Logo
Logo

म्यान्मारमा एकै दिन कम्तीमा ११४ जना प्रदर्शनकारी मारिए


दृष्टि संवाददाता


काठमाडौं । म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध दिनहुँजसो विरोध प्रर्दशन भइरहेको छ । यसैबीच शनिबार गरिएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी मारिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार प्रदर्शनमा ११४ जना मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भनेको छ, ‘म्यान्मार नाउ’ अनलाइनले १३ वर्षीया किशोरीसहित कम्तीमा ११४ जना मारिएको उल्लेख गरेको छ । प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका मारिएका छन् भने हालसम्म मारिएकाको संख्या ४ सय नाघेको समाचारमा उल्लेख छ ।

बीबीसीका अनुसार सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याए पनि चुनावको मितिबारे केही उल्लेख भने गरेको छैन । ३० मिनेट लामो भाषणका क्रममा ह्यालिङले ‘सेनाले म्यान्मारका जनतालाई बचाउने र लोकतन्त्रप्रति उनीहरूको तिर्खा मेटाउने’ जनाएको समाचारमा जनाइएको छ ।

शनिबार भने विदेशी पाहुना रुसी उपरक्षामन्त्री एलेक्सेन्डर फर्मिनमात्र उपस्थित थिए । आफ्नो भाषणका क्रममा ह्यालिङले ‘रुस आफ्नो सच्चा मित्र भएको’ बताएका थिए । म्यान्डले सहरमा १३ वर्षीया किशोरीसहित कम्तीमा ४० जनाको ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । २७ जना यांगुनमा मारिएका छन् ।

त्यसैगरी, थाइल्यान्डसँगको सीमा क्षेत्रमा १० जनाले ज्यान गुमाएको जनाइएको छ । सागइङ्ग, लास्हिओ, बागोलगायत २८ स्थानमा सुरक्षाकर्मीको गोलीले अन्य प्रदर्शनकारी मारिएका हुन् । म्यान्मारस्थित अमेरिकी दूतावासले ‘सुरक्षाफौजले निहत्था नागरिकको हत्या’ गरिरहेको जनाएको छ ।

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेपछि लोकतन्त्र पक्षधरहरू आन्दोलित भइरहेका छन् । उनीहरूले देशका प्रमुख सहरहरूमा दिनहुँजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् । यसअघिका प्रदर्शनमा ३ सय २८ को ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघका अनुसार पत्रकार तथा अधिकारकर्मीसहित सयौं मानिस प्रहरी नियन्त्रणमा छन् ।

पछिल्लो समय म्यान्मारमा सैनिक ‘कु’ विरोधी प्रदर्शन चर्कंदै गएपछि अमेरिका, बेलायत, क्यानडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सैनिक नेतृत्वमाथि प्रतिबन्ध घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्