघि बढेको थियो ।

तर, प्रेस चौतारीका गणेश वस्नेत, राजेन्द्र अर्याल, सूर्य थापा लगायत बालुवाटार गुटले वामपन्थी सहकार्य अस्वीकार गरेपछि वामपन्थी पत्रकारबीच सहकार्यको सम्भावना समाप्त भएको हो । केन्द्रमा वामपन्थी शक्तिबीच सहकार्य नहुने भएपछि प्रदेश, जिल्ला तथा अन्य संरचनामा समेत प्रभाव पर्ने भएको छ ।

यस्तो छ निर्वाचन तालिका–
निर्वाचन कार्यतालिका अनुसार आज (चैत १३ गते) अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । चैत १४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन, साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

त्यस्तै, चैत १७ गते दिउँसो १ बजेसम्म उम्मेदवार उपरको दाबी विरोध, दिउँसो ३ बजे सम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ भने ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

निर्वाचन तालिका अनुसार चैत २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजे सम्मको लागि मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्