Logo
Logo

घातक तुँवालो : विपद्को रूप लिन सक्ने, सचेत रहन आग्रह


दृष्टि संवाददाता


काठमाडौं । प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा काठमाडौंको आकाश तुँवालोले ढाकेको छ । दक्षिण एसियामै उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिँदा वातावरण सुक्खा बनेको थियो ।

यही वेला डढेलो तथा आगलागीको धुवाँले प्रदूषण ह्वात्तै बढाइदिएको हो ।बिहीबार ४५ जिल्लाका चार सय ७९ र शुक्रबार ५४ जिल्लाका चार सय ३७ स्थानमा डढेलो लागेको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालको तथ्यांक छ । यसबाहेक मुलुकका विभिन्न बस्तीमा आगलागी भएको छ ।

आकाश तुँवालोले ढाक्नुका साथै पानी नपर्दा शुक्रबार ललितपुरको भैँसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा ३०८ सम्म पुगेको थियो । शुक्रबार अपराह्न २ बजेयता काठमाडौंमा वायुको गुणस्तर सूचकांक एक्युआई ४७० सम्म पुग्यो ।

चितवन, धुलिखेल, पोखरा, सिमरा, दमक, धनगढीलगायतका क्षेत्रमा पनि प्रदूषणको मात्रा उच्च पुगेको छ । जब कि यो सूचकांक २०० नाघ्नुलाई अति अस्वस्थकर र ३०० नाघ्नुलाई घातक मानिन्छ । तुँवालोका कारण ‘भिजिबिलिटी’ कम हुँदा शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा उडानसमेत प्रभावित भयो ।

घातक प्रदूषण
सरकारले गत वर्ष स्वीकृत गरेको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनामा एक्युआई ३०० नाघे विपद्को रूप लिने भनिएको छ । यस्तो वेला सरकारले प्रदूषण नियन्त्रणका लागि कदम चाल्नुपर्ने हुन्छ । तर, वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशी आइतबारसम्म अवस्था हेरेर ‘अलर्ट’ जारी गरिने बताउँछन् । यद्यपि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर ‘मर्निङ वाकमा नजान, बालबालिका र ज्येष्ठ नागरिकको ख्याल गर्न, धुलो उड्ने खाले निर्माण केही दिनका लागि स्थगन गर्न र अत्यावश्यक नभई सवारीसाधन नचलाउन’ आह्वान गरेको छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्