इतर आवाज साहित्य समाजद्वारा जनजाती साहित्यकार महासंघलाई बधाई ज्ञापन « Drishti News – Nepalese News Portal
Logo

इतर आवाज साहित्य समाजद्वारा जनजाती साहित्यकार महासंघलाई बधाई ज्ञापन


दृष्टि संवाददाता


काठमाडौं । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको छ । आइतबार कोटेश्वरस्थित होटेल रत्नज्योतिमा सम्पन्न कार्यक्रममा इतरले आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको हो ।

महासङ्घका तर्फबाट इतरलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष राजन मुकारुङले पहिचानको बहसलाई महासङ्घले थप प्राज्ञिक बनाउँदै लैजाने बताए । उनले पहिचानको आन्दोलनलाई सशक्त बनाउनका लागि मुद्धा मिल्ने सँस्थाहरुबीच कार्यगत एकता आवश्यक रहेको बताए ।

नेपालको शिक्षापद्धति नै त्रुटिपूर्ण रहेकोले यसको परिमार्जन गर्दै आदिवासी जनजाति र सिमान्तकृत समुदायको सौन्दर्यशास्त्रलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्म पठनपाठन गराउनका लागि पाठ्यक्रम निर्माण गर्ने लक्ष्य महासङ्घको रहेको उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा सँस्थाको तर्फबाट बोल्दै खोम गुरुङले आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घसँग आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने बताएका छन् । पहिचानको आन्दोलनलाई गति दिनका लागि महासङ्घले परिणाममुखी कामहरु गरेर देखाउनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा आमन्त्रित अतिथिहरुले पनि महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाका प्रतिनिधि मातृका नेम्बाङले कविताकृति इतर कविताुमाथि विमर्श कार्यक्रम पनि केही दिनभित्रै आयोजना गर्ने तय भएको जनाएको छ ।

गत चैत ७ र ८ मा सम्पन्न महासङ्घको दुई दिने राष्ट्रिय भेलाबाट लेखक राजन मुकारुङको अध्यक्षतामा प्रथम केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो । भेलाबाट महासङ्घले कार्यसमितिसँगै प्राज्ञिक परिषद पनि गठन गरेको थियो । आइतबार सम्पन्न कार्यक्रममा इतरले महासङ्घको प्राज्ञिक परिषदका सदस्यहरुलाई पनि बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा इतर आवाज साहित्य समाज, दक्षिण कोरियाको तर्फबाट प्रतिनिधिका रुपमा खोम गुरुङ र मातृका नेम्बाङ उपस्थित थिए । कलाकार तथा साहित्यकारहरु बिमला तुम्खेवा, प्रकाश आङ्देम्बे, स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो, छम गुरुङ, श्याम शाह, ब्रबिम शेर्मा, अनिल सुब्बा, उत्तम लिम्बू, लक्ष्मी योङ्हाङ, जेपी नेम्बाङलगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा महासङ्घको केन्द्रीय कार्यसमिति र प्राज्ञिक परिषदका सबैजसो सदस्यहरुको उपस्थिति थियो ।

इतर आवाज साहित्य समाज आदिवासी सौन्दर्य र पहिचानको आवाज नारासहित दक्षिण कोरियामा कार्यरत नेपाली साहित्यकारहरुले सन् २०१६ मा स्थापना गरेको सँस्था हो । यसका संयोजक पराजित पोमु हुन् । सँस्थाले गतवर्ष आदिवासी जनजाति र सिमान्तकृत समुदायहरुका चार सयभन्दा बढी कविहरुलाई समेटेर कविताकृति ुइतर कविताु प्रकाशन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्